म्युचुअल फन्डलाई फलिफाप आर्थिक वर्ष «

न्याभसँगै मूल्य तलमाथि भइरहने हुँदा जोखिम व्यवस्थापनकै लागिसमेत छुटमा कारोबार गरिन्छ, उल्लेख्य प्रिमियम तिरिन्न ।

म्युचुअल फन्डलाई फलिफाप आर्थिक वर्ष

आर्थिक वर्ष २०७७-७८ मा धितोपत्र बजार पुँजीकरण १२३.७० र इन्डेक्स १११.६५ प्रतिशतले बढ्दै गर्दा धितोपत्रको मूल्य र नयाँ धितोपत्र निष्कासनसँगसँगै सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को आकर्षण, सक्रियता, मुनाफा र खुद सम्पत्ति (नेट एसेट्स भ्यालु–न्याभ) पनि उल्लेख्य बढे । वर्षौं घाटाका फन्ड नाफामा गएर उल्लेख्य लाभांश क्षमता बनाए । म्युचुअल फन्ड भनेपछि नाक खुम्च्याउने लगानीकर्ता र कारोबारी न्याभ, मूल्य र लाभांशमा चासो राख्दै छलफल र लगानीमा तम्सिए । वैकल्पिक कारोबारयोग्य धितोपत्रमा लिन थालिए । निष्कासित एकाइ नबिक्दा कोषको आकार नै खुम्च्याउने बाध्यता उल्टेर एनआईसी–३० र आरबीबीएमएफ–१ ले थप २५ प्रतिशत एकाइ बेचे । न्याभबाट छुटमा किनबेच हुने प्रिमियममा पुगे । म्युचुअल फन्ड र एकाइधनीलाई २०७७-७८ फलिफाप साबित ।

असार मसान्तको अवस्था
आव २०७७-७८ मा नेपाल धितोपत्र बोर्डले २ खुलामुखी र ७ बन्दमुखीसहित ९ म्युचुअल फन्डलाई ९.४० अर्ब रुपैयाँको ९४ करोड एकाइ बिक्रीको स्वीकृति दिएकोमा ७ बन्दमुखी योजनाले ८७ करोड एकाइबाट ८.७ अर्ब रुपैयाँको कोष संकलन गरे । हाल १३ योजना व्यवस्थापक (फन्ड म्यानेजर) ले २४ बन्दमुखी र ३ खुलामुखी योजना (फन्ड) सञ्चालन गर्दै छन् । बन्दमुखी २४ योजनाले मात्रै २५.८० करोड एकाइमार्फत २५.८० अर्ब रुपैयाँ संकलन गरे । २३ योजनाको बैंक मौज्दातमा १०.१९ अर्ब र धितोपत्रमा २७.४४ अर्ब रुपैयाँ हाराहारी लगानी रहेको तथा ती धितोपत्रको लागत १९.८२ अर्ब रुपैयाँ उल्लेख छ । एनआईसी–३० र आरबीबीएमएफ–१ सूचीकृत भई कारोबारमा आउन बाँकी छ । बन्दमुखी २४ योजनाको अवस्था तालिकामा दिइएको छ ।

