बैंकहरू कोभिडको तेस्रो लहर थेग्न सक्षम छन् «

बैंकहरू कोभिडको तेस्रो लहर थेग्न सक्षम छन्

कोभिड—१९ को महामारीका कारण आर्थिक गतिविधि प्रभावित हुँदा पनि बैंकहरुको व्यवसाय भने सामान्य अवस्थामा भन्दा पनि दोब्बरले विस्तार भएको छ । नयाँ उद्योग व्यवसाय सुरु नभएको र पुराना व्यवसायहरु पनि पूर्णरुपमा सञ्चालन नभएका बेला बैंकहरूको कर्जा उच्चरुपमा बढ्नुलाई धेरैले वित्तीय क्षेत्रको जोखिमका रूपमा लिएका छन् । कोभिड महामारीकै बीच पनि आर्थिक गतिविधि भइरहेको, आयात, निर्यात व्यापार वृद्धि भएका कारण बैंकहरूको व्यवसाय विस्तार भएको बताउँछन्, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल । व्यावसायिक गतिविधि बढिरहेका कारण महामारीकै बीचमा पनि अर्थतन्त्र सामान्य अवस्थामा रहेको र केही अतिप्रभावित क्षेत्र पनि छिटो रिकभरी हुने उनको बुझाइ छ । कोभिडको महामारी सुरु भएलगत्तै सर्वसाधारण त्रासमा देखिए पनि अहिले विस्तारै सामान्य भएको र तेस्रो लहर आए पनि त्यसलाई झेल्नका लागि नेपालीहरूले आफुलाई तयार बनाएको पनि उनको दाबी छ । अब अर्थतन्त्रको पुनरुत्थान पनि खोपसँग जोडिएकाले सरकारले बढीभन्दा बढी नागरिकको पहुँचमा खोप पु-याउनुपर्नेमा उनको जोड छ ।
तत्कालीन ग्रिनलेज बैंकबाट सन् १९९१ मा बैंकिङ करियर सुरु गरेका पोखरेलले बैंकिङ क्षेत्रमा ३० वर्ष बिताइसकेका छन् । यस अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अफगानिस्तानका साथै म्यानमारका दुईवटा बैंकमा समेत काम गरेर अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका उनले हालैमात्र सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व सम्हालेका छन् । नेपाली बैंकहरूले विशेषगरी प्रविधिमा आधारित सेवामा जोड दिनुपर्ने मान्यता राख्ने उनी सिभिल बैंकमार्फत आफ्नो भिजनलाई कार्यान्वयनमा लागिरहेका छन् । काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी सोही विश्वविद्यायलमा भिजिटिङ प्रोफेसरका रूपमा समेत युवाहरूलाई पथ प्रदर्शन गरिरहेका छन् । पोखरेलसँग नेपाली बैंकिङ क्षेत्रको सेरोफेरोमा केन्द्रित रही कारोबार दैनिकका सम्पादक कुबेर चालिसे र कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानीको सार :

कोभिड—१९ को तेस्रो लहर आउने अनुमानका बीच बैंकिङ क्षेत्रलाई कस्तो प्रभाव पार्ला ?
हामीले कोभिड महामारीको दुईवटा चरण भोगिसकेका छौं । पहिलो लहरमा मानिस धेरै त्रसित भएका थिए । संक्रमितको संख्या कम भए पनि मान्छेहरूमा डर धेरै थियो । त्यो बेला कतिपय मानिसमा अब व्यवसाय डामाडोल भयो, फेरि पहिलाकै अवस्थामा सञ्चालन गर्न सकिँदैन कि भन्ने सोच पनि आएको थियो । तर, दोस्रो लहरको संक्रमणसम्म आइपुग्दा संक्रमितको संख्या धेरै भए पनि सुरक्षाका मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्न सक्छौं भने आत्मविश्वास देखियो । गत वर्ष पहिलो त्रैमासमा कोभिडको प्रभावले व्यवसाय त्यति वृद्धि नभए पनि दोस्रो त्रैमासबाट भने यति राम्रोसँग व्यवसाय विस्तार भयो कि अघिल्ला वर्षमा भन्दा बैंकहरूको व्यवसायको विस्तार राम्रो भयो । आयात निर्यातसँगै व्यावसायिक क्रियाकलाप बढेका छन् । जसका कारण बैंकको ऋण तिर्नेको संख्या पनि एकदमै राम्रो बढेको छ ।
पहिलो लहरमा सर्वसाधारणमा रहेको त्रास दोस्रो लहरसम्म आइपुग्दा सहज भएसँंगै आर्थिक क्रियाकलाप बढेका छन् । जसको कारण पछिल्ला महिनामा बैंकहरूलाई ऋण असुलीमा पनि त्यति धेरै समस्या भएन । पहिलोपटक डराएका सर्वसाधारण दोस्रो लहर आउदासम्म त्यसलाई झेल्नका लागि तयार भइसकेका थिए । अब तेस्रो लहर आए पनि यसलाई झेल्नका लागि सर्वसाधारण अझ तयार भएर बसेका छन् । यसको एउटा मुख्य कारण कोभिडविरुद्धको खोप लगाउने जनसंख्या बढिरहेको छ । तेस्रो लहर आयो भने व्यवसायलाई अलिकति असर त गर्छ नै । तर एकदमै धेरै खत्तम नै हुन्छ जस्तो लाग्दैन । बैंकहरूमा पनि केही असर परे पनि केही समयमा वा अर्को त्रैमासमा पुग्दासम्म सामान्य हुन्छ ।

