राष्ट्रिय सभाबारे सभापति देउवाले मागे सुझाव «

राष्ट्रिय सभाबारे सभापति देउवाले मागे सुझाव

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनका विषयमा आन्तरिक छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले सोमबार बालुवाटारमा बोलाएर पार्टीका शिर्ष नेताहरूसँग आसन्न राष्ट्रिय सभा निर्वाचनबारे छलफल गरेका हुन् ।
बैठकमा माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा पनि छलफल भएको उनले जानकारी दिए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरिरहेका छन् । प्रधानमन्त्री देउवाले यसअघि नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूसँग पनि प्रदेश प्रमुख र मुकामका बारेमा छलफल गरेका थिए । राष्ट्रियसभा निर्वाचनका लागि तत्काल प्रदेश प्रमुख नियुक्त हुनुपर्ने कानूनी प्र्रावधान छ । राष्ट्रियसभाका लागि मतदाता हुने प्रदेशसभा सदस्यले निर्वाचन तालिकाअनुसार त्यसअघि नै प्रदेश प्रमुखबाट शपथ लिइसक्नुपर्ने भएकाले देउवाले प्रदेश प्रमुख तोक्नेबारेमा अन्तिम गृहकार्य गरिरहेको बालुवाटार स्रोतको दाबी छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत बैठकमा उपस्थित थिए ।

केन्द्रीय समिति बैठक बोलाउन पौडेलको माग
बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय मुद्दासहित पार्टीको आन्तरिक विषयमा पनि कुराकानी भएको बताए । उनले आफूले तत्काल केन्द्रिय समिति बोलाउन माग गरेको बताए । “मैले विधान विपरीत भएकाले संसदीय बोर्ड र कार्यसम्पादन समिति दुवै खारेज गर्न माग पनि गरेको छु,” उनले भने । पौडेललेमा पार्टीमा सुधारको जरुरी रहेको भन्दै दुवै समिति खारेज गरेर सुधारको सुरुवात गनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्