मध्यपहाडी लोकमार्गको समस्या समाधान गर्न माग «

मध्यपहाडी लोकमार्गको समस्या समाधान गर्न माग


निरन्तरको वर्षाका कारण सडकमा जोखिम बढ्दै गएपछि कुश्मा नगरपालिकाको कार्यालयले जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिसमक्ष जोखिम हटाएर सहज यात्रा गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न भीरमा वर्षायाममा सडक अवरुद्ध हुने दीर्घकालीन समस्या छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जिल्ला सुरक्षा समितिका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीसमक्ष जोखिम हटाउनका लागि माग गरेका हुन् ।


यसअघि मध्यपहाडी लोकमार्गको कास्कीको नयाँ पुलको सिमानादेखि बागलुङ–पर्वतको सिमाना मालढुंगासम्म झन्डै १५ दिन सडक बन्द भएको थियो । झन्डै एक सय मिटर माथिबाट ढुंगा खसेर सडक बन्द भएपछि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरी विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तामा मात्रै सडकको अवरोध हटाएको थियो । सामान्य वर्षा हुने बित्तिकै पहिरो खसेर सडक बन्द हुने समस्या भएपछि नगरपालिकाले यस्तो अनुरोध गरेको हो ।
कुश्मा नगरपालिका–मा रहेको मध्यपहाडी लोकमार्गको अर्मादी खण्डमा पटक पटक सडक बन्द हुने गरेको छ । यो सडक खण्डमा अझै पनि माथिबाट ठूला ढुंगा खस्ने अवस्थामा रहेको र पानी परिरहेका बेला सडकमा यात्रा गर्नसमेत जोखिम भएकाले विष्फोटक पदार्थ नै प्रयोग गरेर अवरोध हटाउन अनुरोध गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख जोशीले बताए ।
त्यस्तै कुश्मा नगरपालिका–८ चुवा भीरमा रहेको जोखिमयुक्त ढुंगा हटाउनका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको जोशीले बताए । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जोखिमयुक्त अवस्थामा रहेका सडकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले स्थलगत अवलोकन गर्ने र आवश्यक निर्णय गर्ने बताए ।
मनसुनजन्य विपद्का कारण पर्वतमा यस वर्ष एकजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । कुश्मा नगरपालिका–८ मा रहेको सुन्दरे खोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्गमा कार्यरत सवारी चालक इन्द्र चौधरीको ज्यान गएको हो भने मध्यपहाडी लोकमार्गको निर्माण जिम्मा लिएको लामा कन्ट्रक्सनका साइट इन्चार्ज राजाराम आचार्य बेपत्ता भएका हुन् ।
यो सडक अवरुद्ध हुँदा साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको जनजीवन प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्