मालपोत कार्यालय लमजुङमा १० करोड बढी राजस्व «

मालपोत कार्यालय लमजुङमा १० करोड बढी राजस्व


लमजुङको मालपोत कार्यालयमा अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा आव ०७७/७८ मा झण्डै ६ करोड बढी राजस्व संकलन भएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा मात्रै १० करोड ३४ लाख १८ हजार ४६ रुपैया राजश्व संकलन भएको मालपोत कार्यालय लमजुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने चार करोड ६९ लाख ९२ हजार दुइसय १४ रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले गरेको लकडाउनका कारण मालपोत कार्यालयको सेवा प्रवाह प्रभावित हुँदा सो आर्थिक वर्षमा राजस्व संकलनमा निकै गिरावट आएको थियो ।
मालपोत कार्यलयका अनुसार आर्थिक वर्षको २०७७/०७८ को साउनदेखि असार मसान्तसम्ममा विभिन्न शीर्षकमा भएको कारोबार तथा सेवा शुुल्कमार्फत राजस्व संकलन भएको हो । जसमध्ये घरजग्गा लिखत रजिष्ट्रेसन शुल्क मात्र ६ करोड २५ लाख ७३ हजार एक सय ५८ रुपैयाँ संकलन भएको छ ।
एक वर्षको अवधिमा विभिन्न स्थानीय तहबाट आएका घरजग्गासम्बन्धी कारोवारबाट उक्त राजस्व रकम संकलन भएको मालपोत कार्यालय लमजुङका प्रमूख इश्वर कमल श्रेष्ठले बताए । सेवा शुल्कअन्तर्गत पुर्जा, धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्क लगायतवाट एक करोड ७७ लाख २७ हजार पाँचसय ९५ रुपैँया राजश्व संकलन भएको कार्यालय प्रमूख श्रेष्ठको भनाइ छ । त्यस्तै गत आर्थिक वर्षमा दुई करोड ३१ लाख १७ हजार दुईसय ९३ रुपैया पुँजीगत राजस्व संकलन गरेको मालपोत कार्यालय लमजुङले जनाएको छ ।
जिल्ला मालपोत कार्यालय लमजुङमा जम्मा भएको राजस्व रकममध्ये पुँजीगत लाभकर संघिय सरकारमा पठाउने प्रावधान छ । सो बाहेक पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्व शुल्क लगायतको शीर्षकको राजस्व रकम प्रदेश सरकारमा जाने भएपनि यो वर्ष प्राविधिक समस्याका कारण संघ सरकारमै पठाइएको कार्यालयले जनाएको छ । यद्यपी उक्त रकम संघिय सरकारमा पठाएपनि संघमार्फत पुनः प्रदेश सरकारमा आउने कार्यालय प्रमूख श्रेष्ठले बताए ।
यसैगरी रजिष्ट्रेसन शुल्क अन्तर्गतको राजश्व रकममध्ये कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । उक्त शीर्षकअन्तर्गत संकलन भएको राजश्व रकम ६ करोड २५ लाख ७३ हजार एकसय ५८ रुपैयाँको ४० प्रतिशत रकम दुई करोड १७ लाख, ९७ हजार पाँच सय २८ रुपैयाँ प्रदेश लेखा नियन्त्रक कार्यालयमा पठाइएको कार्यालयले जनाएको छ ।
सो बाहेक बाँकी ६० प्रतिशत रकम स्थानीय सरकारमा पठाउने प्रावधान बमोजिम सम्वन्धीत स्थानिय तहका सेवाग्राहिको आधारमा जिल्लाका आठवटै स्थानिय तहमा पठाईएको कार्यालयले जनाएको छ । मालपोत कार्यालयबाट स्थानिय तहमा गएको राजस्व रकममध्ये सबैभन्दा धेरै बेंसीसहर नगरपालिकाले एक करोड ६९ लाख १६ हजार तिनसय ३७ रुपैया ४० पैसा पाएको छ ।
सो बाहेक सुन्दरबजार नगरपालिकाले एक करोड १५ लाख ५५ हजार दुईसय ६९ रुपैया ४० पैसा पाएको छ भने मध्यनेपाल नगरपालिकाले ५५ लाख, ६४ हजार ६सय ४१ रुपैयाँ पाएको छ । यसैगरी राइनास नगरपालिकाले ४३ लाख ५७ हजार नौसय ७३ रुपैयाँ ८० पैसा पाएको छ । जिल्लाको मस्र्याङदी गाउँपालिकाले पनि आठ लाख ७० हजार पाँचसय ६६ रुपैयाँ र दोर्दी गाउँपालिकाले ११ लाख, २९ हजार ६ सय ६७ रुपैया ४० पैसा पाएको छ ।
यसैगरी क्होलासोँथार गाउँपालिकाले दुईलाख ११ हजार तिनसय ३३ रुपैयाँ २० पैसा पाएको छ भन जिल्लामा सवैभन्दा थोरै दूधपोखरी गाउँपालिकाले एकलाख ३२ हजार आठसय ६६ रुपैया ४० पैसा पाएको मालपोत कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्