आर्थिक गतिविधि सामान्य हुँदैछन् भने पनि पर्यटन, सार्वजनिक यातायातलगायतका क्षेत्रहरू त अझै प्रभावित छन् भने बैंकको वित्तीय विवरणमा पनि कुनै प्रभाव देखिएको छैन नि ?
कोभिडबाट पर्यटन सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । यसमा पनि विदेशी पर्यटकहरूमा निर्भर स्टार होटलहरूको व्यवसाय ठप्पप्रायः छ । तर, यस क्षेत्रमा बैंकहरूको लगानी हिस्सा एकदमै न्यून छ । स–साना होटल, रिसोर्टलगायतमा भने ऋण असुली राम्रो भइरहेको छ । होटल तथा रेस्टुराँहरूले व्यवसाय गर्ने मोडल पनि परिवर्तन गरेका छन् । उनीहरुले अनलाइनबाटै अर्डर लिने, डेलीभरी गर्नेजस्ता काम गर्न थालेका छन् । अनलाइनबाट खानेकुरा डेलिभरी गर्ने कम्पनीहरू पनि बढेका छन् । यस व्यवसायमा मार्जिन पनि राम्रो छ । यसबाहेक व्यवसाय प्रभावित भएका ठूला होटललाई त नेपाल राष्ट्र बैंकको नीतिले पनि सहयोग गरेकै छ ।
विश्वव्यापी रुपमा सन् २०२२ पछि पर्यटन क्षेत्र बुम हुने विश्लेषण सार्वजनिक भइरहेका छन् । यसले हवाई यातायातमा पनि राम्रो प्रभाव पार्छ । यही कारण विश्वमा हवाई कम्पनीहरूको सेयरको मूल्य पनि बढेको छ । अब खोप लगाउने मानिसको संख्या बढ्ने बित्तिकै पर्यटकको संख्या पनि बढ्छ । सरकारले पनि खोपमै जोड दिएको छ । अब यात्रा गर्दा पनि कुनै देशमा जानुअघि त्यो देशका कति प्रतिशत सर्वसाधारणले खोप लिएका छन् भन्ने कुराले महत्व राख्छ ।
यसैगरी अहिले सार्वजनिक यातायात क्षेत्रलाई पनि राम्रै प्रभावित पारेको छ । केही क्षेत्र पुनरुत्थानका लागि केही समय त लाग्छ नै । तर, अहिले पनि लकडाउन खुकुलो हुनेबित्तिकै सर्वसाधारणको जुन किसिमको चलहपहल देखिएको छ, यसबाट पनि यी क्षेत्र छिटो रिकभरी हुन्छन् भन्ने आशा राख्न सकिन्छ ।
हामी सानो देश भएकाले सबै नागरिकलाई खोपको पहुँच पु-याउन त्यति गाह्रो नहोला । एक डेढ करोड जनताले खोप लगाउने बित्तिकै हामी पूर्णरूपमा खोपको पहँच पुगेको भन्न सक्छौं । विकसित देशमा खोप उपलब्ध भएर पनि त्यहाँका नागरिकले लिन चाहिरहेका छैनन् । हामीकहाँ त अवस्था उल्टो छ । खोपको व्यवस्था हुनेबित्तिकै खोप लगाउन मिल्ने सबै नागरिकले लगाउँछन् ।

