स्नेहा होटल र भारतीय क्लार्कस् इन ग्रुप अफ होटल्सबीच साझेदारी सम्झौता «

स्नेहा होटल र भारतीय क्लार्कस् इन ग्रुप अफ होटल्सबीच साझेदारी सम्झौता

  • दुवैले मिलेर १ अर्ब लगानीमा बर्दिया र रारामा रिसोर्ट खोल्दै

नेपालगन्ज-नेपालगन्जको सबैभन्दा पुरानो तीनतारे होटल स्नेहाले भारतमा ९० भन्दा बढी होटल सन्चालन गर्दै आएको प्रसिद्ध कम्पनी क्लार्कस् इन ग्रुप अफ होटल्ससँग साझेदारी सम्झौता गरेको छ ।
सो सम्झौताबमोजिम होटल स्नेहा १ जनवरीदेखि स्नेहा क्लार्क इन सुइटसमा परिवर्तन भएको छ भने दुवै संस्थाले मिलेर पर्यटनको क्षेत्रमा सुरुमा १ अर्ब बढी लगानी गर्ने भएका छन् ।
होटल सन्चालनमा निकै ख्याति कमाएको भारतको क्लार्कस् इन ग्रुप र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको स्नेहा होटलबीच बर्दिया, रारा, पोखरा र काठमाडौंलगायतका विभिन्न स्थानमा होटलमा संयुक्त लगानी गर्ने गरी सम्झौता भएको छ ।
नेपालको पर्यटन क्षेत्रमा धेरै संभावनाहरु देखेर भारतीय कम्पनी क्लार्क इनले १ जनवरीदेखि लागू हुने गरी स्नेहासँग संयुक्त लगानी र व्यवस्थापनको सम्झौता गरेको होटल स्नेहाका प्रबन्ध निर्देशकसमेत रहेकी महासंघकी अध्यक्ष राणाले बताइन् ।
हालै भारतको लखनउमा दुवै पक्षबीच भएको सम्झौताबमोजिम होटल स्नेहामा थप लगानी गरेर क्लार्क इनले स्नेहाको सबै व्यवस्थापन गर्ने तथा सुरुमा बर्दियाको ठाकुरद्वारामा ४० करोडको लगानीमा रिसोर्ट निर्माण गरिने र त्यस लगत्तै मुगुको रारामा करिब ६० करोडको लगानीमा रिसोर्ट खोलिनेछ ।
बर्दियामा रिसोर्टका लागि चार बिघा जग्गा रहेको र सुरुवातमा वाइल्ड लाइफका लागि आउने पर्यटकलाई लक्षित गरेर रिसोर्ट निर्माण गरिने प्रबन्ध निर्देशक राणाले बताइन् । यो बाहेक रारा, पोखरा र अन्य पर्यटकीय गन्तव्यमा होटल निर्माण गरिने उनले जानकारी दिइन् । “देशका विभिन्न स्थानमा तीन, चार र पाँचतारे स्तरको होटल संयुक्त लगानीमा बनाउने सम्झौता हामीले गरेका छौं,” उनले भनिन् ।
राणाले क्लार्क्स इन ग्रुपले स्नेहा होटलमा भने व्यवस्थापन हेर्ने बताइन् । साझेदारी सम्झौतासँगै यो होटलको स्नेहा क्लार्कस् इन सुइट्स नामाकरण भएको छ ।
नेपालको पर्यटन क्षेत्रमा लगानी र व्यवस्थापन गर्ने अवसर पाउँदा निकै खुसी लागेको जनाउँदै क्लार्क इन ग्रुपका अध्यक्ष एसएन श्रीवास्तवले स्नेहासँगको साझेदारीबाट पश्चिम नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताएका छन् ।
उनले क्लार्कस् इनले भारतका पर्यटक नेपाल भिœयाउन ठूलो भूमिका निर्वाह गर्ने समेत बताए । उनले बर्सेनि हजारौंको संख्यामा धार्मिक पर्यटकलाई नेपालगन्जको बाटोबाट कैलाश मानसरोवर र काठमाडौंतर्फ पठाइने बताए ।
सो साझेदारी सम्झौतामा स्नेहाका तर्फबाट होटल स्नेहाका अध्यक्ष अशितशमशेर जबरा र क्लार्क इनको तर्फबाट क्लार्क ईन ग्रुपका अध्यक्ष एसएन श्रीवास्तवले हस्ताक्षर गरेका छन् ।
स्नेहा होटलमा ६० वटा कोठाका साथै क्यासिनो, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा कन्फरेन्स हल, रेस्टुराँ सञ्चालनमा छ । तीनतारेबाट चारतारे होटलमा स्तरोन्नति गर्न होटल व्यवस्थापनले पर्यटन मन्त्रालयमा निवेदन पेस गरिसकेको अध्यक्ष राणाले बताए ।
पछिल्लो समयमा आएर नेपालगन्जका विभिन्न होटलले सन्चालनको जिम्मा विदेशी व्यवस्थापनलाई दिएपछि होटल स्नेहाले पनि विदेशी साझेदार निम्त्याएको हो ।
बाँकेमा विदेशी व्यवस्थापनमा तीन तारे होटल सिग्नेट इन कृष्णा र कलपत्रु लर्ड्स सञ्चालनमा छन् भने अन्य सुविधासम्पन्न होटलमा चारतारे होटल सोल्टी वेस्ट एन्ड र होटल सेन्ट्रल प्लाजा, तीनतारे होटल सिद्धार्थ भ्यू, होटल किचन हट, होटल सिटी प्यालेस र पप लाइफ सञ्चालनमा छन् ।
बाघका लागि बर्दिया राष्टिय निकुन्ज, कैलाश मानसरोवरको यात्राका लागि आउने भारतीय पर्यटक र राराताललगायतमा जाने पर्यटकको ट्रान्जिट नेपालगन्जनै भएकाले यहाँ पर्यटन व्यवसाय फस्टाउने ठूलो संभावना रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्ले बताएका छन् ।
उनले बाँकेमा यसरी भारतीय पर्यटन व्यवसायीले लगानीमा चासो देखाउनु यस क्षेत्रका उद्योगी व्यवसायीका लागि निकै उत्साहजनक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्