नेप्से बढाउन अनशन ? «

नेप्से बढाउन अनशन ?

सेयर बजार पनि अर्थतन्त्रको एउटा पाटो हो, जसमा लाखौं लगानीकर्ताको खर्बौं लगानी रहेको हुन्छ ।

समग्र सेयर बजारको सुधार र विस्तारका लागि भनेर सेयर लगानीकर्ता दबाब समूहले गरेको अनशन र आमरण अनशनलाई केहीले नेप्से बढाउनका लागि अनशनको नाटक गरेको भनेर सम्म आरोप लगाए । त्यसो त सेयर बजारमा भारी गिरावट आउँदा मात्र लगानीकर्ताका नेताहरूको गतिविधि बढ्ने, आन्दोलन हुने गरेकाले पनि यस्तो भन्ने गरेको हुन सक्छ । लगानीकर्ताहरूले आन्दोलन गर्दैमा, अनशन बस्दैमा नेप्से बढ्ने होइन । नेप्से बढ्न, सेयर बजारले गति लिन समग्र सेयर बजारको सुधार र विस्तारका लागि नियामक निकायहरूले सेयर बजारमा देखिएका समस्याहरूको समाधान गर्न, नियामक निकायहरूले बनाउनुपर्ने नीति–नियमहरू बनाउनका लागि लगानीकर्ताहरूले अघि सारेका मागहरू, सुझावहरू सम्बोधन गर्नुपर्ने हुन्छ ।
सेयर लगानीकर्ताहरूको दबाब समूहले पनि लगानीकर्ताहरूको माग भनेर १४ बुँदे माग राखेर सेयर बजारको सुधार र विस्तारको पहल गर्न नियामक निकायहरूलाई घचघचाउनका लागि अनशन बसेको बुझ्नुपर्ने देखिन्छ । त्यसो त यसमा राजनीति पनि घुसेको हुन सक्छ । आमरण अनशन बसिरहेकाहरूले नाटकीय रूपमा अनशन तोडेकोमा यसमा कतै राजनीति त घुसेको छैन भन्नेहरू पनि नभएका होइनन् ।
सेयर बजारको सुधार र विस्तारका लागि भनेर अनशन बसिरहेका लगानीकर्ताहरूको दबाब समूहको एउटा माग अर्थमन्त्री डा. खतिवडाको राजीनामाको माग पनि थियो । त्यसो त गत वर्षदेखि नै सेयर बजार डामाडोल भएको देखिन्छ । डा. खतिवडा अर्थमन्त्री भएपछि डा. खतिवडाको सेयर बजारप्रतिको भनाइले गर्दा सेयर बजार झन् तरंगित हुने गरेको थियो । यस कारणले पनि पछिल्लो समयमा सेयर बजारमा अर्थमन्त्री डा. खतिवडा सेयर बजारप्रति नकारात्मक भएको भनेर चर्चा चल्ने गरेको छ ।
अहिले वामपन्थीहरूको दुईतिहाइको एकमना सरकार छ । त्यस्तै कतिपय सरोकारवालाहरू वामपन्थीको सरकार भएका बेला सेयर बजार ओरालो लाग्ने गरेको पनि बताउँछन् । गएको निर्वाचनमा वाम गठबन्धन गरेपछि ओरालो लागेको सेयर बजारले अहिलेसम्म पनि गति लिन सकिरहेको छैन भनेर पनि भन्ने गरेका छन् । त्यसबेला पनि वाम गठबन्धनलाई सेयर बजारले पत्याएन भनेर चर्चा नचलेको होइन ।
नेकपाको एकमनाको स्थायी सरकार बनेपछि देशमा लगानीको वातावरण बन्छ र सेयर बजारमा सुधार हुने आशा गरेका थिए लगानीकर्ताहरूले, तर त्यसो भने हुन सकेन । नेकपाका तर्फबाट अर्थमन्त्री बनेका डा. खतिवडाको सेयर बजारका बारेमा आउने भनाइले सेयर बजारलाई झनै आतंकित बनाएको चर्चा चल्ने गरेको छ । सरकारका अर्थमन्त्रीको सेयर बजारप्रतिको भनाइ, दृष्टिकोण र नियामक निकायहरूको नीति निर्देशनले पनि सेयर बजारमा असर पार्ने गरेको हुन्छ ।
