सुनसरीमा कोरोना संक्रमणको दर बढ्दै «

सुनसरीमा कोरोना संक्रमणको दर बढ्दै

सुनसरीमा पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर निकै बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले कारोबारलाई दिएको जानकारीअनुसार वैशाख २५ देखि ३१ गतेसम्मको तथ्यांकलाई हेर्ने हो भने एक साताको अवधिमा १२७३ जनामा संक्रमण देखिएको थियो भने जेठ ८ गते देखि १४ गते सम्म सबैभन्दा उच्च १५७१ जनामा कोरोना संक्रमण देखिएको हो ।
निषेधाज्ञा कडा पारिएसँगै स्वास्थ्य कार्यालय सुनसरीको ग्राफलाई हेर्ने हो भने जेठ २८ देखि असार ४ गतेसम्मको एक साताको तथ्यांक पूरै झरेर ७०९ मा पुगेको थियो । बिस्तारै निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक यातायात खुलेपछि असार १२ देखि १८ गते सम्ममा फेरि कोरोना संक्रमणका ग्राफ उकालो लागेको देखिन्छ ।
असार २६ देखि साउन १ गतेसम्ममा फेरि कोरोना संक्रमणदर बढेर कोरोनाको ग्राफ जिल्लामा १०८६ देखि अहिले पछिल्लो ग्राफ साउन ९ देखि १५ सम्ममा १११२ पुगेर कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेको देखिएको छ ।
यसरी फेरि सुनसरीमा कोरोना संक्रमणदर बढ्नुको मुख्य कारण सर्वसाधारणको अटेरीपन, मास्क नलगाई हिडने, बढी भीडभाड हुने ठाउँमा बाक्लो जमघट हुनु र सार्वजानिक सवारी साधनमा अलिकति पनि स्वास्थ्य मापदण्ड पालना नगर्नुले भएको बताइएको छ ।
सरकारले जारी गरेको मापदण्डहरूलाई कडाइका साथ पालना नगर्नु र पालना नगराउनुले पछिल्लो समय फेरि कोरोना संक्रमणदर बढ्दै गएको स्वास्थ्य विज्ञहरूको भनाइ छ । यसरी कोरोना संक्रमणको ग्राफ उकालो लागि रहेको बेलामा समयमै सतर्कता अपनाइएन भने कोरोना महामारीले ठूलो समस्या सिर्जना गर्न सक्ने देखिन्छ ।
स्नातक तहले पनि मापदण्डको कुनै ख्याल नगरी परीक्षा पनि संचालन गरिरहेको छ । सुनसरीका स्थानीय तहमध्ये धरान उपमहानगरपालिका संक्रमणको जोखिक बढी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्