नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, प्रशासन मौन «

नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, प्रशासन मौन

मनहरी–८ स्थित दारिमबास बालुवा प्रशोधन उद्योग र उद्योग नजिकैको बगरबाट ढुंगा,गिटी बालुवा निकालेर बनाइएको खाल्डा । यस उद्योगले राक्सिराङ गाउँपालिका क्षेत्रबाट नदीजन्य पदार्थ चोरी गरी आफ्नो क्षेत्रमा थुपार्दै आइरहेको छ । तस्बिर : कारोबार


मकवानपुरका विभिन्न खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन छ । दिउँसो तथा रातिको समयमा खोलामा एक्जाभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।
मकवानपुरको मनहरी खोला, राप्तीखोला, कुखरेनी खोलालगायतका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ । हरेक वर्ष असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने व्यवस्था छ । अन्य समयमा पनि स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन् र निकासी गर्न पाइन्छ ।

तर, खोलामा प्रवेश नै गर्न नपाइने अवधिमा पनि रातको समयमा नदीजन्य पदार्थ उत्खनन् र चोरी हुँदा राजस्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खनन्ले चौतर्फी जोखिम बढाएको छ ।
मकवानपुरको राक्सिराङस्थित मनहरि खोलाबाट केही क्रसर उद्योग र व्यक्तिहरूले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि आफूहरू मुकदर्शक बन्नु परिरहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । नदीजन्य पदार्थ चोरी भएको विषयमा प्रहरी र प्रशासनलाई पटकपटक जानकारी गराउँदा पनि बेवास्ता भएको उनले गुनासो गरे ।

“हाम्रो क्षेत्रको ढुंगा, गिट्टी–बालुवा मनहरि क्षेत्रका बालुवा उद्योगले चोरी गरी आफ्नो क्षेत्रमा थुपारिरहेका छन् । हामीले यसबारे प्रहरीलाई जानकारी गराउँदा पनि उत्खनन् रोक्न कुनै चासो नै दिँदैन,” अध्यक्ष मल्लले भने, “प्रहरी प्रशासनकै पनि मिलेमतोमा यस्तो काम भएको हाम्रो आशंका छ, यसले गर्दा हाम्रो करोडौंको राजस्व गुमिरहेको छ ।”
मनहरि गाउँपालिका–८ स्थित दारमिबास बालुवा प्रशोधन उद्योगले राक्सिराङ क्षेत्रको बगरबाट रातको समयमा खोलाबाट गिटी, बालुवा उठाउने गरेको गाउँपालिकाले आरोप लगाएको छ । उक्त उद्योगले राक्सिराङ क्षेत्रको बगरबाट २ वटा ट्रिपर र एउटा एक्जाभेटर प्रयोग गरी रातको समयमा बालुवा निकालेर क्रसर अघि थुपार्ने गरेको गाउँपालिका अध्यक्ष मल्लले दाबी गरे ।
केही बालुवा उद्योगहरूले अवैध उत्खनन् गरिरहेको पाइएपछि पटकपटक प्रहरीलाई जानकारी गराएता पनि प्रहरीले बेवास्ता गरेको गाउँपालिकाका राजस्व शाखाका अधिकृत चुननारायण श्रेष्ठले बताए । बालुवा तथा क्रसर उद्योगहरूले हरेक वर्षको असार मसान्तभित्र आफ्नो उद्योगमा रहेको स्टक सामग्री र वर्षभरको बिक्री विवरण सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्ने प्रावधान छ तर, राक्सिराङभित्रका बालुवा तथा क्रसर उद्योगहरूले भने बिक्री विवरण बुझाएता पनि स्टक विवरण भने नबुझाएको गाउँपालिकाका राजस्व शाखाका अधिकृत श्रेष्ठले बताए ।

“गाउँपालिकाभित्रका क्रसर उद्योगबाट त हामी सामग्री निकासी गर्नेबेला जसरी पनि राजस्व उठाइहाल्छौं । मनहरि क्षेत्रको क्रसरले हाम्रो क्षेत्रको सामग्री चोरेर लैजाँदा भने हाम्रो राजस्व गुमिरहेको छ,” अधिकृत श्रेष्ठले भने ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्लाका विभिन्न क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी भइरहेकोबारे आफूहरू जानकार रहेको बताउँदै त्यसलाई रोक्ने प्रयास गरे तापनि सफल हुन नसकिएको बताए । आफूहरू अनुगमनमा निस्किँदा नदीजन्य सामग्री चोरी भइरहेको पाउने गरेको र प्रहरी लगाएर पक्रने र जरिवाना तिराउने काम पनि भइरहेको उनले बताए । “हामीले चोरी रोक्ने धेरै प्रयास गरिरहेका छौं, तै पनि चोरी निकासी रोक्न सकिएको छैन, यसको पछाडि विविध समस्या छ । स्थानीय तह, प्रहरी सबै यसलाई रोक्न जिम्मेवार भएर लाग्नुपर्छ,” जिल्ला समन्वय समिति प्रमुख खुलालले भने ।

प्रतिक्रिया दिनुहोस्