राजस्व संकलनको लक्ष्य पूरा «

राजस्व संकलनको लक्ष्य पूरा

सरकारले चालू आर्थिक वर्षको छ महिनामा ३ खर्ब ३४ अर्ब राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार आइतबार अर्थात पुसको अन्तिम दिनसम्म सरकारको लक्ष्यबमोजिम नै ३ खर्ब ३४ अर्ब राजस्व संकलन भएको छ । यससँगै सरकारले चालू आवको छ महिनाका लागि लिएको राजस्व संकलनको लक्ष्य पूरा भएको राजस्वसचिव शिशिर कुमार ढुंगानाले जानकारी दिए । उनका अनुसार अरु महिनाको तुलनामा लक्ष्यको ४० प्रतिशत राजस्व पुस महिनामा असुली हुने गरेको छ । “हामीले पुस मसान्तसम्म ३ खर्ब ३४ अर्ब राजस्व संकलनको लक्ष्य राखेका थियौं, त्यो राजस्व असुली आइतबारसम्म पूरा भएको छ,” उनले भने ।
सरकारले चालू आर्थिक वर्षमा ७ सय ३० अर्ब राजस्व असुलीको लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन पनि आधा वर्षसम्म ३ खर्ब ३४ अर्ब राजस्व असुली गर्ने लक्ष्य सरकारको थियो । लक्ष्यअनुसार नै राजस्व संकलन भएको सचिव ढुंगानाको भनाइ छ । सरकारले चालू आर्थिक वर्षमा लाग्ने अनुमानित करको विवरण र त्यसअनुसार लाग्ने आयकरको पहिलो किस्ता तिर्ने अन्तिम दिन नजिकिँदै जाँदा सार्वजनिक बिदाको दिनमा समेत बैंक खोलेर राजस्व असुली गरेको थियो । कर राजस्व संकलनका लागि महत्वपूर्ण महिनाका रूपमा पुसलाई लिइने गरिन्छ । गत आर्थिक वर्षको आयकर दाखिला गर्ने अन्तिम दिन पुस मसान्त भएकोले पनि सरकारले राजस्व असुलीलाई प्रभावकारी बनाउन र कर दाखिला गर्न सार्वजनिक सूचनामार्फत सूचिकृत गर्दै आएको थियो । यसले पनि कर उठाउन सहज भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्