कच्चापदार्थ अभावले धातु उद्योग संकटमा «

कच्चापदार्थ अभावले धातु उद्योग संकटमा

भोजपुर-भोजपुरमा रहेको धातु उद्योग कच्चापदार्थ अभावले संकटमा परेको छ । अतिआवश्यक कच्चा पदार्थको अभाव बढ्दै गएपछि भोजपुरका धातु उद्योग समस्यामा पर्दै गएपछि उद्योग बन्द हुने अवस्थामा छन् । भोजपुरे खुकुरीपछिको दोस्रो पहिचान बोक्ने यहाँका कलात्मक धातुका सामान बनाउने उद्योगहरू कोइला, काठलगायतका वनपैदावर कच्चापदार्थ पाउन छाडेपछि संकटमा पर्दै गएका हुन् ।
धातु उद्योगले प्रसिद्ध टक्सारमा पहिले घरपिच्छे हुने यहाँका कलात्मक धातुका काम पछिल्लो समय अप्ठ्यारो, गाह्रो पेशा र कच्चापदार्थको अभाव हुँदै गएकाले हाल यहाँ छ/सात घरधुरीले मात्र यो पेसा गरेका छन् । “साल, सिसौ, खयरजस्ता रुखका कोइला, दाउरा वनपैदावर कच्चापदार्थ सुलभ रूपमा पाउन नसक्दा नै हामीलाई व्यवसाय चलाउन गाह्रो भएको छ,” स्थानीय धातु उद्यमी बुद्धराज शाक्यले भने, “कच्चापदार्थ अभावले नै बाँकी रहेका उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । पहिले घरलौरी नै हुने यो पेसा अहिले कच्चापदार्थ अभाव, गाह्रो, झन्झटिलो भएपछि गाउँका सबैजसोले यो पेसा छोडिसकेका छन् ।”
यस्ता धातु उद्योगसम्बन्धी अहिलेसम्म जिल्लामा न कुनै तालिम छ न त कुनै प्रवद्र्धन गर्न सरकारी निकायबाटै बजेट आउँछ । साना तथा घरेलु उद्योगले पनि बेलाबखत पुख्र्यौली पुरानो पेसा गर्ने बाँकी केही घरधुरी र अन्य मानिसलाई आवश्यक तालिम, प्रशिक्षण सञ्चालन गरिदिए सबैलाई यो पेशामा ऊर्जा थप्न सक्ने बताउँदै विगत ४० वर्षदेखिका धातु बनाउँदै आएका अर्का धातु उद्यमी देवकुमार शाक्यले भने, “बेलाबेला साना तथा घरेलु उद्यागले तालिम, प्रशिक्षण गराए सबै जातजातिले यो काम सिक्ने मौका पाउने थिए र यो कला, यो पुरानो व्यवसायको पनि संवद्र्धन हुने थियो ।”
व्यवसायी बद्री श्रेष्ठका अनुसार पछिल्लो समय भोजपुर बजारमा दक्ष कालीगढ अभावका कारण पनि मागअनुसारका धातुका सामान ग्राहकलाई पु¥याउन गाह्रो भएको छ । भोजपुरमै बनाइएका धातुका सामानमा सात दिनसम्म पानी राख्दा लेउ र खिया नलाग्ने हुँदा यहाँको गुणस्तरियता बाहिरबाट आयात हुने सामानभन्दा सयौ गुणा बढी राम्रो र भरपर्दो रहेको उनको भनाइ छ ।
स्थानीय टक्सारमा बन्ने कलात्मक भोजपुरे करुवा देश विदेशमा प्रचलित छ । एउटा बुट्टे कलात्मक करुवा पूर्णरूपमा तयार हुन एक महिनादेखि ३ महिनासम्म लाग्छ । यहाँको करुवा अन्यभन्दा कलात्मक, आकर्षक र टिकाउ भएकै कारण ग्राहकको माग धेरै हुने गरेको अर्का व्यवसायी इश्वर श्रेष्ठले बताए ।
भोजपुरमै उत्पादन हुने धातुका सामान बाहिरबाट ल्याइने धातुका सामानभन्दा गुणस्तरीय, भरपर्दो, टिकाउ, आकर्षकसँगै महँगो पनि छ । भोजपुरमै उत्पादित धातुका कलात्मक करुवाको मूल्य अहिले बजारमा ११ सय देखि पाँच हजार रुपैयाँसम्म किनबेच हुन्छ । बाहिरबाट ल्याइने एउटा काँसे थाल १८ सयदेखि ३५ सय रुपैयाँसम्म पर्दा स्थानीयस्तरमै उत्पादित त्यही काँसे थाल ३ हजारदेखि पाँच हजारसम्ममा बेचविखन हुने गरेको व्यवसायीहरू बताउँछन् ।
यहाँका कलात्मक टक्सारे करुवा, आम्खोरा, डाडु, खड्कुलो, थाल, कचौरा, गाग्रीलगायत विभिन्न धातुका सामान जिल्लामा निकै प्रचलित छन् । यहाँका कलात्मक टक्सारे करुवा जिल्लामा मात्रै नभई देश विदेशसम्म आफन्तजन, अतिथिलाई कोसेली र सम्झना स्वरुप आदानप्रदान गरिने गरिन्छ । तर पछिल्लो समय वन ऐनले वन जंगलमा धातु बनाउनका लागि चाहिने अतिआवश्यक साल, सिसौ रुखका कोइला, काठ निकासीमा लगाएको प्रतिबन्धले यहाँका उद्यमीले चाहेजस्तो कच्चापदार्थ पाउन नसकेको भोजपुर नगरपालिका–१२ टक्सारका वडाध्यक्ष कुमारप्रसाद श्रेष्ठ बताउँछन् । टसार बजार सुनसान हुँदै गएपछि बजारलाई बयूताउन र भोजपुरमा बनाइने धातु उद्योगको प्रचारप्रसार गर्न २०७२ सालमा फागुन एक गतेबाट ७ गतेसम्म टक्सार महोत्सवसमेत गरिएको थियो । पछिल्लो समय सुन्सान बन्दै गएको टक्सार बजार महोत्सवमा टक्सार पहिचानका लागि सात फुट अग्लो चार सय केजीको करुवाको स्तम्भसमेत बनाइएको छ ।
अर्जुन बस्नेत 

प्रतिक्रिया दिनुहोस्