क्षतिग्रस्त सडक र पुल तत्काल बनाउन विकास समितिको निर्देशन «

क्षतिग्रस्त सडक र पुल तत्काल बनाउन विकास समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले अविरल वर्षाका कारण विभिन्न सडक र पुलहरु क्षतिग्रस्त भएकोले क्षतिको कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधिन पुल क्षतिग्रस्त भएका र ति पुलहरु क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो ।
समितिले सिरहा– धनुषा जोड्ने सडक अन्र्तगतको कमला पुल र गाइघाट–दिक्तेल अन्र्तगतको त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाई छिटो पुनः निर्माण कार्य सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी कमला र त्रियुगा नदीको पुल के कारणले क्षतिग्रस्त भयो भन्ने छानविन गरेर समितिलाई सात दिनभित्र जानकारी गराउन गराउन पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन् ।
समितिले अरनिको राजमार्ग अन्तर्गतको विभिन्न सडक खण्डहरु क्षतिग्रस्त भएकाले सडकको स्तरोन्नति गर्न, आवश्यक पुलहरुको निर्माण गरी तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । त्यस्तै पटक पटक अवरुद्ध हुने नारायणघाट–मुग्लिन सडक खण्डको दिर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन र बिना अवरोध यातायात सुचारु गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन गरको समिति सभापति खड्काले बताइन् ।
समितिले सरकारलाई बाढी, पहिरोबाट सिर्जित समस्याको समाधान गर्न पूर्व सचेतना कार्यक्रम लगायत बाढी, पहिरो नियन्त्रण सम्बन्धी दिर्घकालिन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ । तिनै तहको सरकारसँग समन्वय गरी तत्काल उद्धार, राहत र पुर्नस्थापनाको प्रवन्ध मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समितिको निर्देशन छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म १५३ स्थानमा सडक अवरुद्ध भएको बताए । यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको, ९३ वटा एकतर्फी चालु अवस्थामा रहेको र ४९ वटा दुवैतर्फ सुचारु अवस्थामा रहेको उनले बताए ।
देशभर क्षति भएका पुलहरुमध्ये निर्माणाधिन पुलहरु बढी मात्रामा क्षति भएको भन्दै उनले त्यसको जवाफदेही निर्माण व्यवसायी आफैं भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्