पर्वतको कुश्मा नगरपालिकामा तालाबन्दी «

पर्वतको कुश्मा नगरपालिकामा तालाबन्दी

पर्वत– लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधी र स्थानीय बासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् । जनप्रतिनिधिसमेत सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आइतबार दिउँसो तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत स्थानीयले ताला लगाएका हुन् । वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।
गत कात्तिक १४ देखि स्वास्थ्यचौकीका ईन्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष बाँस्तोलाले बताए । नगरपालिकाले काजमा खटाएका स्वास्थ्यचौकीका इन्चार्ज टेकनाथ सुबेदीले वडा र स्वास्थ्यचौकीको काम हेर्न नभ्याएको बताउँदै आएका छन् ।
नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रसासकीय अधिकृतलाई धेरै पटक सचिवको माग गरेपनि ९ महिनासम्म सचिव नखटाएको भन्दै वडाका जनप्रतिनिधीहरू सहित आएका खुर्कोटवासीहरूले तालाबन्दी गरेका हुन् ।
सचिव नहुँदा दैनिक प्रशासनिक कामकाजमा समस्या भएको वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोलाले गुनासो गरे । वडा कार्यलयमा कार्यरत सचिव सञ्जु शर्मा कोभिड संक्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए ।
उनले कार्यालयले खटाएका सचिव निको भएपछि हाजिर हुने भएकाले स्थानीयलाई आक्रोशित नबन्न अनुरोध गरेका छन् । सचिव यथाशीघ्र हाजिर गराउने आश्वसन पछि कार्यालयमा लगाएको ताला साँझ खोलिएको थियो । वडा कार्यालयको ताला भने खोलिएको छैन ।

प्रतिक्रिया दिनुहोस्