चिया निर्यात प्रत्येक वर्ष बढ्दै, स्थानान्तरणका नाममा बगान मास्दै «

चिया निर्यात प्रत्येक वर्ष बढ्दै, स्थानान्तरणका नाममा बगान मास्दै

कोरोना महामारीले व्यापार क्षेत्रलाई संकटमा प¥यो । तर, मुलुकको चिया क्षेत्रले भने कोरोना कालमा नै राम्रो आम्दानी गर्न सफल भयो । पछिल्लो दुई वर्ष नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमासमेत बढेर गएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०७६/०७७ मा ९७ लाख २ हजार ८ सय ७८ केजी तयारी चिया निर्यात भएको थियो । उक्त चिया निर्यात हुँदा २ अर्ब १३ करोड ८२ लाख रुपैयाँ मुलुक भित्रिएको थियो ।
यस आर्थिक वर्ष २०७७/०७८ मा गत वर्षको तुलनामा यस वर्ष १३.२२ प्रतिशतले निर्यातमा वृद्धि भयो । मेची भन्सार कार्यालयको तथ्यांक अनुसार आव ०७७/०७८ मा पूर्वी नाका मेची भन्सारबाट मात्र १ करोड १२ लाख ६७ हजार ७ सय ३१ केजी तयारी चिया निर्यात भएको छ । उक्त चिया निर्यात गर्दा मेची भन्सारबाट मात्र ३ खर्ब, ३० करोड ८३ लाख ९० हजार रुपैयाँ मुलुकमा भित्रिएको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार पूर्वी नाकाबाट चिया निर्यात वर्षेनी बढ्दो छ ।
जिल्लामा चिया क्षेत्र राम्रो रहेको चिया निर्यात र बजारीकरणले प्रष्ट पार्छ । जिल्लामा चियाका मात्र ३५ भन्दा बढी चिया फ्याक्ट्री छन् । जसमा साना किसान सहकारीका मात्र ४ वटा चिया फ्याक्ट्री पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् । जिल्लामा ३ हजारभन्दा बढी साना किसान चिया क्षेत्रमा आबद्ध छन् । त्यस्तै भन्दा धेरै मजदुर चिया क्षेत्रमा आबद्ध छन् ।
तर, केपी शर्मा ओली नेतृत्वको सरकारले झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिकामा फैलिएको गिरीबन्धु टी स्टेट र दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगान बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णय गरेको छ ।
गत असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनी स्थानान्तरणका नाममा हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न दिने निर्णय गरेको हो । बिर्तामोड र अर्जुनधारा नगरपालिकामा फैलिएको गिरीबन्धु टी स्टेट र दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानले झापाको चिया क्षेत्र संकटमा रहेको गलत दाबी र प्रचार गरिरहेका छन् ।
पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको गिरीबन्धु टी स्टेटले २ सय ८० बिघा क्षेत्रफलमा फैलिएको बिर्तामोडको चिया बगान मासेर भिट्टा व्यापार गर्ने उद्देश्य राखेको छ । त्यसको सट्टामा गिरीबन्धुले जिल्लाको ग्रामीण क्षेत्रमा सस्तो मूल्यको जग्गा खरिद गर्ने योजना बनाएको छ ।
दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा पूर्व राजा ज्ञानेन्द्र शाहको लगानी छ । करिब ६ सय बिघा क्षेत्रफलमा फैलिएको सो चिया बगानले पनि उद्योग स्थानान्तरणका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा निवेदन परिसकेको छ । बगानले पनि स्थानान्तरणका लागि बिचौलिया सक्रिय बनेका छन् ।

निजी स्वार्थमा बगान सञ्चालक
ठूला चिया बगानले २०२९ सालभित्र हदबन्दी भन्दा बढीको जग्गा राख्न पाउने अनुमति पाएका थिए । झापाका केही ठूला चिया बगानहरु भने निजी स्वार्थका लागि चिया क्षेत्र संकटान्मुख रहेको गतल दाबी गरिरहेका छन् । उनीहरुले हदबन्दी भन्दा बढीको जग्गा प्लटिङ गरेर छोटो समयमा अर्बौँ रुपैयाँ कमाउने उद्देश्यले चिया क्षेत्रका विषयमा गलत प्रचार गरिरहेको झापाका चिया कृषक रबी नेपालले बताए ।
“चियाले मुलुकको व्यापार घाटा घटाउन प्रत्यक्ष सहयोग गरिरहेको छ भने अर्को तर्फ हजारौँ नागरिकलाई रोजगार दिएको छ” नेपालले भने, “पहिले धानभन्दा धेरै चियाबाट आम्दानी हुन्छ भनेर चिया लगाउने ठूला वगान अहिले जग्गाको भाउ बढेसँगै प्लटिङ गर्न लागेका छन् ।” “कम्पनी स्थान्तरण गर्ने भनिएको छ, खोलाको वगरको छेउमा चिया उत्पादन सुरु हुन कति वर्ष लाग्ला ?” नेपालले प्रश्न गरे ।
राजा महेन्द्रले झापाबाट हदबन्दी लगाउन सुरु गर्दा छुट दिएको बगानलाई मास्न ओली सरकार सफल भएको स्रोत बताउँछ । बगान मास्नु भनेको पर्यावरण सन्तुलन बिग्रनु पनि हो । अर्को बगानमा उत्पादन शुरु नभई बगान मास्ने अनुमति दिन नहुने चिया विज्ञ बताउँछन् ।
गिरीबन्धु टी स्टेटले जिल्लाको चिया क्षेत्र संकट पूर्ण अवस्थामा रहेको देखाउन विभिन्न कृतिम हत्कन्डा अपनाउने गरेको छ । बिर्तामोड र अर्जुनधारास्थित बगानमा वर्षौदेखि पुनःरोपण गरेको छैन । जसबाट चिया बगान उराठ लाग्दा देखिन्छ । मजदुरलाई ज्याला तिर्न नसकेको भन्दै प्रायः दुई –दुई वर्षमा मजदुर आन्दोलन हुने अवस्थाको सिर्जना गरिन्छ ।
गिरीबन्धु मात्र होइन, दमकस्थित हिमालय महालक्ष्मी टी स्टेटले पनि लापरबाही रुपमा चिया बगान चलाएको पाइएको छ । चिया क्षेत्रमा मानिस हिड्दै नसकिने झाडी र जंगल हुँदा समेत सफा नगरेको अवस्था छ ।
झापामा करिब साढे ११ हजार हेक्टर क्षेत्रफलमा चिया खेती छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डकाअनुसार झापाबाट मात्र वार्षिक करिब २ करोड केजी सीटीसी चिया उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्