Logo

नदीजन्य पदार्थ दोहनमा प्रयोग भएका साधन कारबाही


जिल्लाको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालिगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केही व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका थिए ।
नदी किनारमा अवैध तवरले बालुवा उत्खनन् भएको गुनासो आएपछि जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले अनुगमन गरी अवैध नदी दोहनमा प्रयोग भएको एक्जाभेटर, टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनको चाबी जिल्ला समन्वय समितिमा बुझाएपछि बिहीबार जिससमा बसेको नदीजन्य तथा खानीजन्य जिल्ला अनुगमन समितिको बैठकले अवैध नदी दोहनमा परिचालन भएको मेसिन उपकरण र सवारी साधनलाई जरिवानासहितको कारबाहीका लागि बेनी नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले अवैध नदी दोहन गर्ने डोजर र स्काभेटरलाई २५ हजार, टिपरलाई १५ हजार र ट्याक्टरलाई ५ हजारका दरले जरिवाना गर्ने र यस्तो कार्यमा पुनः दोहोरिएमा जरिवानालाई दोब्बरका दरले बढाउँदै लैजाने निर्णयसमेत गरेको छ । समितिको कारबाही सिफारिस भएलगत्तै बेनी नगरपालिकाले योजना शाखा प्रमुख प्रकाश सुवेदीको नेतृत्वमा प्राविधिक, सुरक्षाकर्मी र जिससका प्रतिनिधि सम्मिलित बालुवा मूल्यांकन समिति गठन गरेको छ । गठित समितिको प्रतिवेदनका आधारमा अवैध तवरले संकलन गरिएको बालुवा जफत गरी प्रतिस्पर्धामार्फत लिलामी गर्ने प्रकृया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थलगत निरीक्षणको क्रममा ढोडेनीखोलामा नम्बर नभएकोे स्काभेटर एक, ध १ त ५८० नम्बरको ट्याक्टर र आनन्द बगरमा ग १ क ४४५६ र ग १ क ४४५१ नम्बरको दुई वटा स्काभेटर मेसिनको चाबी नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामकुमार राईका अनुसार, आनन्द बगरको बालुवा उत्खनन्मा प्रयोग भएका मेसिन उपकरणका चाबी स्थानीय लालबहादुर थापा र हर्कबहादुर खत्रीबाट लिइएको थियो ।
बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालिगण्डकी नदीका बगरबाट ढुंगा, गिटी, बालुवा उत्खनन् तथा संकलन बन्द गराएको छ । म्याग्दीसंँगै पर्वत र बागलुङको सिमानामा रहेको कालिगण्डकी नदीको अवैध बालुवा दोहन र चोरी निकासी रातको समयमा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्