गलत प्रवृत्तिविरुद्ध सतिसालझैं उभिनुस् : नेपाल «

गलत प्रवृत्तिविरुद्ध सतिसालझैं उभिनुस् : नेपाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र परिवर्तनको खम्बाका रूपमा स्थापित विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा सतिसालझै उभिन निर्देशन दिएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा शनिबार आयोजित अखिल फोर्स बृहत् भेलामा उनले अहङ्कारले मानिसलाई पतन गराउने भएकाले निरंकुश र स्वेच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए ।
वरिष्ठ नेता नेपालले भने, “राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको देशभक्त नेपाली विद्यार्थी अखिलबाट पुर्खाको सम्मान र इतिहासप्रति गौरव होस्, सङ्गठनको ओजलाई थप उचाइमा पु-याउनुस्, सही विचार माक्र्सवाद हो, यसको अध्ययन गर्नुस् ।” लोकतान्त्रिक आन्दोलनको प्रभावलाई ठिक बाटोमा ल्याउने काममा सर्वोच्च अदालतबाट भएको निर्णयप्रति सम्मान व्यक्त गर्दै उनले प्रतिनिधिसभाका सदस्यहरूले संविधान र लोकतन्त्रको रक्षा गर्न खेलेको भूमिकाले आगामी दिनमा जालझेल र षड्यन्त्र गरेर प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गर्न नसक्ने धारणा व्यक्त गरे ।
सुसंस्कृत, सभ्य र मूल्य मान्यतामा आधारित समाज निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सुझाव दिँदै उनले लामो समयदेखि गलत बाटोमा गइरहेको कम्युनिष्ट आन्दोलनमा सही दिशामा हिँडाउन आवश्यक रहेको धारणा व्यक्त गरे । पूर्वप्रधानमन्त्री नेपालले दार्चुलामा भएको घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरी अनुसन्धानको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्