दार्चुला घटनाको सत्यतथ्य छानबिन हुन्छ : गृहमन्त्री खाँण «

दार्चुला घटनाको सत्यतथ्य छानबिन हुन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्नेे बताएका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा उनले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिका पदाधिकारी घटनास्थलतर्फ प्रस्थान गरिसकेको जानकारी दिए ।
दार्चुलामा भएको घटना गम्भीर, दुखद् र सम्वेदनशील रहेको बताउँदै गृहमन्त्री खाणले भने, ‘जयसिंहसँगै यात्रामा रहेका अन्यसँग सोधपुछ्को कार्य भइरहेको, नदीमा खसेका र नभेटिएका हुनाले नेपाल–भारत दुवैका सुरक्षाकर्मीबाट खोजतलास भइरहेको छ ।’
उनले दार्चुला घटनाका सम्बन्धमा व्यक्त विचार, सूचना र धारणालाई गम्भीरतापूर्वक लिने र घटनाको सत्यतथ्य आएपछि सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए । नेपालका केही नदीमा वारपार तर्नका लागि अहिले पनि तुइनको प्रयोग भइरहेको जानकारी दिँदै गृहमन्त्री खाणले महाकालीमा चार वटा तुइन विस्थापित गरी झोलुङ्गेले पुल निर्माण कार्य अघि बढिरहेको बताए ।
स्थानीय व्यास गाउँपालिकाबाट खलङ्गा जाने क्रममा यात्रालाई छोटो बनाउन धामीले तुइनको प्रयोग गरेको बताइएको छ । धामी महाकाली नदीमा खसेको सूचनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीबाट वास्तविक छानबिनका लागि स्थलगत अनुसन्धान गरेको थियो । महाकाली नदीमा खसेर हराइरहेका धामीको खोजीका लागि त्यस क्षेत्रका नौ र पाँच वटा प्रहरी वेशलाई परिचालन गरिएको जानकारी दिइएको छ ।
बैठकमा नेकपा एमालेकी सांसद कोमल ओलीले दार्चुलामा भएको घटनाको भत्र्सना गर्दै सत्यतथ्य छानबिनका लागि माग गरिन् । सांसद् चक्रप्रसाद घिमिरेले दार्चुला घटनामा भारतसँग वार्ता गर्न ढिलाइ गर्न नहुने औँल्याए ।
सांसद् विमला राई पौडेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एक वर्षमा ३०० पुल बनेको भए पनि भारत सरकारको अनुमति नहुँदा महाकालीमा तुइन बिस्थापित नभएको धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्