कोभिडको तेस्रो लहर आयो भने बैंकहरूलाई सहजीकरण गर्न मौद्रिक नीतिले के कस्ता व्यवस्था गर्नुपर्ला ?
मौद्रिक नीतिले मुख्य गरी गर्ने भनेको समस्यामा परेका क्षेत्रलाई किस्ता तिर्नका लागि केही समय दिने हो । बैंकहरूले पनि आफ्ना ऋणीलाई गर्ने भनेको पनि त्यही नै हो । तर, कुनै पनि क्षेत्रका लागि केही समय सहुलियत दिँदा त्यसको भविश्य छ भनेमात्र त्यो उपाय उपयुक्त हुन्छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीति पनि त्यही ढंगले आउला । अहिलेसम्म हामीले कोभिडका कारण कुनै पनि क्षेत्र ध्वस्त होला भनेर सोचेका छैनौं । अहिले पनि लकडाउन खुकुलो भएपछि राम्रै चलपहल देखिएको छ । अब कुनै पनि क्षेत्र सुरक्षित छ भन्ने भयो भने त्यहाँको गतिविधि राम्रै हुन्छ । किनकि हामी लामो समयदेखि थन्किएर बसेका छौं ।

गत वर्ष आर्थिक गतिविधि सुस्त भए पनि बैंकहरूको कर्जा वृद्धि उच्च रह्यो । बैंकहरूले कर्जाको अवस्था राम्रो देखाउनका लागि पनि पुनर्तालिकीकरण र थप ऋण दिएर कर्जाको इभरग्रिनिङ गरे भन्ने आरोप छ नि ?
अब सबै क्षेत्रको ऋणलाई पुनर्तालिकीकरण गर्नु हुँदैन । जुन क्षेत्र धेरै समस्यामा छन् र केही समय दिँदा उनीहरू रिकभरी हुन्छन् भने त्यस्ता क्षेत्रलाई मात्र सहुलियत दिने हो । सबै उद्योगले यस्तो सहूलियत पनि मागेका छैनन् ।
तथ्यांक केलाउने हो भने अहिलेको अवस्थामा आयात तथा निर्यात बढेकै छ । यसबाहेक सिमेन्ट, स्टिल उद्योगहरूले पनि आफ्नो व्यवसायमा लगानी बढाएका छन् । यसबाहेक थोक तथा खुद्रा व्यवसायमा पनि कर्जा बढेको छ । यसको हिस्सा धेरै छ । बैंकिङ क्षेत्रमा पुनर्तालिकीकरण भएको र पुनर्उत्थानका लागि थप कर्जा दिएको हिस्सा एकदमै थोरै छ । केही व्यवसायबाट रिकभरीमा ढिलाइ भएको होला तर बैंकहरूले एभरग्रिनिङ गरेका छन् भन्ने होइन । असार मसान्तमा अधिकांश बैंकले रेगुलर व्यवसायकै रिकभरी राम्रो छ । ग्राहकहरूले पनि समयमै किस्ता तिरेका छन् ।

जोखिम बढेरै राष्ट्र बैंकले जोखिम व्यवस्थावापत छुट्याउनुपर्ने रकमको सीमा त बढायो नि ?
राष्ट्र बैंकले जोखिम व्यवस्था वापतको रकम बढाउनुको कारण वित्तीय स्थायित्वका लागि हो । कोभिडको तेस्रो वा चौथो लहर पनि आयो भने त्यसको प्रभावबाट वित्तीय क्षेत्रलाई जोगाउने पूर्वतयारी पनि हो । त्यो एक किसिमले सुरक्षात्मक उपाय हो । भोलि अवस्था खराब हुँदै गयो भने त्यो जोखिम व्यवस्थावापत छुट्याउनुपर्ने रकम दुई प्रतिशत पनि हुन सक्छ नि । यसले बैंकहरूको यो वर्षको प्रतिफलमा केही असर पर्ला । तर, समग्रमा कोभिडको थप प्रभावमा बैंकहरूलाई जोगाउन र वित्तीय स्थायित्व कायम गर्नका लागि राष्ट्र बैंकले सुरक्षात्मक कदम चालेको हो ।