आय, न्याभ र लाभांश
सञ्चालित २३ फन्डले २०७७-७८ मा १३.०९ अर्ब रुपैयाँ हाराहारी कुल आय गरे । यस अवधिमा २० फन्डले नाफा कमाउँदा नयाँ एनआईबीएलएसएफ–२, एनआईसी–३० र पीएसएफ थोरै घाटामा देखिए । फन्डहरूले औसतमा ५५.७२ प्रतिशत र प्रतिएकाइ ५५ पैसादेखि ११.६२ रुपैयाँ कुल आय गरे । प्राप्त भइसकेको आयको आधारमा फन्डले ०.६४ देखि १०४.७७ प्रतिशत गरी औसतमा ३२.७४ प्रतिशत अर्थात् प्रतिएकाइ ६ पैसादेखि १०.४८ रुपैयाँ कमाए । यस्तै, २३ फन्डले असार मसान्तमा ९.९४ देखि २२.६३ रुपैयाँसहित औसतमा १५.७८ रुपैयाँ न्याभ कायम गरे । इन्डेक्स १११.६५ ले बढ्दा जीआईएमइएस–१ को न्याभ सबैभन्दा बढी ११७.३९ प्रतिशत र सीएमएफ–१ कोे ३१.०८ प्रतिशतमात्र बढ्यो । कुल आयतर्फ सबैभन्दा बढी जीआईएमईएस–१ को ११६.२२, एसएईएफको १०२.७८ र एसएफएमएफको ८९.३२ प्रतिशत हुँदा न्याभमा पनि जीआईएमइएस–१ को २२.६३, एसएईएफको २०.९६ र एसएफएमएफको १९.२१ रुपैयाँमा रहेर अग्रता कायम गरे । बजार मूल्यमा पनि यिनै अगाडि रहे । नयाँबाट लाभांश अपेक्षा नगरे पनि प्राप्त आयबाटै पुरानाले २० देखि १ सय प्रतिशतको लाभांश क्षमता देखाए । हालसम्म एलयूकेबाट २५, एलईएमएफबाट ३५, एनआईबीएलपीएफबाट ५० र एनआईबीएसएफ–१ बाट ३५, एनआईसीबीएफबाट ३० र एनआईसीजीएफबाट ३० प्रतिशत लाभांश घोषणा भए ।
खुलामुखीतर्फ एनआईबीएल सहभागिता फन्डले रु. १७.४५ न्याभ कायम गर्र्दा ५० प्रतिशत तथा एनआईसी एसिया डाइनामिक डेब्थ फन्डको न्याभ रु. ११.२६ पुग्दा १० प्रतिशत लाभांश घोषणा ग¥यो । यी फन्ड न्याभमा योजना व्यवस्थापकमार्फत कारोबार र लाभांश पुनःलगानी गर्न सकिन्छ ।

अन्योल र सोचनीय
१. न्याभ र मूल्य प्रभाव : लाभांशसँगै मूल्य समायोजन नहुने, न्याभ नघट्ने र उच्च लाभांशसँगै उच्च मूल्यजस्ता गलत सूचना प्रवाहले अन्योल बनाइए । वास्तवमा कम्पनीको लाभांश वितरणपछि नेटवर्थ प्रभावित भएजस्तै म्युचुअल फन्डमा लाभांश वितरणसँगै न्याभमा प्रभाव पर्छ । मूल्य समायोजन हुने वा नहुने बुकक्लोज हुँदा कायम अन्तिम कारोबार मूल्य अर्थात् बुकक्लोज अगाडिको अन्तिम कारोबार मूल्य र लाभांशमा निर्भर हुन्छ । लाभांश बुकक्लोजको अघिल्लो अन्तिम कारोबार मूल्यको १० प्रतिशतभन्दा बढी भए बजार सञ्चालकबाटै समायोजित मूल्य जारी गरिन्छ । जस्तै, एलयूकेबाट घोषित २५ प्रतिशत लाभांश (रु २.५ प्रतिएकाइ) बुकक्लोज अगाडिको अन्तिम मूल्य रु. १५.१२ को १० प्रतिशतभन्दा बढी (१६.५३ प्रतिशत) हुँदा समायोजित मूल्य रु. १२.६२ हुने नेप्सेले जनायो । अन्तिम कारोबार मूल्यबाट प्रतिएकाइ लाभांश रकम घटाएर समायोजित मूल्य तोकिन्छ । यहाँ अन्तिम कारोबार मूल्य रु. २६ वा लाभांश १४ प्रतिशत मात्र भएको भए एलयूकेको औपचारिक मूल्य समायोजन हुँदैनथ्यो, तर घटेको न्याभका आधारमा किन्ने–बेच्नेले अनौपचारिक मूल्य समायोजन गर्छन् । न्याभसँगै मूल्य हिँड्ने फन्डको लाभांश वितरणसँगै मूल्य र न्याभ घट्नेमा चनाखो हुनैपर्छ । सेयरमा जस्तो घोषित लाभांशकै आधारमा उच्च प्रिमियम मूल्य तिर्नु घातक हुनसक्छ ।

. लगानी, लागत र वितरणयोग्य आय : फन्डले संकलन गरेको रकम सामान्यतः सूचीकृत भएको वा नभएका धितोपत्र, डिबेन्चर र मुद्दती निक्षेपमा लगानी वा सामान्य बैंक मौज्दातमा राख्छन् । मासिक विवरणमा मुद्दती रकमलाई योजना व्यवस्थापकको स्वेच्छामा धितोपत्र लगानीमा समावेश गर्दै वा अन्तै देखाउने मात्र होइन, टिप्पणीमा उल्लेख गरिने धितोपत्रको वास्तविक लागतमा समेत मुद्दती रकमलाई जोड्ने वा नजोड्ने गरिँदा प्रस्तुत लगानी र लागत अन्योलपूर्ण छन् । अर्कातर्फ, लगानीको आधारमा ब्याज, लाभांश र पुँजीगत लाभलाई प्राप्त भइसकेको र नभएको आयमा स्पष्ट उल्लेख नगरी कसैले एकमुस्ट र कसैले केही मिसाएर विवरण पस्किँदा वितरणयोग्य आय वा लाभांश क्षमता अन्योलपूर्ण हुनेछ ।

