मुआब्जा माग्दैदाहाल र निधिलाई ज्ञापनपत्र अनुपमा खनाल «

मुआब्जा माग्दैदाहाल र निधिलाई ज्ञापनपत्र अनुपमा खनाल

गोरखा-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबानमा पर्ने क्षेत्रको मुआब्जा निर्धारणको प्रक्रियामा आरुघाटका स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् ।
आरुघाट आयोजनाको प्रभावित क्षेत्रमा परे पनि सो क्षेत्रको मुआब्जा निर्धारणमा सरकार गम्भीर नभएको उनीहरूको गुनासो छ । उनीहरूले दोस्रो आरुघाट महोत्सव उद्घाटन कार्यक्रममा पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाएका छन् । मुआब्जा निर्धारण गर्न बाँकी गोरखा आरुघाटको जग्गाको प्रकृतिका आधारमा प्रतिआना २५ लाखसम्म मुआब्जा पाउनुपर्ने माग राख्दै बूढीगण्डकी सरोकार समितिले प्रचण्ड र निधिलाई ज्ञापनपत्र बुझाएका हुन् । मुख्य सडक र बजार, बस्ती भएको क्षेत्रमा प्रतिआना २५ लाख, चापापानीको मुख्य सडक भएको क्षेत्रमा प्रतिआना २० लाख, शाखा सडक भएको क्षेत्रमा प्रतिआना १५ लाखका दरले मुआब्जा निर्धारण हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
मध्यपहाडी लोकमार्गको केन्द्र, पृथ्वी राजमार्गको वैकल्पिक मार्ग र बेनिघाट–आरूघाट हुँदै चीनको तिब्बत छिचोल्ने सबैभन्दा छोटो मार्ग भएकाले आरूघाट ऐतिहासिक ठाउँ भएको हुँदा सो क्षेत्रको मुआब्जा निर्धारण गर्दा यी विषयलाई आधार बनाउनुपर्ने बूढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनालले बताए ।
अरू ठाउँको मुआब्जा निर्धारण भए पनि आरुघाट बजार क्षेत्रको मुआब्जा निर्धारणमा भएको ढिलाइले असजिलो भएको उनको भनाइ छ । फास्ट ट्रयाकबाट मुआब्जा निर्धारणको काम थाल्न माग गर्दै उहाँले पुख्र्यौली भूमि छाड्नु पर्दाको पीडा, तीव्र बजारीकरण तथा घडेरीयोग्य जग्गाको महत्व तथा ख्यातिलगायतलाई आधार मानेर मुआब्जा निर्धारण गर्नुपर्ने बताए । गोरखा र धादिङको साविकका ४० गाविसको व्यापारिक महत्वको केन्द्रका रूपमा आरुघाटलाई चिनिन्छ । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनका कारण गोरखा र धादिङका साविकका २७ गाविस प्रभावित हुन्छन् । अन्य ठाउँको मुआब्जा निर्धारण भएर वितरण भइसक्दा पनि गोरखाको आरूघाट र आर्खेत तथा धादिङको विशालनगर र खहरेको मुआब्जा निर्धारण हुन सकेको छैन ।
उद्योग वाणिज्य संघ आरूघाट बजार इकाइका अध्यक्ष विश्वकुमार श्रेष्ठले आरूघाट बजार बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने भएकाले यसको पुनःस्थापना हुँदा पनि नमुना स्मार्ट सिटीको रूपमा यसलाई विकास गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्