केन्द्रीय बैंकको तथ्यांकमा त बैंकहरूको कर्जा सेयरलगायत अनुत्पादन क्षेत्रमा बढेको छ । यसले जोखिम बढाएको छैन र ?
पछिल्लो समय सेयर बजारमा पैसा गएकै हो । बजारमा अधिक तरलता भएपछि त्यो रकम सेयर बजारमा जानु स्वाभाविक पनि हो । यसबाहेक उत्पादनमूलक कम्पनी र थोक तथा खुद्रा व्यवसायमा पनि बढेकै छ । व्यवसाय बढेरै उद्योगीहरूले थप ऋण लिएका हुन् । आयात निर्यात वृद्धिको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । हाल व्यवसाय विस्तार गरेका कम्पनीले भोलि कोभिडको तेस्रो लहर थेग्न सकेनन् भनेमात्र बैंकहरूलाई समस्या हुने हो । अहिलेसम्म हेर्दा त्यो अवस्था देखिएको छैन ।

साना तथा मझौला व्यवसायमा लगानी बढिरहेको छ । यसको जोखिमलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
एक करोडभन्दा कमका ऋणीहरूमा दुईवटा कारणले जोखिम कम छन् । एकातिर सानो कर्जा भए पनि अधिकांश कर्जामा धितो भएकाले जोखिम कम छ । यसैगरी स–सानो व्यवसायमा लकडाउनको अवधिमा बिक्री घटे पनि लकडाउन खुलेलगत्तै विगतमा भन्दा बढी कारोबार भएकाले यी क्षेत्रहरू छिटो रिकभरी हुन्छन् ।

केन्द्रीय बैंकले शाखाको आधारमा सीमा तोकेकाले सहुलियत व्याजदरको कर्जा बढिरहेको छ । तर अझै पनि बैंकबाट सहज कर्जा नपाइएको गुनासो छ ?
सर्वसाधारणमा बैंकमा जानेबित्तिकै ऋण पाउछु, बैंकहरु पैसा बाँड्न बसेका छन् भन्ने बुझाइ छ । जसको कारण व्यावसायिक योजान बिना नै बैंकमा कर्जा माग्न जाँदा नपाएका सर्वसाधारणको संख्या धेरै भएको हो । अझै हामी सिकाइको चरणमा छौं । सुरु सुरुमा बैंकहरुमा पनि समस्या भयो । अहिले त ग्राहकहरु पनि सचेत हुन थालेका छन् । बैंकबाट स–सानो ऋण लिएर अनलाइनमा आधारित व्यवसाय गरिरहेका पनि पाइन्छ । सानो लगानीमै कम्पनी खोलेर फेसबुकमार्फत अनलाइन सामान बिक्री गर्ने, घरमा खाना पकाएर टिफिनमा अफिस–अफिसमा डेलिभरी गर्नेजस्ता व्यवसाय पनि सुरु भएका छन् । उनीहरूलाई बैंकहरुले ४–५ प्रतिशत व्याजदर कर्जा दिइरहेका पनि छन् ।

तर, निर्देशिकाविपरीत बैंकहरूले ग्राहकसँग धितो मागे भन्ने आरोप छ, सत्यता के हो ?
बैंकहरूले ऋणीको कुनै योजना चित्त बुझ्दो लागेन भने थप सुरक्षाका लागि धितो माग्ने हो । धितोबाहेक ऋणको इन्स्योरेन्स पनि गर्न सकिन्छ । बैंकहरु विनाधितो ऋण नै दिएनन् भन्ने आरोपमा सत्यता छैन ।

