एप्पलले चीनमा आईफोनको मूल्य ह्वात्तै घटायो «

एप्पलले चीनमा आईफोनको मूल्य ह्वात्तै घटायो

बेइजिङ-एप्पलले चीनमा आफ्नो च्यानल साझेदारीका लागि केही आईफोनको मूल्य ८०० युआन अर्थात ११८ डलरसम्मले घटाएको छ । यो मुलुकमा देखिएको कमजोर प्रदर्शनका कारण अमेरिकी प्रविधि कम्पनीले आफ्नो आम्दानी प्रक्षेपण घटाएपछिको अवस्थामा मूल्य कटौती गरिएको हो ।
चीनमा प्रमुख ई–कमर्श प्लेटफर्म जेडीले एप्पलबाट आईफोन–८ र आईफोन–८ प्लसको मूल्य ३ हजार ९९९ युआन र ४ हजार ७९९ युआनमा झारिने सूचना पाएको जनाएको छ । यो अघिल्लो मूल्यको तुलनामा ६०० र ८०० युआनले कम हो ।
यो मूल्य कटौती शुक्रबारबाटनै लागु भएको छ र यसलाई छोटो अवधिको प्रबद्र्धनको रुपमा हेर्न नहुने जेडीले जनाएको छ ।
देशको अर्को अनलाईन प्लेटफर्म सुनिङले पनि आईफोन एक्ससआर र आईफोन एक्सको मूल्यमा ठूलो अन्तरले कटौती गरेको जनाएको छ । १२८ गिगाबाइटको भर्सनको आईफोन एक्सआर हाल ५ हजार ७९९ युआनमा बिक्री भइरहेको छ । यो एप्पलको आधिकारिक अनलाईन स्टोरको मूल्यको तुलनामा १ हजार २०० युआनले कम हो ।
एप्पलले डिसेम्बर २९ मा अन्त्य हुने त्रैमासमा आफ्नो आम्दानी निर्देशिका ८४ अर्ब डलरमा झारेपछिको समयमा यो कदम आएको हो । यो आम्दानी ८९ अर्ब र ९३ अर्ब डलरको सुरुको अनुमानको तुलनामा कम हो । एप्पलको आम्दानी प्रक्षेपण कटौती भएको यो झन्डै २ दसकको अवधिमा पहिलो पटक हो ।
एप्पलका सीईओ टिम कुकले विभिन्न तत्वलाई यसको कारण मानेका छन् । यसमा चिनियाँ मागमा देखा परेको सुस्तता र आईफोनको बिक्री अपेक्षा गरिए भन्दा कम हुनु प्रमुख कारण रहेका छन् । तर यसको वास्तविक कारणमा स्थानिय प्रतिद्वन्द्वी हुवावेबाट आएको चर्को प्रतिस्पर्धानै भएको विश्लेषकहरुले बताएका छन् ।
प्रविधि परामर्शदाता क्यानालिसका अनुसन्धान विश्लेषक जिया मोले एप्पलका नयाँ ह्यान्डसेटको उच्च मूल्यले गर्दा ठूलो बजार स्थानिय स्मार्टफोन निर्मातातर्फ जाने जोखिम बढेको बताए । एप्पल चीनमा विलाशी ब्रान्ड मात्रै बनेको उनले बताए ।
“चीनमा सर्वाधिक महँगा आईफोनका मोडलको बिक्री मात्रै उत्तम छ । कम महँगा मोडल तथा पुराना मोडलले आफ्नो बजार स्थानिय ब्रानडका गुणस्तरिय स्मार्टफोनलाई गुमाउदैछन,” जियाले थपे ।
विश्वव्यापी स्मार्टफोन बजार खुम्चिदै छ । गत वर्षको तेस्रो त्रैमासिक अवधीमा विश्वव्यापी स्मार्टफोनको ढुवानी ६ प्रतिशतले ओरालो लागेको थियो । यो सहित स्मार्टफोनको ढुवानी ओरालो लागेको यो लगातार चौथो त्रैमास भएको आईडीसीको तथ्यांकले देखाएको छ ।

 चाइना डेली

प्रतिक्रिया दिनुहोस्