कोदारी राजमार्ग पुनर्निर्माण हुँदै

सरकारले बाढी पहिरो र भूकम्पको चपेटामा परेको कोदारी राजमार्गको पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । तातोपानीसँग सम्पर्क विच्छेद भएकाले सरकारले लार्चा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर राजमार्गको मर्मत सम्भार तथा पुनर्निर्माणको काम थालेको हो ।
सडक विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार आगामी सात दिनभित्र लार्चा पुल पुनर्निर्माण हुनेछ । सरकारले तत्कालका लागि बेलिब्रिज राखेर पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ । निरन्तरको वर्षासँगै आएको बाढीले भोटेकोशी गाउँपालिका–३ मा रहेको लार्चा पुल गत साउन ८ गते बगाएको थियो । करिब ७० मिटर लामो उक्त पक्की पुललाई ठूलाठूला ढुंगासहित खसेको पहिरोले पुलको बीचभाग भाँचिएपछि आवागमनमा समस्या भएको थियो ।
सडकमाथिबाट आएको पहिरोले पुलको बीचभागमा भाँचिएको थियो । तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगाएसँगै तातोपानीसँगको सडक सम्बन्ध टुटेको थियो । स्थानीय प्रशासनले फड्के र तुइनमार्फत आवतजावतको व्यवस्था मिलाए पनि स्थानीयवासीको दैनिक जीवन कष्टकर बनिरहेको छ ।
महानिर्देशक सिग्दलले कोदारी राजमार्ग पुनर्निर्माणमा चिनियाँ कम्पनीले चासो व्यक्त गर्दै विभागमा आशयपत्र पेश गरेको जानकारी दिए । विभाग आफैंले पुल निर्माण गरेर सडक सञ्चालनमा ल्याउने तयारी गरेको उनको भनाइ छ । उक्त राजमार्ग ‘डेडिकेटेड डबल लेन’ बनाउने योजना छ ।
२०७१ सालको जुरे पहिरो, २०७२ सालको ‘गोरखा भूकम्प’, २०७३ सालको भोटेकोशीको बाढी र २०७४ सालको पहिरोका कारण कोदारी राजमार्गका ६० भन्दा बढी स्थानको सडक क्षतिग्रस्त भएको छ । तातोपानी क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ ।
गोरखा भूकम्पलगत्तै चिनियाँ सहयोगमा राजमार्ग मर्मत गरिए पनि त्यसपछिका वर्षामा आएको पहिरोका कारण राजमार्ग खण्डहर जस्तै बनेको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । सडक विभाग र गाउँपालिकाको पहलमा राजमार्ग मर्मत सम्भारको तयारी गरिएको छ । लार्चामा बेलिब्रिज जडान भएपछि अरू काम अगाडि बढ्ने उनको भनाइ छ ।
स्थानीयवासी साङदोर्जे शेर्पाले फुल्पिङकट्टी र तातोपानी जोड्ने लार्चा पुल बगाएका कारण उत्तरी सिन्धुपाल्चोकवासी समस्यामा परेका र सम्बद्ध पक्षले पुनर्निर्माणमा ध्यान नदिएको गुनासो गरे । भोटेकोशी गाउँपालिका–४ का आङछिरिङ शेर्पाले तत्काल राजमार्ग पुनर्निर्माणमा पहल गर्नुपर्नेमा जोड दिँदै भने, “सधैं बन्ने क्रममा छ, तयारीमा छाँं भन्ने कुराले अर्थ राख्दैन । हामी तत्काल राजमार्ग पुनर्निर्माण होस् भन्ने चाहन्छौं ।”
२०३८ मा पनि बाढीले तातोपानीस्थित मितेरी पुल बगाएको थियो । चिनियाँ सरकारको सहयोगमा करिब दुई वर्षपछि सो पुल पुनर्निर्माण भएको थियो । राजनीतिक खिचातानीका कारण पुल निर्माणमा ध्यान नदिएको भन्दै स्थानीय सरोकार भएका व्यक्तिले आपत्ति प्रकट गर्दै आएका छन् ।
भूकम्पले क्षतिग्रस्त उक्त राजमार्ग पुनःनिर्माणमा सोचेजति प्रगति नभएको र सरकारी निकायले चासो नदिएको भन्दै नेपाल हिमालय सीमापार वाणिज्य संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष विष्णु खत्रीले व्यवसायीले करोडौं लगानी गरेको ट्रक तथा कन्टेनर पनि राजमार्गमा फसेको र व्यवसाय दुरुहपूर्ण अवस्थामा पुगेको बताए ।
स्थलमार्गबाट आयात हुने चिनियाँ सामान आयात गर्न समुद्रीमार्ग प्रयोग गर्दा लागत र समय बढेको उनको भनाइ छ । गोरखा भूकम्पले क्षति पु¥याएको चीनतर्फको सडक पुनर्निर्माण थालिएको भए पनि नेपालतर्फ सुस्त गतिमा काम भइरहेको गुनासो गर्छन्, नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटा । “राजमार्ग पुनर्निर्माण हुन्छ र तातोपानी नाका खुल्छ भन्ने सुन्दै आएको करिब तीन वर्ष हुन लाग्यो, बल्ल काम हुन्छ भन्ने खबर आएको छ । काम शुरु नभई खुशी भइहाल्ने अवस्था छैन,” उनले भने ।
तातोपानी नाकामा नेपालतर्फ भन्सार, अध्यागमन, सीमा सुरक्षालगायत सबै सरकारी निकाय र कार्यालय राखिए पनि चीनतर्फ कुनै सरकारी अधिकारीको उपस्थिति छैन । सीमित सुरक्षाकर्मीले सीमाको सुरक्षा गरिरहेका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ राजमार्ग विस्तार र सरकारी संयन्त्रको पुनस्र्थापनाका लागि पहल भइरहेको बताउँछन् । छिट्टै तातोपानी नाका खुल्नेमा आशावादी देखिएका तामाङ र उनका चिनियाँ समकक्षीबीच गत पुस ८ गते तिब्बतको ल्हासामा द्विपक्षीय भेटवार्ता तथा छलफलसमेत भएको थियो ।
सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद अग्निप्रसाद सापकोटा कोदारी राजमार्गको मर्मत सम्भारको काम शुरु भइसकेको बताउँछन् । तातोपानी नाका खुलाउने पहल भइरहेको जानकारी दिँदै उनले भने, “उच्च कूटनीतिक पहल भइरहेको छ, आशा गरौं निकट भविष्यमा नै नाका खुल्छ । त्यसभन्दा पहिले हामीले राजमार्गलाई व्यवस्थित बनाउनतर्फ लाग्नुपर्छ ।” तातोपानी नाका सामान्य नाका नभई रणनीतिक महत्वको नाका भएकाले चीनले उठाएका केही विशिष्ट मागलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
रमेश लम्साल