चालू आर्थिक वर्षमा पनि प्रमाणपत्र धितोमा २५ लाख कर्जा दिने घोषणा भएको छ । यस्ता कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिएला ?
सर्टिफिकेट राख्दैमा ऋण पाइन्छ भन्ने बुझाइ देखियो । तर, बैंकबाट ऋण लिनका लागि त सर्वप्रथम व्यावसायिक सोच आवश्यक हुन्छ । अनलाइनबाटै मःम बेच्छु भने पनि केही न केही योजना त हुनुपर्यो नि । तर केही नै योजना बिना सर्टिफिकेट मात्र बोकेर आउँदैमा बैंकले विश्वास त गर्दैन नि । बैकमा रहेका पैसा पनि सर्बसाधारणकै हो । यसको सुरक्षा गर्ने दायित्व पनि बैक कै हो । बजेटमा घोषणा भएपछि हामीलाई पनि फेसबुकमार्फत कहाँबाट कसरी ऋण पाइन्छ ? प्रमाणपत्र लिएर कहाँ आउने जस्ता जिज्ञाशा पनि आयो ।
यी योजनाहरू सकारात्मक छन् । आज स–सानो ऋण दिने माइक्रोफाइनान्सकोे प्रभाव पनि राम्रो छ । १० हजार ऋण लिएर पनि सर्वसाधारणले प्रगति गरेका छन् । मुख्य कुरा सानो ऋणमा सञ्चालन लागत बढी छ । यसलाई प्रभावकारी बनाउनका लागि अफ्रिकन मोडल जस्तै प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ कि भन्ने हो ।

कोरोनापछिको प्रविधिमा आधारित वित्तीय सेवामा सर्वसाधारणको आकर्षण बढेको छ । तर, केही वर्षअघि नै सुरु गरिएको ब्रान्चलेस बैंकिङ, ट्याब बैंकिङ त्यति प्रभावकारी हुन सकेको छैन । प्रविधिमा आधारित सेवा आम सर्वसाधारणको पहुँचमा पु-याउन के गर्नुपर्ला ?
प्रविधिमा आधारित वित्तीय सेवा प्रभावकारी बनाउनका लागि सबैभन्दा पहिला उपयुक्त टेक्नोलोजी अपनाउनुपर्छ । अफ्रिका जस्तो देशमा कृषि कर्जा लिनुप¥र्यो भने एकदमै सजिलो छ । जस्तो त्यहाँ कुनै किसानले बैंकबाट २ लाख ऋण लियो भने ५० हजार मात्र नगद पाउछ । बाँकी ऋण उसले मल बीउ खरिदलगायतका ठाउँमै सिधै कारोबार गर्ने हो । नगद नपाएपछि दुरुपयोग पनि रोकियो । तर हामी अहिले पाँच लाख ऋण स्वीकृत भयो भने सबै नगद नै दिन्छौं । यसले दुरुपयोगको सम्भावना उच्च छ । जोखिम पनि धेरै हुन्छ ।
हामीले ब्रान्चलेस र ट्याव बैंकिङमा जुन टेक्नोलोजी प्रयोग ग-यौं त्यो गलत भएकाले सफल नभएको हो । श्रीलंका, भियतनाम, फिलिपिन्समा एजेन्ट बैंकिङ चलिरहेकै छ । ट्याब बैंकिङले धेरै ब्यान्डविथ खाने भएकाले प्रभावकारी काम हुन सकेको छैन । प्रयोगकर्ता पनि सन्तुष्ट छैनन् ।

नेपाली बैंक अझै पनि परम्परागत बैंकिङमै रमाइरहेका छन् । हामीलाई यही सेवा सहज भएर हो या प्रविधिमा जोखिम देखेर परिवर्तन हुन नसकेको ?
अहिले मास्टर कार्ड, पीओएस मेसिनभन्दा मोबाइल टेक्नोलोजिमा आधारित सेवा सुरक्षित भरपर्दो र प्रयोगकर्तामैत्री छ । मुख्य गरी हामीले प्रविधिमा आधारित सेवा एक्सप्लोर गर्न नखोजेको मात्र हो । यस्ता सेवा प्रदायक संस्थाहरूको उपस्थिति अफ्रिकातिर बढी छ । मानवरहित प्रविधिमार्फत ऋण लगानी गर्न सकिने सेवा विकसित देशमा सर्वसुलभ भइसकेको छ ।
अहिले प्रविधिमा आधारित सेवाहरू सुरक्षित छन् । मोबाइलमा आधारित कारोबारबाट कोर बैंकिङमा छिरेर ह्याक गर्न सकिँदैन । यो सिस्टम परीक्षण भएर आएको हुन्छ । मोबाइलमा आधारित सिस्टममा ह्याक गर्ने हुने जोखिम एकदमै कम हुन्छ । यस्ता प्रविधिमा आधारित सेवालाई सर्वसुलभ बनाउनका लागि सुरुवाती चरणमा नियामक निकायले सहयोग र सहजिकरण गर्ने हो भने छिटो विस्तार गर्नका लागि सहज हुन्छ ।
यसैगरी अर्को पक्ष भनेको प्रविधिमा धेरै पैसा खर्च हुन्छ, लगानी बढी चाहिन्छ भन्ने हाम्रो सोचाइ छ । तर यसमा त्यति ठूलो लागत छैन । बरु उपयुक्त प्रविधि ल्याउन सकिएन भने त्यसको प्रतिफल आउँदैन । अहिले हामीले जति कुरा गरिरहेका छौं त्यो ८–१० करोड लगानीमै सम्भव छ ।