विगतमा पनि नेकपा माओवादी नेतृत्वको सरकारको पालामा त्यस बेला अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवाको संज्ञा दिएपछि सेयर बजार लगभग ध्वस्तजस्तै हुन लागेको थियो । अहिलेको वामपन्थीहरूको सरकारमा अर्थमन्त्री बनेका डा. खतिवडाको सेयर बजारका बारेमा बेला–बेलामा आउने विवादास्पद भनाइले सेयर बजारलाई उकास्न नदिएको कतिपयको भनाइ छ । त्यसै त वामपन्थीको सरकार सेयर बजारका लागि अशुभ भनेर चर्चा भइरहने भन्ने गरिन्छ भने त्यसमा पनि सरकार खासगरी अर्थमन्त्री सेयर बजारप्रति सकारात्मक हुन नसक्दा र सरकार सेयर बजारमैत्री हुन नसक्दा लगानीकर्ताहरू झन् अलमलमा परेका छन् ।
त्यसो त सेयर बजारलाई कुनै न कुनै पक्षले सेयर बजारलाई तरंगित हुन्छन् । कुनै पनि क्षेत्रको विकास, विस्तार र सुधार हुन तथा सही दिशामा लान, राम्रो बनाउनका लागि सरकार, राज्य नियामक निकायहरूको नीति–नियम, निर्देशन, सोचविचार, भनाइहरू सकारात्मक हुनुपर्छ । सेयर बजार पनि अर्थतन्त्रको एउटा पाटो हो । सेयर बजारमा लाखौं लगानीकर्ताको खर्बौं लगानी रहेको छ । यसलाई सम्बन्धित सरोकारवाला नियामक निकायहरू अझ सरकार र देशका अर्थमन्त्रीले हल्का रूपमा लिन नहुने लगानीकर्ता, विज्ञ तथा विश्लेषकहरूको भनाइ छ ।
त्यसो त कतिपय लगानीकर्ता हल्लाको पछि दगुर्ने गर्छन् । सेयर बजारमा सेयर बजारका बारेमा नेप्से घटबढ हुनेबारेमा हल्ला गर्नेहरू तथा भविष्यवाणी गर्ने ज्योतिषीहरूको कमी छैन । कोही नेप्से ९ सय अंकमा तल झर्छ भनेर भविष्यवाणी गर्छन् त कोही नेप्से एक वर्षमा २५ सय अंक पुग्छ भनेर भविष्यबाणी गर्छिन् । यस्तो हल्ला गर्नेमा सामान्य लगानीकतादेखि लगानीकर्ताहरूको संघ भनिनेको अध्यक्षसमेत हुने गरेका छन् । सेयर बजारका बारेमा, नेप्सेका बारेमा हल्ला गर्ने, लगानीकर्ताहरूलाई भ्रममा पार्ने यस्ता ज्योतिषीहरूलाई नियामक निकायहरूले कारबाही गर्नुपर्ने देखिन्छ । यस्तो हल्लाको पछि लागेर कतिपय लगानीकर्ताले आफ्नो नोक्सानी गर्ने गरेका छन् । त्यसो त सेयर बजारका लगानीकर्ताहरूको हक, हित र अधिकारका लागि काम गर्ने भनेर केही लगानीकर्ताका विभिन्न नामका संघहरू पनि नभएको होइन । तर, यस्ता संघहरू आमलगानीकर्ताहरूको हक, हित र अधिकारका लागि काम गर्नुभन्दा पनि आ–आफ्नो स्वार्थसिद्ध गर्न पट्टि मात्र लाग्ने गर्छन् भनेर पनि चर्चाहरू चल्ने गरेको छ ।

