लिगलिगकोटमा फहरायो ४० फिट अग्लो राष्ट्रिय झण्डा «

लिगलिगकोटमा फहरायो ४० फिट अग्लो राष्ट्रिय झण्डा

गोरखा-राष्ट्रिय एकता दिवसको अवसरमा लिगलिगकोटमा ४० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
पालुङटार नगरपालिका–२ स्थित ऐतिहासिक तथा सांस्कृतिक भूमि लिगलिगकोटमा नेपालकै ठूलो ४० फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको हो । पर्यटन प्रवद्र्धन तथा राष्ट्रियताको सम्मान गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले लिगलिगकोटमा नेपालकै ठूलोमध्येको एक झण्डा फहराएको हो । औपचारिक कार्यक्रमबीच मेयर दीपकबाबु कँडेलले शुक्रबार बिहान पूजाआजासहित झण्डोत्तोलन गरे । लिगलिगकोटमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै नगरक्षेत्रका जनताका आर्थिक क्रियाकलापमा अभिवृद्धि गरि समृद्ध पालुङटार नगरपालिका बनाउने योजना रहेको मेयर कँडेलको भनाइ छ । झण्डाले पर्यटन विकास तथा लिगलिगकोट चिनाउनलाई कोशेढुंगा सावित हुने उनको विश्वास छ । कार्यक्रममा पालुङटार नगरपालिकाका उपप्रमुख पम्फा बसेल, वडाध्यक्ष लोकनाथ वाग्लेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
समुन्द्र सतहदेखि १४ सय ३७ मिटरको उचाइमा रहेको लिगलिगकोटबाट बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाललगायतका दर्जन बढी हिमश्रृंखला देख्न सकिन्छ । यहाँ कालिकामाई, भूमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित ५ वटा गढी, केही शिलालेख पनि छन् । वि.सं १६१६ मा दौडबाट घलेलाई हराएर लमजुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाह लिगलिगकोटको राजा भएको इतिहासमा उल्लेख छ । दुई सय ४० वर्षसम्म एकछत्र शासन गरेको नेपालको शाह वंशको उदयविन्दुका रूपमा लिगलिगकोटलाई लिइन्छ । नेपाल राज्यको उद्गमस्थल मानिने लिगलिगकोट ऐतिहासिक, सास्ंकृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्