धान उत्पादन हुने पकेट जिल्लामै कम रोपाइँ

मुलुकभर ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । साउन दोस्रो हप्तासम्म मुलुकभर ९४.६४ प्रतिशत भएको हो । गत वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको थियो । सबैभन्दा धेरै कर्णाली प्रदेशमा शतप्रतिशत अर्थात् ३८ हजार ३ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि विभागले जानकारी दिएको छ ।
सबैभन्दा कम भने १ नम्बर प्रदेशमा ९०.५६ प्रतिशत अर्थात् २७ लाख ५ हजार ९ सय १ हेक्टरमा धान रोपाइँ हुने क्षेत्रफल रहेकोमा अहिलेसम्म २ लाख ७५ हजार ९ सय १ हजार ८ सय ५४ हेक्टटर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विभागले जानकारी दिएको छ ।
यस्तै २ नम्बर प्रदेशमा ९२.३६ प्रतिशत अर्थात् ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफल रहेकोमा अहिलेसम्म ३ लाख ३७ हजार ६ सय ७० हेक्टरमा धान रोपाइँ भएको विभागले जानकारी दिएको छ ।
यस्तै बागमती प्रदेशमा ९६.५२ प्रतिशत अर्थात् १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफल रहेकोमा १ लाख ११ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यस्तै गण्डकी प्रदेशमा ९४.८५ प्रतिशत अर्थात् १ लाख ८ हजार २ सय ७८ हेक्टर क्षेत्रफल रहेकोमा अहिलेसम्म १ लाख २ हजार ६ सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशमा ९७ प्रतिशत अर्थात् ३ लाख ३ हजार ५ सय ९३ हेक्टर क्षेत्रफल रहेकोमा २ लाख ९५ हजार २ सय ४० हेक्टरमा धान रोपाइँ सकिएको विभागले जानकारी दिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत धान रोपाइँ सकिएको छ ।
कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेकोमा अहिलेसम्म १२ लाख ९८ हजार २ सय २६ हेक्टरमा धान रोपाइँ भएको छ । उच्च पहाडमा ९३.८२ प्रशित, मध्य पहाडमा ९३.०४ प्रतिशत र तराईमा ९५.२५ प्रतिशत धान रोपाइँ सकिएको छ ।