२ वर्षभित्र सक्ने गरी पुनर्निर्माण योजना बनाइने «

२ वर्षभित्र सक्ने गरी पुनर्निर्माण योजना बनाइने

दुई वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले योजना अघि बढाएको छ । प्राधिकरणको बाँकी रहेको दुई वर्षको समयावधिलाई लक्षित गर्दै प्राधिकरणले निजी आवास निर्माणका साथै अन्य भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको योजना निर्माणअघि बढाएको हो ।
विश्व पानी साझेदारी नेपाल (जीडब्लूपी र जलस्रोत विकास संस्था (जेभीएस) ले २०७२ को भूकम्प र पुनर्निर्माणबारेको बहसमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पञ्चवर्षीय विपद्पछिको पुनर्निर्माण प्रतिवेदन (पीडीआरएफ) को मध्यावधी समीक्षा गरेर दुई वर्षभित्र पुनर्निर्माणको कार्य सम्पन्न गर्ने गरी योजना निर्माण गरिरहेको जानकारी दिए । “प्राधिकरणको बाँकी अवधिभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी योजना बनिरहेको छ, निजी आवास पुनर्निर्माणको काम दुई वर्षभित्र सक्छौं,” उनले भने, “निजी आवासतर्फ ४५ प्रतिशत सम्पन्न र ३२ प्रतिशत निर्माणाधीन अवस्थामा छन्, आगामी दुई वर्षभित्र सबै सम्पन्न गर्छौं ।”भूकम्पबाट ७ खर्ब बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदन निकालेको सरकारले पुनर्निर्माणका लागि पीडीआरएफमा ९ खर्ब ३८ अर्ब लाग्ने उल्लेख गरेको थियो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने लागतको समेत पुनः समीक्षा गर्दा ६ सय ५० देखि ७ खर्बमै पुनर्निर्माणको काम सम्पन्न हुने देखिएको जानकारी दिए । उनका अनुसार, भूकम्पपछिको पुनर्निर्माणका लागि गरिएको दाता सम्मेलनमा ४ खर्ब १० अर्बको प्रतिबद्धता आएकामा हालसम्म २ खर्ब ६२ अर्बको सम्झौता भएको छ भने हालसम्म पुनर्निर्माणका लागि १ खर्ब ४९ अर्ब रुपैयाँ खर्च भएको छ । बहसमा ज्ञवालीले पुनर्निर्माणको काम स्थानीय तहलाई हस्तान्तरण गरिएको जानकारी दिँदै संविधानबमोजिम गठन हुन लागेको राष्ट्रिय विपद् जोखिम व्यवस्थापनसँग समन्वय गरेर भूकम्पपछिको पुनर्निर्माणको काम गरिने बताए । “भूकम्पपछिको पुनर्निर्माणबारेको ज्ञान, अनुभव र प्रविधिलाई भविष्यमा समेत उपयोगी होस् भन्नका लागि स्थानीय तह र विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै जाने योजना बनाएका छौं,” उनले भने, “हामीले पुनर्निर्माणको दिगोपनमा जोड दिएका छौं ।”
बक्समा‘पानीको चिन्ता’बहसमा सहभागी विज्ञले भूकम्पपछि केही स्थानमा पानीको मुहान फुटेको र केही ठाउँमा सुकेको बताउँदै पानीको संरक्षणमा प्राधिकरणले ध्यान दिनुपर्ने बताएका थिए । केही ठाउँमा पानीको मूल फुटे पनि पछि सुकेको बताउँदै पानी विनाको समुदायको कल्पना गर्न नसक्ने बताउँदै उनीहरूले यसलाई गम्भीर रूपमा लिएर कार्यक्रम अघि बढाउन आग्रह गरेका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने भूकम्पबाट क्षतिग्रस्त पानीको संरक्षणका लागि कार्यक्रम अघि बढाउने बताए । “भूकम्पबाट क्षतिग्रस्त पानीको व्यवस्थापनमा केही काम भएका छन्, अब यसलाई अघि बढाउन लागेका छौं,” उनले भने । 

प्रतिक्रिया दिनुहोस्