३. लगानी तथा कारोबार : सार्वजनिक निष्कासन हुँदा र बजारबाट सहजै म्युचुअल फन्डका एकाइ किनबेच गर्न सकिन्छ । हाल बजारमा उपलब्ध म्युचुअल फन्डमध्ये कारोबारमा नआएका आरबीबीएमएफ–१ र एनआईसी सेलेक्ट–३० बाहेक अरूको २०७८ साउन १४ गते १०.५८ देखि २३.३० रुपैयाँमा किनबेच भएको देखिन्छ । विगतमा अंकित मूल्य रु. १० मुनि कारोबार हुने फन्ड हाल मासिक न्याभबाट ८ प्रतिशतसम्मको छुटदेखि ११ प्रतिशतको प्रिमियममा किनबेचमा छन् । म्युचुअल फन्डले धारण गरेका धितोपत्र, दैनिक कारोबार र ती धितोपत्रको मूल्यगत उतारचढावसँगै न्याभ र न्याभसँगै मूल्य पनि तलमाथि भइरहने हुँदा जोखिम व्यवस्थापनकै लागिसमेत सामान्यतः फन्डका एकाइ १०–१५ प्रतिशत छुटमा कारोबार गरिन्छ । सेयरमा जस्तो प्रिमियम तिरिन्न । न्याभ, मूल्य, धारित (होल्ड) धितोपत्र र तिनको मूल्य, प्राप्त भइसकेको र नभएको आय, लाभांश क्षमता हेर्नुपर्छ । नयाँ फन्डको एकाइ आईपीओमा किन्दै गर्दा बजारमा छुटमा उपलब्ध फन्डप्रति चनाखो हुनुपर्छ ।
४. बढ्दो फन्ड र विकल्प : चालू आवमा एनआईबीएसएफ–१ अवधि सकिएर बन्द हुँदै छ । धितोपत्र बजारमा मूल्यगत सुधारसँगै बढेको न्याभबाट उत्साहित योजना व्यवस्थापकहरू थप ७ बन्दमुखी र ३ खुलामुखी निष्कासन गर्न सेबोनको स्वीकृतिको पर्खाइमा छन् । बढ्दो फन्डसँगै आरक्षित धितोपत्रको हिस्सा घटे पनि बजारमा माग र आपूर्ति सन्तुलनको लाभ र लगानीका थप विकल्प हुन सक्छन् । विद्यमान कार्यसम्पादन र विगतले पूरै आशावादी हुने अवस्था भने छैन । अहिले पनि इन्डेक्सको तुलना केहीको मात्र आय र न्याभ सन्तोषजनक छ भने घट्दो (बियरिस) बजारमा न्याभ नै २०–३० प्रतिशत घटेको तीतो अनुभव पनि छ ।

५. अन्य ध्यान दिनुपर्ने : प्रचलित कानुनले प्रारम्भिक निष्कासित धितोपत्रमा योजना व्यवस्थापकहरूलाई ५ प्रतिशत आरक्षणसँगै उद्देश्यअनुरूप आर्जित रकममा कर छुट पाउँछन्, जसको केही लाभ एकाइधनीले पनि पाउँछन् । लाभांश वा पुँजीगत लाभका लागि लगानी तथा कारोबार गर्दैगर्दा मूलत न्याभ, मूल्य र प्राप्त भइसकेको आयलाई निर्णयको आधार बनाउँदै गर्दा (क) योजना व्यवस्थापकले सञ्चालन गरिरहेका योजनाहरू; (ख) विगतको कार्यसम्पादन, न्याभ र लाभांश; (ग) लाभांश वितरणपछिको सम्भावित न्याभ र समायोजित मूल्य; (घ) धारित धितोपत्र, मुद्दती निक्षेप र बैंक मौज्दातको अवस्था र (ङ) बजारको अवस्था समेतलाई ध्यान दिनुपर्छ । अन्यथा, कैयौं वर्षमा एकपटक उच्च लाभांश भए पनि औसतमा न्यून प्रतिफल पाइने अनि लाभांशकै लोभमा उच्च मूल्यमा एकाइ किन्दा मूल्य र न्याभ घटेर नोक्सानी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्