पर्यटन प्रबद्र्धन गर्न पोखरादेखि नेपालगन्जसम्म सीधा हवाई उडान सुरु

पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सीधा हवाई उडान गर्दै आएको बुद्ध एयरले पोखराबाट नेपालगन्जमा पनि हवाई उडान सुरु गरेको छ । आइतबारदेखि बुद्ध एयरले पोखरादेखि नेपालगन्ज र नेपालगन्जदेखि पोखराका लागि सानो १८ सिटे (१९००—डी) हजाई जहाजबाट साताको तीन दिन उडान गर्ने गरी सुरु गरेको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए ।
उनका अनुसार आइतबार पोखरा देखि नेपालगन्ज जाने र नेपालगन्जबाट पोखरा आउने शतप्रतिशत सिटमा पर्यटकहरु जाने तथा आउने गरेका छन् । आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन प्रायः विहान ९ः१० बजे पोखराबाट र नेपालगन्जबाट विहान १०ः०० हवाई उडान हुने तयारी गरिएको स्टेशन म्यानेजर बरालले जनाए । यात्रुको चाप अनुसार ४ हजार ९ सय ३५ रुपैयाँदेखि ७ हजार ६ सय ३५ रुपैयाँ भाडा शुल्कः निर्धारण गरिएको बरालले जनाए ।
उनले भने, “अहिलेको अबस्थामा हामीले दुई वटा नगरको पर्यटन प्रबद्र्धन हुने विश्वासका साथ सिधा हवाई उडान सानो जहाजबाट सुरु गरेका छौं, भोलि यात्रुको चाप र पर्यटकको माग बढेमा हामीले जहाज र दैनिक हवाई उडान समेत गर्न सक्छौं ।” कोरोनाको कारण गत वैशाखदेखि ठप्प भएको हवाई उडान विगत एक महिना अघिदेखि मात्र पुनः संचालन भएको हो ।
यसैबीच यसअघि पोखरा–नेपालगन्ज रुटमा सीता एयरले चार्टर्ड उडान गरेको थियो ।