त्यसो त लगानीकर्ताहरू स्वयं सेयर बजारप्रति जानकार हुनुपर्छ, सचेत र चनाखो हुनुपर्छ । सेयर बजारसम्बन्धी समग्र जानकारी लिएर मात्र सेयर बजारमा प्रवेश गर्नुपर्छ ।

हल्लाको भरमा अरूको देखासिकी गरेर हल्लाको पछि लाग्न नहुने बताउँछन् जाने–बुझेकाहरू । त्यसो त सेयर बजारका आमलगानीकर्ताको लगानीलाई सुरक्षित र सुनिश्चित गरेर लगानीकर्ताहरूको आत्मबल र विश्वासलाई कायम बनाइराख्नका लागि नीति–नियम बनाउने काम भनेको नियामक निकायहरू र राज्यको, सरकारको र सेयर बजार अर्थतन्त्रसँग सम्बन्धित भएका कारण अर्थमन्त्रीको बढी दायित्व हुन आउँछ । सेयर बजारका नियामक निकायहरू राज्य, सरकार, अर्थमन्त्री सेयर बजारप्रति जिम्मेवार हुन नसकिरहेकाले लगानीकर्ताहरू आमरण अनशन बस्न बाध्य भएका थिए । त्यसो त लगानीकर्ताहरूको धेरैजसो माग राज्यले सम्बोधन पनि गरिसकेको अवस्था छ भने अब सेयर बजारले गति लिने आशा गर्न सकिने भएको छ ।
पछिल्लो समयमा केही कम्पनीले लगानीकर्ताहरूलाई झुक्याउने गर्ने गरिरहेको पनि देखिन्छ । कतिपय कम्पनीले आफैले लगानीकर्ताहरूलाई दिने भनेर घोषणासमेत गरिरसकेको लाभांश पछि घटाउने गरिरहेका छन् । तर, लगानीकर्ताहरूको हक, हित र अधिकारका लागि भनेर स्थापना भएका लगानीकर्ताहरूका संघहरू लगानीकर्ताहरूलाई समस्या पर्दा, लगानीकर्ताहरू ठगिँदा, लगानीकर्ताहरूलाई झुक्याउँदा पनि बोल्दैनन् । त्यसो त कम्पनीहरूले गर्ने वार्षिक साधारण सभाहरूमा सेयर धनीहरूका तर्फबाट बोल्ने गरेका भनेर भन्ने साधारणसभाका नेता, वक्ता, सेयरधनीहरूले पनि आमसेयरधनीका समस्यालाई सम्बोधन गर्दैनन् । केही वक्ता सेयरधनीहरूले त कम्पनीको भनाइलाई नै आफ्नो भनाइका रूपमा राख्ने गरेको चर्चा पनि चल्ने गरेका छन् । त्यसो त केही कम्पनीले साधारणसभामा बोल्ने केही वक्ता सेयरधनीहरूलाई साधारणसभामा बोलेबापत पारवहन खर्च भनेर केही रकम दिने गरेको पनि बताउँछन् सरोकारवालाहरू । सायद यही कारणले पनि होला, वृद्धभत्तासमेत पाइसकेकाहरू पनि साधारणसभामा बोल्नका लागि मात्र भए पनि आउने गरेका छन् र आफ्नो बोल्ने पालो सकिएपछि सरासर हिँड्ने गरेका । सेयर बजारमा १५ लाखभन्दा बढी लगानीकर्ताको खर्बौं रुपैया लगानी छ र सेयर बजार अर्थतन्त्रको एउटा पाटो पनि भएका कारण सेयरबजारप्रति सरकार, राज्य, नियामक निकायहरू तथा आमलगानीकर्ताहरू पनि गम्भीर हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्