धनगढी–दिपायल द्रुतमार्ग कालोपत्रे सुरु «

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्रे सुरु


धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणका लागि काम सुरु भएको छ ।
खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौतारादेखि स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्रे गर्नका लागि काम सुरु गरेको हो । वर्षाले गर्दा सुख्खा ठाउँमा सडकको नाली बनाउने काम सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । वर्षात् सकिएपछि मात्रै फुलफेजमा काम गर्न सकिने ठेकेदार कम्पनीका इन्जिनियर सचिन थापाले जनाए ।
ठेक्का सम्झौताअनुसार पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयदेखि स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्रे गरिने इन्जिनियर थापाले जनाए । उनले गत असार २० गते आउँदो ३० महिनामा कालोपत्रे गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए ।
२०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।
धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार यस आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडकमा कालोपत्रे गर्ने सम्झौता भएको छ । आयोजनाका सबइन्जिनियर भोजराज रानाले स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण हुने बताए ।
ठेकेदार कम्पनीका इन्जिनियर थापाका अनुसार सडकको कुल चौडाइमध्ये ९ किलोमिटरमा ग्राभेल हुनेछ भने त्यसमध्ये पनि ५.५ मिटरमा कालोपत्रे गरिने छ । उनले १३.४ किलोमिटर सडकमा ३ वटा कल्भर्ट बनाउनुका साथै १६ वटा ह्युमपाइप राखिने बताए ।
यसैगरी, दिपायलदेखि धनगढीतिर गरिने ९.५ किलोमिटर कालोपत्रे सडक निर्माणको ठेक्का आश्रय प्रशंसा दुनिला जेभीले पाएको छ । सो सडक ३० महिनामा निर्माण गरिसक्ने गरी भ्याटबाहेक १४ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको डोटी सम्पर्क कार्यालयका सबइन्जिनियर जगदिशनिर्मल विष्टले बताए । उनले कुल सडक खण्डको आवश्यक पर्ने ठाउँमा नाली, बाल र कल्भर्टसमेत निर्माण गर्ने गरी दुनिला जेभीसंँग सम्झौता भएको बताए ।
सम्झौता भएर कन्ट्रक्सन सर्भे पनि भइसकेको सबइन्जिनियर विष्टले बताए । उनले विभागबाट स्वीकृति प्राप्त हुने बित्तिकै अबको दुई साताभित्रै ठेकेदार कम्पनीले काम सुरु गर्ने बताए । उनले दिपायल एयरपोर्टदेखि तिखासम्म सम्झौताअनुसार कालोपत्रे हुने बताए ।
आयोजनाको कुल ९२ किलोमिटरमध्ये चालू आर्थिक वर्षमा थप २७.५ किलोमिटर खण्ड (डोटी खण्डमा २० र कैलाली खण्डमा ७.५ किलोमिटर) मा कालोपत्रेका लागि टेण्डर आह्वान गरिने भएको छ । सोका लागि अर्थ मन्त्रालयसंँग स्रोत सुनिश्चितता गरिदिन माग गरिएको आयोजना प्रमुख इन्जिनियर खगेन्द्र शाहीले बताए । उनले अर्थ मन्त्रालयले स्वीकृति दिएमा यसवर्ष थप ठेक्का लगाएर काम अगाडि बढाइने बताए । उनले धनगढीदेखि हातखोली जोड्न यस वर्ष लागिसकेको ठेक्काबाहेक साढे ७ किलोमिटर बाँकी हुने भएकाले धनगढी र हातखोली कालोपत्रे सडकले जोड्न थप ठेक्का लगाउन कसरत गरिरहेको बताए ।
आयोजना प्रमुख इन्जिनियर शाहीका अनुसार चालू आर्थिक वर्षमा धनगढी–दिपालय द्रुतमार्गको कैलाली खण्डमा ६ वटा र डोटी खण्डमा ३ वटा गरी ९ वटा पुल निर्माणका लागि रातो किताबमा बजेट परेको छ । उनले सोको पनि स्रोत सुनिश्चितता लिएर यस वर्ष काम सुरु गर्ने गरी आयोजना कार्यालयले काम गरिरहेको बताए ।
आयोजना कार्यालयका अनुसार धनगढीदेखि दिपायलसम्म १६ वटा नदी तथा खोलामा पुल बनाउनुपर्ने देखिएको छ । त्यसमध्ये नौवटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । तर बन्देगडा नदीमा सर्भे नपुगेकाले आठवटा पुलको ठेक्का लाग्ने सम्भावना रहेको आयोजनाका सबइन्जिनियर विष्टले बताए ।

ट्रयाक खोल्न बाँकी
धनगढी–दिपायल द्रुतमार्गको साढे ४१ किलोमिटर खण्डमा अझै ट्रयाक क्लियर भइसकेको छैन । आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्रयाक काट्ने काम सकिएको भए पनि त्यसलाई फिनिसिङ गर्न बाँकी छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ ।
कैलालीमा हातखोलीदेखि ओझेनासम्मको २० किलोमिटरर डोटीमा तिखाभन्दा अगाडिदेखि विपिनगरसम्म ट्रयाक काट्नका लागि ठेक्का लिने ठेकेदारले ठेक्का पूरा गरेका छैनन् । ती ठेकेदार कम्पनीहरूले सम्झौताअनुसार काम सकेर ठेक्का पूरा गरेपछि मात्रै सो खण्डमा थप काम अगाडि बढाउन सकिने आयोजना प्रमुख इन्जिनियर शाहीले बताए ।
सडकमा पर्ने रुख कटानी आदेश पाउन ढिलो भएको, ठेकेदार कम्पनीले ट्रयाक खोल्न ढिलो गरेको र सडकको स्वामित्व प्रदेश र संघ सरकारमध्ये कसले लिने भन्ने विवादलगायतका कारणले धनगढी–दिपायल द्रुतमार्ग निर्माणमा ढिलाइ भएको हो । आयोजना प्रमुख इन्जिनियर शाहीले आयोजनाको वार्षिक बजेट ३० करोडको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्