बाढीसँगै बग्छ आयोजनाको ठूलो लगानी «

बाढीसँगै बग्छ आयोजनाको ठूलो लगानी

मेलम्ची खानेपानीको पर्खाइमा झन्डै दुई दशक बिताउनुप-यो काठमाडौं उपत्यकाबासीले । गत चैतमा धारामा मेलम्चीको पानी आउँदा उपभोक्ता खुसी थिए । तर, त्यो खुसी धेरै टिकेन ।
शनिबार आएको बाढीसँगै मेलम्ची खानेपानी आयोजना फेरि अनिश्चित बनेको छ । गत असार १ मा पनि मेलम्चीमा ठूलो बाढी आएको थियो । तर पनि मेलम्ची खानेपानी आयोजना ठूलो क्षति हुनबाट जोगियो । कारण– सोही दिन खानेपानीको सुरुङ खाली गराउन आयोजनाका गेट बन्द गरिएको थियो । विज्ञहरुको भनाइमा यदि गेट बन्द नभएको भए त्यो बाढीले सुरुङमा त ठूलो क्षति गथ्र्यो नै, काठमाडांैमा पनि क्षति हुन्थ्यो । गेट बन्द गरिएकाले अकल्पनीय क्षति हुन पाएन । तैपनि आयोजनामा करिब २ अर्बको क्षति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । “हाम्रा आयोजनाहरु विपद् प्रतिरोधी हुनुपर्छ भन्ने पाठ सिकाएको छ यो घटनाले । यदि त्यो दिन मेलम्चीको गेट बन्द नभएको भए धेरै नै क्षति पुग्न सक्थ्यो,” उनले भने, “छिट्टै नै याङ्ग्री र लार्के खानेपानी आयोजना निर्माणको काम सुरुवात गर्ने तयारीमा छौं । मेलम्चीको जस्तै बाढीले क्षति गर्न नसकोस् भन्ने उद्देश्यले डिजाइनमा पुनरावलोकन गर्दैछौं ।”
मेलम्ची खानेपानी विकास समितिका अनुसार असार १ को बाढीले आयोजनासम्म जान जोडिएको करिब ८ किलोमिटर सडक मर्मत पनि समितिले नै गर्ने छ । ३० मिटर फराकिलो नदी बाढी आएपछि ६० मिटरको बनेको आयोजनाले बताएको छ । भत्किएका ५ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाको दायित्व थपिएको छ । नदीको क्षेत्रफल दोब्बर भएपछि पुलको लम्बाइ पनि बढेसँगै लागत थपिने छ । सबै प्रक्रिया सम्पन्न गर्नका लागि आयोजनालाई थप २ अर्ब लाग्ने भएको हो ।
समितिका अनुसार शनिबारको बाढीले कति क्षति पुगेको छ, यकिन विवरण आउन बाँकी छ । “असार १ गते करिब २ अर्बको क्षति भएको अनुमान गरिएको छ, तर शनिबारको बाढीले थप क्षति गराएको छ,” समितिका प्रवक्ता राजेन्द्र पन्तले भने, “अहिले आयोजनासँग सम्पर्कविहीन छौं । असार १ को भन्दा ठूलो बाढी आएकाले धेरै क्षति भएको हुन सक्छ । अब मेलम्ची अनिश्चित बनेको छ ।”
उता, डडेलधुरामा मनसुन सुरुवात नहुँदै जेठ पहिलो साता आएको बाढीले पाँच करोड ५२ लाखमा ठेक्का पाएको निर्माणधिन पुल बगायो । गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुल बगाएको थियो ।
त्यसैगरी लमजुङको दोर्दी खोलामा आएको बाढी तथा पहिरोका कारण १२ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजनामा क्षति पुगेको विद्युत् विभागले गरेको अध्ययनले देखाएको छ । विभागका अनुसार २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा समेत क्षति पुगेको छ । सो नदी करिडोरमा निर्माण भइरहेका कूल चार आयोजनामा क्षति पुगेको विभागको अध्ययनमा देखिएको छ ।
यी आयोजनाहरु त केही उदाहरणमात्रै हुन् । मनसुनजन्य विपत्तिका कारण थुप्रै आयोजनाहरुमा क्षति पुगेको छ । आयोजनामा गरिएको ठूलो लगानी बाढीसँगै बगेको छ । कोभिडका कारण शिथिल बनेको मुलुकको अर्थतन्त्र जलवायुजन्य विपतले फेरि थप शिथिल बनाउँदै लगेको छ । विकाससँगै वातावरण सन्तुलन गर्न नसक्दा तथा प्रकृतिले निम्त्याउने विपद्को पूर्वतयारी, पूर्वसुचना र वातावरणमैत्री विकास निर्माणसहितको रणनीति अपनाउन नसक्दा यस्तो क्षति बढेको सरोकारवालाहरुको भनाइ छ ।
राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार मनसुन सुरुवात भएयता २५ जलविद्युत आयोजनामा बढी पहिरोले क्षति पुगेको, १९ पक्की पुल बगाएको र ७ वटा काठे पुल बगाएको छ । १ सय ५१ सडक खण्डमा क्षति पुगेकोमा अझै १३ वटा सडक खण्ड अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ ।
बाढी पहिरोका कारण क्षति पुगेका संरचना निर्माण गर्न साढे ४ अर्वभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको गृह मन्त्रालले बताएको छ । यसले विकासका आयोजनाहरुमा गरिएको लगानी असुरक्षित रहेको देखाउँछ ।
स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का पूर्व उपाध्यक्ष कुमार पाण्डेले निर्माणपूर्व जलाविद्युत् आयोजनाका अध्ययन भए पनि खोलाको प्रकृति पूर्वानुमान गर्न नसक्दा क्षति भइरहेको बताए । “निजी क्षेत्रका १३० जलविद्युत् आयोजना छन्, बाढीका कारण अधिकांश आयोजना जोखिममा छन्,” उनले भने, “राज्यको हिसाबले कुनै पनि जलवाविद्युत् निर्माणको मापदण्ड छैन, मापदण्ड ल्याउनुपर्छ । यसले पनि क्षति कम गर्न सक्छ,” उनी भन्छन् ।
विभिन्न विकास निर्माणका आयोजनाहरु बनाउँदा भविष्यमा आइपर्ने विपत र त्यसबाट हुने क्षति कम गर्ने गरी कसरी संरचना निर्माण गर्ने भन्ने पक्षमा ख्याल नहुँदा विपतका कारण बर्षेनी आयोजनाहरुमा अर्बौं क्षति हुने बताउँछन् विपत् व्यवस्थापन् विद् डा. धर्मराज उप्रेती । “क्षति कम गर्न पूर्वसूचना प्रणालीको विकास गर्नुपर्छ, यसले क्षतिको न्यूनिकरण हुन्छ, जोखिम कतिको अध्ययन गरेर त्यो अनुसार पूर्वतयारी गर्नुपर्छ, ” उनले भने ।
उप्रेतीका अनुसार कुनै पनि संरचना बनाउँदा सरकारले तोकेको निर्माणको मापदण्ड कार्यान्वयन हुनुपर्छ । “कतिपय मापदण्डमा विपतको कुरा समावेश नभएको हुन सक्छ, अब बन्ने संरचनामा विपतबाट कतिको असर गर्न सक्छ, कतिको सुरक्षित छ भनेर लेखाजोखा हुनुपर्छ,” उनले थपे, “नदी किनारमा नबनाउने, जलवायुको असरलाई समाना गर्ने गरी संरचना बनाउने हो भने क्षति कम हुन्छ, त्यसले देशलाई आर्थिक क्षति हुँदैन ।”
विकासविद् कमलराज उपाध्याय अहिले कुनै पनि संरचनाको योजना तयार गर्दा जलवायु परिवर्तनजन्य जोखिम मैत्री नहुँदा बाढीले क्षति पुगिरहेको बताउँछन् । “लगानी गर्दा यसको लाइफ साइकल हेरेर गर्नु उचित हुन्छ, लगानी मात्र हामी हेर्छौं तर लगानीको जोखिम हेरिनुपछ,” उनले भने, “योजनाको पूर्वतयारी राम्रो हुँदैन, अध्ययन हुन सकेको छैन, वातावरणप्रति इमान्दार हुनुपर्छ, जलवायु अनुकूलनलाई ख्याल गर्नुपर्छ ।”
पृथ्वीको औसत तापक्रम बढ्दै जाँदा जलवायु परिवर्तनको असर बढी देखिएको र बाढी पहिरो जस्ता मनसुनजन्य विपत्ति बढिरहेको बताउँछन् जलवायु परिवर्तनविद् मञ्जित ढकाल । “आगामी दिनमा जलवायु परिवर्तनको असर अझै बढ्न सक्ने सम्भावना छ, किनकी पृथ्वीको औषत तापक्रम बढिरहेको छ,” उनले भने, “भविष्यमा जलवायु परिवर्तनका कारण सिर्जना हुने मनसुनजन्य विपत्तिले अझै हाम्रा आयोजनाहरुमा गरिएका लगानीको जोखिम बढ्न सक्छ, यसैले विपतमैत्री बनाइयोस् ।”
मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७८ अनुसार १० वर्षको अवधिमा मुलुकभर बाढीबाट करिब १७ अर्बको वित्तीय क्षति पुगेको छ । मनसुनको समयमा आएको बाढीले २०६८ देखि गत जेठसम्मको अवधिमा भौतिक संरचना, सडक, पुल, घर, गोठ भत्काउँदा त्यसको अनुमानित क्षति १७ अर्ब नाघेको हो । १० वर्षमा देशभर १६ सय ३८ बाढीका घटना भए । यस अवधिमा ८०४ जनाले ज्यान गुमाएका छन् । ११ हजार २९४ संचरना क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्