दोस्रो आरुघाट महोत्सव «

दोस्रो आरुघाट महोत्सव

गोरखा- दोस्रो आरुघाट महोत्सव शनिबारबाट सुरु भएको छ । आरुघाट युवा क्लब र उद्योग वाणिज्य संघ आरुघाटको संयुक्त आयोजनामा घरेलु चौरमा भएको महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे । सो अवसरमा एकै वर्षमा सगरमाथा र मनास्लु हिमाल आरोहण गर्ने कारोबार दैनिककी फोटो पत्रकार आरुघाटकी पूर्णिमा श्रेष्ठ, प्याराग्लाइडर बनाउने स्थानीय एकबहादुर आले, आरुघाट बजार एकाइका संस्थापक अध्यक्ष बसन्तमान श्रेष्ठलाई सम्मान गरिएको छ ।
कला सस्ंकृति इतिहास र पर्यटन आरुघाट क्षेत्रको पहिचान, संरक्षण र प्रवद्र्धन भन्ने नाराका साथ महोत्सव गरिएको हो । माघ ५ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आरुघाट युवा क्लबका अध्यक्ष सञ्जयमान श्रेष्ठले जानकारी दिए । महोत्सवमा व्यापारिक तथा व्यावसायिक एक सयवटा स्टल छन् । बूढिगण्डकी जलविद्युत् आयोजनाले नामेट हुन लागेको आरुघाट बजारको कला सस्ंकृतिको उजागर गरी स्थानीय स्तरमा पर्यटन तथा व्यापार व्यवसाय प्रवद्र्धनका लागि महोत्सव गरिएको उद्योग वािणज्य संघ आरुघाट एकाइका अध्यक्ष विश्वकुमार श्रेष्ठले बताए । माघ ५ सम्म चल्ने महोत्सवमा ५० हजारले अवलोकन गर्ने र करिब ७० लाखको कारोबार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ । महोत्सवबाट हुने बचतले एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना रहेको एकाइका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्