बर्षौपछि पर्यटकीय गुफा बजार झलमल «

बर्षौपछि पर्यटकीय गुफा बजार झलमल

तेह्रथुम-बर्षौपछि केन्द्रीय विद्युत् प्रसारण जडानसँगै तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्र गुफा बजार झममल्ल भएको छ ।
केन्द्रीय प्रसारण लाइन जडान नहुँदा स्थानीयस्तरमा प्याल्ट्रिक सेटबाट उत्पादित बिजुलीको प्रयोग गर्दै आएको केन्द्रीय विद्युत विस्तार उपभोक्ता समिति गुफाका सचिव सन्तोष लिम्बुले बताए । तीनजुरे, मिल्के, जलजले क्षेत्रमा अवस्थित गुफा बजारमा विद्युत् लाइन विस्तारसँगै यहाँका स्थानीय हर्षित छन् । स्थानीयस्तरमा रहेको प्याल्ट्रिक सेटबाट उत्पादित बिजुलीको भर पर्दै आएका यहाँका स्थानीय केन्द्रीय प्रसारणलाइन जोडेपछि हर्षित बनेका हुन् । संखुवासभाको चैनपुर, नुनढाकी हुँदै सुकेबजार, गुफाबजार र जोरपोखरी बजारमा केन्द्रीय विद्युत् प्रसारणलाइन जडान गरिएको समितिका सचिव लिम्बुले बताए ।
उनका अनसुार नेपाल विद्युत् प्राधिकरण चैनपुरका प्राविधिकको सहयोगमा उक्त विद्युत् लाइन स्थानीय बजारमा जडान गरिएको हो । गुराँसको राजधानीको रूपमा रहेको पर्यटकीय गन्तब्य टिएमजे क्षेत्रको सुकेबजार, गुफाबजार र जोरपोखरीमा हालसम्म पनि विद्युत्को केन्द्रीय प्रसारणलाइन विस्तार हुन सकेको थिएन । विद्युत् विस्तारका लागि सामान ढुवानी तथा प्राविधिक खर्चका लागि यहाँका स्थानीयले प्रतिघर ३० हजार रकमसमेत संकलन गरेका थिए । यस क्षेत्रका ४० घरधुरीमा बिजुली बलेको छ ।
घरमा बिजुली आएपछि बत्ती बाल्न, खाना पकाउन, पानी तताउनुका साथै विभिन्न उपकरण चलाउनसमेत सहज भएको स्थानीयबासीले बताएका छन् । सडक बत्तीको पनि व्यवस्था भएपछि आँगन, बाटो झलमल्ल हुनुका साथै अँध्यारोमा हुने घटनामा पनि कमी आउने बजारवासीको भनाइ छ । विद्युत् जडानसँगै चौबीसै घण्टा बिजुली बाल्न पाएकोमा अत्यन्तै खुसी लागेको जोरपोखरी बजारलगायतका स्थानीयबासीको भनाइ छ । बजारवासीले बिजुली आएपछि रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न पाइने भएकोमा खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्