Logo

मानवसेवा आश्रम भवन कामनपाले बनाउने

काठमाडौं-काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमका लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् । 
शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजना सार्वजनिक गर्न रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता जनाएका हुन् । 
नले भने, “आश्रमले जग्गा खोजोस्, महानगरपालिकाले भवन बनाउन सहयोग गर्छ । आश्रमलाई सबैले सहयोग गर्नुपर्छ । अहिले नेपाल प्रहरी पनि आश्रमलाई सहयोग गर्न हामीसँगै आबद्ध भएको छ । यो खुसीको कुरा हो । अन्य सहयोगी संघ, संस्था र मानव हृदय पनि यसमा आबद्ध हुनुपर्छ ।” आश्रमका प्रमुख संरक्षक एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले आश्रमको स्थलगत अवलोकनपश्चात आफू प्रभावित भएको प्रतिक्रिया दिए । 
उनले भने, “मैले त आश्रम नै अवलोकन गरेको छु । त्यहाँ पुगिसकेपछिको दृश्य देख्दा म धेरै प्रभावित भएँ । आश्रमका साना–साना भाइबहिनीले त्यहाँ भएका विरामीहरू स्याहारेको देख्दा त म झनै प्रभावित भएँ । त्यति हाम्रो घर परिवारका सदस्यले पनि आफ्नै मान्छे बिरामी हुँदा स्याहारसुसार गर्दैनन् होला ।”
राज्यले गर्नुपर्ने दायित्व आश्रमले गरिरहेको आफूले पाएको पनि उनले सुनाए । उनले भने, “वास्तवमा ति भाइबहिनीको सेवा लोभलाग्दो थियो । उहाँहरूले पैसाका लागि काम गरेको होइन, मानवसेवाका लागि गर्नुभएको हो । काम गर्दा उहाँहरूलाई मिठो निन्द्रा लाग्ला, अरु मैले व्यक्तिगत स्वार्थ देखिन ।” 
आफूले स्थलगत अवलोकन गरेपछि आश्रमलाई कुनै न कुनै प्रकारले सहयोग गर्नुपर्छ भन्ने लागेर नै अहिले काठमाडौंको सामाखुसी र बुढानिलकण्ठमा सञ्चालनरत दुवै आश्रमको घरभाडा महानगरले तिर्दै आएको पनि शाक्यले जानकारी दिए । मानव आश्रमको कामलाई प्रोत्साहन गर्नका लागि महानगरपालिकाले भरपुर सहयोग गर्ने पनि उनले वचनबद्धता जनाए । 
कार्यक्रममा आश्रमका अभिभावक एवं मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायले सडकमा भएका मनोरोगीले समयमै उपचार र प्रेम पाउने हो भने उनीहरूको अवस्थामा व्यापक सुधार आउने विश्वास दिलाए । उनले हरेक मान्छेमा सहयोगी र सहृृदयको भावना विकास गर्नुपर्नेमा पनि जोड दिए । 
आश्रमका प्रमुख संरक्षक डा. टण्डनले संस्था स्थापना भएको ६ वर्षमा देशका विभिन्न जिल्लामा १४ वटा मानव आश्रम सञ्चालन गरिरहेको जानकारी दिए ।  

 

प्रतिक्रिया दिनुहोस्