देश विकासको आधार : प्राविधिक शिक्षाको विकास र विस्तार «

देश विकासको आधार : प्राविधिक शिक्षाको विकास र विस्तार

देश विकासको प्रमुख आधार प्राविधिक शिक्षाको विकास र विस्तार हो । प्राविधिक शिक्षाले ‘सीप हातमा, रोजगारी साथमा’ भन्ने मान्यतालाई स्थापित गर्छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने समग्र शिक्षा नीतिले मात्रै बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सक्ने वास्तविकता हो । हाम्रो शिक्षा गरिखानेभन्दा पनि ठगी र मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको नजिक पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारीका लागि भौंतारिने भन्दा पनि रोजगार सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षा जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले स्वरोजगारका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्छ, तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृत्तिको कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ । विद्यालय शिक्षा पार गरेका युवाहरूको भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ । साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिका कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि वरदान सावित हुन सक्छ । अहिले पनि झन्डै ४५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा रहेका युवाहरूले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा अपरिहार्य भैसकेको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताका लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरूको आय आर्जनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । रोजगारीका लागि भौंतारिनेभन्दा पनि रोजगारी दिन सक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको शिक्षा नीति हुनुपर्छ ।
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको समग्र विकास र विस्तार एवम् विभिन्न सरोकार निकायसँग सहकार्य, सहजीकरण र समन्वय गर्ने उद्देश्यका साथ वि.सं. २०४५ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना भएको थियो । प्राविधिक तालिमसम्बन्धी नीति, नियम, पाठ्यक्रम निर्माण, व्यवस्थापन र नियमनको प्रमुख जिम्मेवारी पाएको आधिकारिक निकायका रूपमा परिषद्ले भूमिका निर्वाह गर्दै आएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सञ्चालनका लागि यस परिषद्अन्तर्गत आंगिक ६१, साझेदारी ३८, सामुदायिक ५ सय ७२ र विद्यालयमा प्राविधिक शिक्षा गरी जम्मा १ हजार १ सय ४० शिक्षालयहरू सञ्चालनमा छन् ।
सिटिइभिटीअन्तर्गतका ३ सय ३१ संस्थाहरूबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले डिप्लोमा कोर्स अध्ययन गर्न पाउने सुविधा प्रदान गरेको छ । त्यस्तै २ सय ८० सम्बन्धन प्राप्त निजी संस्थाहरूले पनि विभिन्न प्राविधिक कोर्सहरू सञ्चालन गरिए तापनि पर्याप्त देखिएको छैन । हाम्रो जस्तो भौगोलिक विकटता र सामाजिक–आर्थिक विविधता एवं विषमता भएको देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँचको सुनिश्चितताका लागि सरकारले विशेष ध्यान दिन विलम्ब भइसकेको छ । विगत वर्षहरूमा साधारण शिक्षामा मात्र जोड दिँदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा चित्रित भएका थिए । तर, पछि विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकूल सकारात्मक नीति राज्यले लिएको पाइन्छ ।
प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) बाट करिब ५ लाख परीक्षार्थी उत्तीर्ण भएका हुन्छन् । उनीहरूलाई भविष्यको शैक्षिक यात्राका लागि मुख्यतया प्राविधिक र साधारण शिक्षामध्ये छनोट गर्नुपर्ने हुन्छ । धेरै लगानी गरेर लामो समयसम्म अध्ययन–अनुसन्धान तहसम्मका लागि साधारण शिक्षा रोज्नु स्वाभाविकै हो । आफ्नो योग्यता, क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र परेका उदाहरण बग्रेल्ती पाइन्छन् । हाम्रो जस्तो विकासोन्मुख देशमा मध्यमस्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्छ । एसईई पार गरेका परीक्षार्थीका लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ । एसईई परीक्षा उत्तीर्ण टीएसई र डिप्लोमा गरी करिब ४५ हजारभन्दा बढीले सिटिइभिटीअन्तर्गत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्थामार्फत प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ । हालसम्म परिषद्बाट डिप्लोमा तथा प्रमाणपत्र तहमा ८४ हजार ९ सय ६३ र प्री डिप्लोमा तहमा २ लाख ३० हजार ५६ जनशक्ति उत्पादन भएको देखिन्छ । यीमध्ये ७५ प्रतिशतले स्वदेश तथा विदेशमा रोजगारी प्राप्त गरेको परिषद्को दाबी छ ।
परिषद्को कार्यलाई अझ व्यापक र नतिजामूलक बनाउन समयानुकूल ऐन–नियममा परिमार्जन, सरोकार मन्त्रालयबीच समन्वय, दक्ष जनशक्तिको नियुक्ति, चुस्त व्यवस्यापन र भविष्यदर्शी नेतृत्वको चयन, नवीनतम अभ्यासका लागि तालिम अध्ययन भ्रमणमा निरन्तरता, प्रोत्साहन, पुरस्कार र दण्डको पारदर्शी व्यवस्था अपरिहार्य देखिन्छ । प्रिषद्को नीति र विषयवस्तु विश्व श्रमबजार सहजै खपत हुने जनशक्ति उत्पादनप्रति लक्षित हुनुपर्छ ।
दिन–प्रतिदिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि बिदेसिनु देशका लागि कदापि शुभसंकेत होइन । रोजगारीका लागि नेपाली युवाहरू भौंतारिँदै कस्तूरीले आफूमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौंतारिएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिचकिचाउँदै हजारांै, लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुल खेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कातर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल, तरकारी र अन्य सामान बेच्न सहर–बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर, गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुग्लान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावैअभावबाट छट्पटिई निराश भई विरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले बिदेसिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।
शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाईन्छ । गुणस्तर प्राप्ताङ्कका आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसका कारणबाट आमाबुबाको अर्थ नबुझ्ने तर ड्याडममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने, गाईभैंसीको जानकारी नराख्ने, कृषिमा हलो, फाली, करुवा दाँते आदिको बारेमा जानकारी नहुने, सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने-गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्कभन्दा पनि उसले देखाउने बानी–व्यवहार, चालचलन, चरित्रका आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।
हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि १ सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कातर्फ विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू, जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यसकारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक पौरिख शिक्षा आजको आवश्यकता हो, जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्छ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्छ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्छ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्य–मान्यता, संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्