खोप सहज रूपमा लगाई अर्थतन्त्र चलायमान बनाऊँ «

खोप सहज रूपमा लगाई अर्थतन्त्र चलायमान बनाऊँ

पछिल्लो समय नेपालमा खोप आउने क्रम बढिरहेको छ । नयाँ सरकारको गठनपछि सरकारले खोपलाई प्राथमिकता दिन विभिन्न विकास साझेदार तथा मित्रराष्ट्रहरूसँग अनुरोध गरेसँगै उनीहरूले सक्रियतापूर्वक सहयोग पनि गरिरहेका छन् । सम्भावित तेस्रो लहरका लागि तयार रहनुपर्ने बाध्यता तथा स्वास्थ्य पूर्वाधार एवं जनशक्तिको सहजीकरणमा सरकारले जति चुस्तताका साथ गर्न सक्छ, त्यति नै नागरिकको जीवन रक्षा गर्न सक्षम हुन्छ भने खोपको उपलब्धता तथा सबै नागरिकलाई खोप लगाउने कार्य जति छिटो गर्न सकिन्छ, खतरा त्यति टार्न सकिन्छ । सरकारले अन्य उपायहरू जतिसुकै अपनाए तापनि खोप लगाउने कार्य तदारुकताका साथ हुन नसके यसले जीवन तथा जीविका दुवै खतरामा पार्ने स्पष्ट भइसकेको छ । पहिलो लहर तथा दोस्रो लहरको अनुभवले पनि सरकार एवं निजी क्षेत्रले हातेमालो गर्दै खोप नेपालमा उपलब्ध गराउने कार्यमा ढिलाइ गर्नु हुँदैन भन्ने प्रमाणित भइसकेको छ । त्यसैले सरकारले निजी क्षेत्रलाई आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा रहने गरी आयात गर्न अनुमति दिएको छ । खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप आयात गर्न सरकारले अनुमति दिएको हो । खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइएको भए तापनि यसमा खोप ल्याउने तथा यसलाई भण्डारण गर्ने कार्य पनि सहज भने छैन । यसअघि पनि निजी क्षेत्रका केही कम्पनीलाई सरकारले खोप ल्याउन अनुमति दिएकै हो । तर, ती कम्पनीहरूले पनि खोप ल्याउन सकेनन् ।
वास्तवमा कोरोना वैश्विक महामारी भएका कारण पनि खोप खरिद तथा आपूर्ति अन्य वस्तु तथा सेवा खरिद वा आपूर्ति गरेझैं सहज छैन, हँुदैन । त्यसैले विकल्पका रूपमा कोभिड–१९ को विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई कोभिड–१९ विरुद्धको खोप समयमै उपलब्ध गराउन सरकारले निजी क्षेत्रलाई खरिद अनुमति दिएको हो । हालसम्म मित्रराष्ट्र भारत सरकारको अनुदानबाट प्राप्त १० लाख र नेपाली सेनालाई प्राप्त १ लाख भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा गाभी कोभ्याक्सबाट प्राप्त ३ लाख ४८ हजार डोज गरी कुल २४ लाख ४८ हजार कोभिसिल्ड खोप प्राप्त भइसकेको छ । यस्तै, मित्रराष्ट्र चीनबाट दुई पटक अनुदानमा प्राप्त १८ लाख डोज तथा सरकारबाट चीनको सिनोफार्म कम्पनीसँंग गरिएको खोप खरिदको सम्झौताअनुसार विभिन्न मितिमा प्राप्त ४० लाख डोज गरी कुल ५८ लाख डोज भेरोसेल खोप नेपाल आइसकेको छ । साथै, अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८ सय ५० डोजसहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । साथै, चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ भने कोभ्याक्स सुविधाअन्तर्गत जापानले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज र भारतबाट खरिदको बाँकी १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र कुल १ करोड ८३ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त हुने आकलन छ । तसर्थ अब सरकारले खोप लगाउने अभियान तीव्रताका साथ अगाडि बढाएर सकेसम्म सबै नागरिकलाई सहजतापूर्वक खोप लगाउनु आवश्यक छ । जब नेपालमा शतप्रतिशत खोप लगाइएको समाचार विश्वभर प्रचारित गर्न सकिन्छ, तबमात्र नेपालमा पर्यटक भिœयाउन सकिन्छ र विगत दुई वर्षदेखि ठप्प रहेको पर्यटन उद्योग तथा यसमा आधारित करिब ३ लाख रोजगारीको संरक्षण गर्न सकिन्छ । त्यतिमात्र होइन, अर्थतन्त्र चलायमान बनाएर मुलुकलाई विकसित तथा गतिशील पनि बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्