Logo

पूर्ण खोपपछि मात्र सम्भव छ पर्यटन पुनरुत्थान

कोभिड–१९का थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फिर्ता हुने कुनै टुंगो छैन । तर, सरकारले जति छिटो शतप्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सक्छ, त्यति नै छिटो पर्यटन पुनरुत्थान हुने व्यवसायीको आँकलन छ ।
कोभिड–१९ विरुद्धको खोप प्राप्त भएपछि मात्र नेपालमा पर्यटक आगमन बढ्ने उनीहरुको भनाइ छ । सन् २०१९को अन्त्यबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलिएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्यमा पर्यटक आगमन ठप्पप्रायः छ । पूर्ण मात्रामा खोपको लगाएको सुनिश्चित गरेर नेपाल र पर्यटकीय क्षेत्र सुरक्षित भएको सकारात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा पर्यटक आगमन नेपालमा बढाउन सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।
पहिलो खोपको मात्रा बढाउनुर्पे र प्रचार बढाउनुपर्ने नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । “दोश्रो खोप पूरा गरेकालाई क्वारेन्टाइन नबसी सिधै गन्तव्यमा जाने वातावरण बनाउन सकेको खण्डमा मात्र नेपालमा पर्यटक आगमन बढेर जान्छ । पछिल्लो समय चितवन र पोखरामा पनि खोप लगाउने गृहकार्य भइरहेको छ र खोपको मात्रा पर्यटन क्षेत्रमा बढेसँगै पर्यटक आगमनका लागि सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक छ,” जोशी भन्छन् । पर्यटन क्षेत्रका गन्तव्यमा कोभिड–१९ विरुद्धको खोप पूरा गर्न सकेको खण्डमा मात्र पनि आगामी सिजनको लागि ४० प्रतिशतसम्म पर्यटक ल्याउन सकिने विश्वास जोशीको छ ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लेकोभिडले नेपालको पर्यटनमा असर गरेको उल्लेख गर्दै हालै सार्वजनिक गरेको प्रतिवेदनमा यसको कारण २ लाख ३० हजारको रोजगारी जोखिममा परेको, २० हजार टुर र ट्रेकिङ गाइडहरु बेरोजगार भएको र २ हजार ६ सय ट्रेकिङ एजेन्सीमा असर पर्दा करिब ५३ करोड अर्थात् ४६० मिलियन डलर बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गुमाएको उल्लेख गरेको छ ।
पर्यटन व्यवसायीहरुले पनि कोभिड–१९ को खोप लगाएपछि मात्र व्यवसाय खोल्ने भन्दै बन्द गरेका थिए । तर पछिल्लो समय स्थानीय प्रशासनको सक्रियतामा खोपको आश्वासन दिएपछि केही पर्यटन व्यवसाय खोलेको होटल संघ पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचनले बताए । उनले भने, “पोखरामा १० देखि १५ प्रतिशतमात्र पर्यटन व्यवसाय खुल्ला छ । पर्यटन क्षेत्रसँग संलग्नहरुलाई लक्षित गरेर खोपको सुनिश्चितता गरेको खण्डमा मात्र पर्यटक आगमनमा सुधार हुने छ ।”
यता अर्को पर्यटकीय गन्तव्य सौराहमा भने सोमबार सबै पर्यटक क्षेत्रमा संलग्न व्यवसायीहरुले खोप लगाएको होटल संघ सौराह च्याप्टरका अध्यक्ष दीपक भट्टराईले बताए । उनले भने, “हामीले यो क्षेत्रमा स्थानीय तहको समन्वयमा खोप लगाएको छौं, यसरी पर्यटन बजारमा खोपको मात्रा पूरा गरेको सन्देश प्रवाह गर्न सकेको खण्डमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि हुने छ ।”
अध्यागन विभागका अनुसार आर्थिक वर्ष २०७७-७८ मा ६८ हजार १ सय ८१ पर्यटक नेपाल भित्रिएका छन् । सरकारले नेपालमा भित्रिने विदेशी नागरिकलाई पर्यटक मान्दै आएको छ । तर गत वर्ष र अघिल्लो वर्ष नेपालमा भित्रिएका नागरिलाई सरकारले पर्यटक मानेको भएपनि ती नागरिकहरु नेपालस्थित विदेशी नियोग तथा दूतावासमा काम गर्ने कर्मचारी तथा नेपाली मूलका विदेशी नागरिक बढी रहेको बताइन्छ ।
अघिल्लो वर्ष भारतसहित विभिन्न देशबाट करिब २ लाख ३० हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार २० लाख २ सय ११ ले सोमबार सम्म पूर्ण खोप लागाएका छन् भने आंशिक खोप लगाउने नेपालीको संख्या ४१ लाख ६३ हजार २ सय ५१ छ ।

प्रतिक्रिया दिनुहोस्