बढी भाडा लिने वायु सेवा प्रदायकलाई कारवाही गर्न माग «

बढी भाडा लिने वायु सेवा प्रदायकलाई कारवाही गर्न माग


कोरोना महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको भन्दै संसदीय समितिले चासो देखाएको छ ।
प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोरोना महामारीको बेलामा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा चासो राख्दै सरोकारवाला निकायसँग छलफल गरेको छ ।
सांसदहरुले वायु सेवा कम्पनीहरुले सेवा भाव नराखी महामारीको बेलामा उपभोक्तासँग बढी भाडा असुलेको बताएका छन् भने वायु सेवासँग सम्बन्धित सरोकारवाला अधिकारीहरुले भने बजारमा आएजस्तो बढी भाडा नलिएको र अनियमितता नभएको दावी गरेका छन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले वायुसेवा प्रदायकहरुलाई व्यापारिक रुपमा हस्तक्षेप गर्ने अधिकार प्राधिकरणको नभएको बताए । उनले कोरोना महामारीको समयमा वायु सेवाले बढी भाडा लिएको २४ वटा गुनासो आएको र त्यसउपर छानविन भइरहेको बताए ।
नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले निषेधाज्ञाको समयमा वायु सेवा निगमले बढी भाडा नलिएको बताए । उनले आफूहरुले मौकाको फाइदा उठाउने हिसाबले काम नगरेको भन्दै यसबारे निगमबारे कुनै पनि प्रकारको गुनासो नभए बताए ।
सांसद देवेन्द्र पौडेलले नेपाली नागरिकलाई आपत परेको बेलामा वायु सेवा प्रदायकहरुले मानविय भावनाले काम गर्न नसकेको बताए । वायुसेवा निगम घाटामा गए सरकारलाई भन्नुपर्ने र भाडाले संस्था धान्छु भनेर नहुने उनले बताए । आगामी दिनमा वायु सेवाहरुले कमजोरी सच्याउनुपर्ने उनको धारणा छ ।
सांसद सन्तकुमार चौधरीले वायुसेवा प्रदायक कम्पनीहरुले दलालमार्फत टिकट बिकाउन नहुने बताए । यसले भाडा बढी पर्न गएको हुनाले ट्राभल एजेन्सीलाई कमिशन दिएर टिकट विकाउने काम बन्द गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद प्रमोद साहले वायु सेवा कम्पनीले मनपरी भाडा लिने प्रवृत्तिविरुद्ध सांसद बोल्दा मुद्दा चलाइएको भन्दै सर्वसाधारणले झनै बोल्न नसक्ने बताए । महामारीको समयमा नाफामुलक हिसाबले काम गर्ने वायुसेवा कम्पनीहरुलाई सरकारले कारबाही गर्नुपर्ने उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले महामारीको समयमा हवाइ उडानमा हुने अनियमितता बारे जानकारी दिन मन्त्रालयले सूचना जारी गरेको जानकारी दिँदै दुई वटा ट्राभल एजेन्सीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताए । गुनासोहरुको अध्ययन गर्दै समस्या समाधान गर्न छानविन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने उनले बताए ।
उनले आगामी दिनमा हवाइ उडानलाई कसरी आम उपभोक्तामाझ सहज बनाउन सकिन्छ भन्ने सम्बन्धमा मन्त्रालयले ध्यान दिने आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्