सिभिल बैंक डिजिटाइजेसनमा के काम गर्दैछ त ?
हामीले पछिल्लो २ वर्ष डिजिटाइजेसनमा नै फोकस ग-यौं । आन्तरिक सिस्टम डिजिटाइजेसनमा लाग्नुपर्छ भनेर काम ग¥यौं । यसमा हामी टप एक दुई बैंकमै पर्छाैं । यसको फाइदा हाम्रो कर्मचारीको खर्च अघिल्लो वर्षभन्दा घटेको छ तर, व्यवसायको वृद्धि भने ५० प्रतिशत छ । हिजो ५ जना जनशक्तिले गर्ने काम आज एक जनाले गर्छ । डिजिटाइजेसनमा हाम्रो जनशक्ति १५ जना छन् यसलाई अझै बढाउने प्रक्रिया पनि अघि बढेको छ । हाम्रो योजनाअनुसार काम अघि बढ्यो भने अहिलेकै जनशक्तिले योभन्दा दोब्बर व्यवसाय गर्न सक्छौं ।
ग्राहकका लागि प्रविधिमा आधारित केही नयाँ योजना ल्याउदैछौं । त्यो सेवा आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) मा आधारित हुनुपर्छ भनेर हामी लागिरहेका छौं । भर्चुअल बैंकिङ भनेको फ्युचुअर हो । अब वित्तीय सेवा दिनका लागि ब्रान्च नै पुग्नुपर्छ कर्मचारी नै राख्नुपर्छ भन्ने होइन ।

सुरक्षाका कुरा पनि आउला नि ?
मुख्य कुरा सिस्टम लिँदा विचार पु-याउनुपर्छ । कुनै सिस्टम लिँदा त्यो कत्तिको प्रभावकारी छ भनेर हेछौं । कार्डमा आधारित प्रविधिमा धेरै पाटी सहभागी हुने भएकाले बढी जोखिम छ । तर मोबाइलमार्फत हुने कारोबारमा विश्वव्यापी नै सुरक्षित छ ।

बैंकको गत आर्थिक वर्षको अवस्था कस्तो रह्यो ?
गत वर्ष निक्षेप र कर्जाको वृद्धिको हिसाबले एकदमै राम्रो गरेका छौं । जोखिमवापत थप रकम छुट्याउँदा नाफामा अलिकति प्रभाव पर्ला । तर, आगामी वर्ष लगानीकर्तालाई प्रतिफल राम्रो दिनसक्छौं । कर्मचारीको खर्च नबढाएर डिजिटाइजेसनमा खर्च गर्छाैं ।

बाणिज्य बैंकहरूको ‘बिग मर्जर’ को विषयले बजार तातेको छ । यसमा सिभिल बैंकको तयारी के छ ?
मर्जरमा हामी तत्काल केही पनि गरिरहेका छैनौं । यसो भन्दैमा हामी मर्जरका लागि ढोकै बन्द गरेर बसेका छौं भन्ने होइन । मुख्यगरी मर्जर भनेको विजनेस डिसिजन हो । यसबाट लगानीकर्तालाई फाइदा हुनुपर्छ । यसले विजनेसमा सिनर्जी ल्याउनुपर्छ । मर्जरमा जानका लागि उपयुक्त जोडी पनि हुनुपर्छ भन्ने हाम्रो धारणा छ । अहिले बजारमा यति र उतिवटा बाणिज्य बैंक हुनुपर्छ भनेर चर्चा चल्छ । ठूलो बैंक हुनु राम्रो हो । तर मर्जरका लागि मिल्दोजुल्दो पार्टनर पनि हुनुपर्छ । त्यसको लागी हामी तयार छौं ।

प्रतिक्रिया दिनुहोस्