निजी क्षेत्रलाई खोप आयात अनुमति «

निजी क्षेत्रलाई खोप आयात अनुमति

सरकारले खोपलाई प्राथमिकता दिन निजी क्षेत्रलाई आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा रहने गरी आयात गर्न अनुमति दिएको छ ।
खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप आयात गर्न अनुमति दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइएको हो । यस सम्बन्धमा कुन कुन निजी कम्पनीले कति मात्राको खोप आयात गर्न अनुमति दिइयो भन्नेबारे जानकारी दिइएको छैन ।
कोभिड–१९ को विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई कोभिड–१९ विरुद्धको खोप समयमै उपलब्ध गराउन सरकारले विकल्पको रूपमा निजी क्षेत्रलाई खरिद अनुमति दिएको जनाएको छ । हालसम्म मित्रराष्ट्र भारत सरकारको अनुदानबाट प्राप्त १० लाख र नेपाली सेनालाई प्राप्त एक लाख भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा गाभी कोभ्याक्सबाट प्राप्त तीन लाख ४८ हजार डोज गरी कुल २४ लाख ४८ हजार कोभिसिल्ड खोप प्राप्त भएको उनले जनाए ।
यसैगरी मित्रराष्ट्र चीनबाट दुई पटक अनुदानमा प्राप्त १८ लाख डोज तथा नेपाल सरकारबाट मित्रराष्ट्र चीनको सिनोफार्म कम्पनीसँंग गरिएको खोप खरिदको सम्झौताअनुसार यही २४ असार तथा ७, ८, १० र १५ साउनमा प्राप्त ४० लाख डोज गरी कुल ५८ लाख डोज भेरोसेल खोप आपूर्ति भएको मन्त्रालयले जनाएको छ । मित्रराष्ट्र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन (जेएन्डजे) १५ लाख ३४ हजार ८५० डोजसहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।
थप खोपको सन्दर्भमा मित्रराष्ट्र चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । साथै कोभ्याक्स सुविधाबाट मित्रराष्ट्र जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज र भारतबाट खरिदको बाँकी १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र कुल एक करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने आकलन गरी कोभिङ–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने सरकारले जनाएको छ । यसैगरी कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्ष माथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रूपमा कार्य अगाडि बढिरहेको सरकारी भनाइ छ । गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने उक करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीहरूकोपहुँच मा पुग्ने सरकारी अनुमान छ ।

सम्भावित तेस्रो लहरका लागि तयारी सुरु
उपचारात्मक सेवा विस्तारका लागि हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) बेड देशभरका सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा रहेको र १ हजार ४०० थप गर्ने प्रक्रिया सरकारले अघि बढेको छ ।
भेन्टिलेटरको संख्या ९०४ पु-याइएको छ भने १८० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहितको २५० आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जनाइएको छ । अक्सिजन आपूर्ति सुदृढ गर्नका लागि सरकारले सघन कार्यमार्फत पाँच हजार पाँच सय अक्सिजन कन्सट्रेटर ल्याइसकेको र थप ३ हजार पाँच सय आउने क्रममा रहेको छ । त्यसैगरी ६ हजार ३७७ अक्सिजन सिलिण्डर थप गरिएको छ । यसका अतिरिक्त १९ वटा अक्सिजन प्लाण्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजनाअन्तर्गत २ वटाको कार्य सम्पन्न भइसकेको, ४ वटाको प्रकृया सुरू भएको र १० वटाको सूचना प्रकाशित गरिएको अवस्था छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्यकर्मीहरूलाई तालिमको व्यवस्थापन पनि गरिराखेको अवस्था छ ।

आइतबारदेखि भेरोसेल खोप
गते प्रसूति गृह अस्पताल, थापाथली र काठमाडौँ मेडिकल कलेज, सिनमंगल, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शिक्षण अस्पताल, महाराजगन्ज, राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु गरी ६ स्थानमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरूका लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । साथै महानगरपालिकाका ३२ वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरूमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम यथावत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्