ऋण प्रवाहलाई सरलीकृत बनाउन महिला उद्यमीहरूको जोड «

ऋण प्रवाहलाई सरलीकृत बनाउन महिला उद्यमीहरूको जोड


उद्यमशिलता विकासका लागि महिला उद्यमीहरूका लागि बैंकबाट हुने कर्जा प्रवाहलाई सहज बनाउनुपर्नेमा महिला उद्यमीहरूले जोड दिएका छन् ।
उद्योग संगठन मोरङले आयोजना गरेको अन्तरक्रियामा उनीहरूले बैंकसहित अन्य निकायबाट प्राप्त हुने सेवा सहज नभएको गुनासो पोखे । कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओलीले राज्यले उपलब्ध गराउने वित्तीय सुविधा लिन निकै गाह्रो परेको बताइन् । उनले महिलाहरूको उत्थानका लागि राज्यले वित्तीय सेवा सुविधा प्रदान गर्दै आए पनि उपभोग गर्न महिला जागरुकताको आवश्यकता रहेको उल्लेख गरिन् ।
रिजालले महिलाको सिर्जनशीलतालाई उद्यमशिलतामा परिवर्तन गरी आत्मनिर्भरतर्फ अग्रसर हुँदै आर्थिक विकासमा योगदान पु¥याउनुपर्नेमा जोड दिइन् । “पछिल्लो समय महिला उद्यमी थपिँदैछन्,” रिजालले भनिन्, “उनीहरूलाई उद्यममा टिकाइराख्न बैंक तथा वित्तीय संस्थाबाट हुने सेवा प्रवाहलाई सरलीकृत गरिनु आवश्यक छ ।” रिजालले राज्यले महिलाको उत्थानका लागि वित्तीय सेवा–सुविधाहरू प्रदान गर्दै आएको बताइन् । महिला उद्यम समितिकी सहसंयोजक जयश्री जाजुले महिला सशक्तीकरणका लागि महिलालाई उद्यमशिलतातर्फ अभिप्रेरित गरिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले महिला उद्यमीद्वारा सञ्चालित उद्योगको विकास एवं विस्तारका लागि बैंक तथा वित्तीय संस्थाहरूले सहुलियपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । प्रक्रियागत जटिलताका कारण तुलनात्मक रुपमा महिला उद्यमशीलताको संख्यामा बढोत्तरी नभएको बताउँदै उनले प्रक्रियालाई सहज गर्दै लैजानुपर्ने सुझाव दिए । उनले महिला उद्यमीका समस्या समाधानका लागि संगठनका तर्फबाट सहजीकरण गर्न तयार रहेको उल्लेख गरे ।
उद्यमशीलता विकासका लागि महिला उद्यमीलाई प्रवाह हुने कर्जा प्राप्तिमा सहयोग पु¥याउने उद्देश्यका साथ संगठनले पहल थालेको उनले बताए । बैंक तथा वित्तीय क्षेत्रमा महिला उद्यमीहरूका लागि उद्यमशीलता विकासका लागि व्यवस्था गरिएको सेवा तथा सुविधाका समबन्धमा नबिल बैंक लिमिटेड विराटनगरका शाखा प्रबन्धक गुरु रेग्मीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्