माओवादी छाडेका चार नेताको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन «

माओवादी छाडेका चार नेताको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
आफूहरू माओवादी केन्द्रमै रहेको भन्दै सर्वोच्च पुगेका प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्टको पक्षमा उक्त आदेश जारी नहुने आदेश अदालतले जारी गरेको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । यसअघि एकपटक तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो । अर्को पेसी निवेदककै तर्फबाट स्थगित भएको थियो ।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट उनीहरुलाई हटाएको थियो । सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिई सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्