जडिबुटीे निकासी खुलाउन व्यवसायीको माग «

जडिबुटीे निकासी खुलाउन व्यवसायीको माग

नेपालगन्ज-जडिबुटी व्यवसायीहरूले भारत सरकारले एक्कासी ५४ प्रकारका विभिन्न जडिबुटीको निकासीमा लगाएको प्रतिबन्ध तत्काल खुलाउने पहल गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग माग गरेका छन् । नेपालगन्जमा भेला भएका जडिबुटी व्यवसायीले निकासीमा लगाइएको प्रतिबन्धका कारण ४ लाख टनभन्दा बढी जडिबुटी देशका विभिन्न ठाउँमा थन्किएको भन्दै अर्बौं लगानी डुब्ने अवस्थामा पुगेको गुनासो गरे ।
नेपाल जडिबुटी व्यवसायी संघको २० औं साधारणसभाको उद्घाटन गर्न आएका वन तथा वातावरणमन्त्रीलाई व्यवसायीले संघमार्फत ११ सुत्रीय मागपत्र पनि बुझाएको संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । जडिबुटीको निकासी, भण्डारण, प्रशोधन र संकलनमा लामो समयदेखि यस क्षेत्रका व्यवसायी र किसान दुबैले भोग्दै आएका समस्यालाई पटक–पटक सरकारका मन्त्रीहरूलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको गुनासो आफूले मन्त्रीसमक्ष गरेको जडिबुटी व्यवसायी संघका महासचिव टंकप्रसाद शर्माले बताए । “सरकारले जडिबुटी व्यवसायीका समस्यालाई गम्भीरतापूर्वक कहिले पनि लिएको देखिएन,” उनले भने, “तर अब यसरी चल्नेवाला छैन ।”
संघका पूर्वअध्यक्ष राजेश जैनले जडिबुटी भण्डारणका लागि ठाउँठाउँमा शीतभण्डार स्थापना, निकासीका लागि नाकामा सहज वातावरण र खेती र संरक्षणका लागि किसानलाई आवश्यक सहयोग गर्न सरकारसँग माग गरे ।
नेपाल जडिबुटी व्यवसायी संघको २० औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले सरकार व्यवसायीका समस्याप्रति गम्भीर रहेको बताए । उनले व्यवसायीले उठाएका माग निकै सान्दर्भिक रहेको भन्दै सरकारले निकासीका लागि निकासी गर्ने देशको सहमति लिन नपर्ने व्यवस्था गर्न लागेको जनाए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकारले व्यवसायीका समस्यालाई गम्भिरतापूर्वक नलिएर निजी क्षेत्रलाई बेवास्ता गर्दै आएको आरोप लगाए । आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्