लमजुङका स्थानीय तहमा ७८ प्रतिशत मात्रै बजेट निकासा «

लमजुङका स्थानीय तहमा ७८ प्रतिशत मात्रै बजेट निकासा


गत आर्थिक वर्षमा लमजुङका स्थानीय तहहरुका लागि करिव ७८ प्रतिशत मात्रै बजेट निकासा भएको पाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि जिल्लाका आठ वटै स्थानीय तहमा कुल ७७.८३ प्रतिशत मात्रै बजेट निकासा भएको हो ।
जिल्लाका स्थानीय तहका लागि चालुतर्फको ८१.५२ प्रतिशत र पुँजीगततर्फको ७०.३२ प्रतिशत रकम निकासा भइसकेको कोलेनिका प्रमुख भगवान उप्रेतीले बताए । कोलेनिकाको तथ्यांकअनुसार जिल्लाका आठवटा स्थानीय तहमध्ये प्रतिशतमा सबैभन्दा धेरै मस्र्याङदी गाउँपालिकाको बजेट निकासा भएको छ ।
मस्र्याङदी गाउँपालिकाका लागि कुल बजेटको ८४.७३ प्रतिशत खर्च रकम निकासा भएको कार्यालयले जनाएको छ । जसमध्ये ८८.४० चालु तर्फको रहेको छ भने पुँजीगततर्फको ७८.१० प्रतिशत रहेको छ ।यसैगरी जिल्लाको मध्यनेपाल नगरपालिकाका लागि पनि ८४.२० प्रतिशत रकम खर्च निकासा भएको छ । मध्यनेपालका लागि ८६.९१ प्रतिशत चालु तर्फको निकासा भएको छ भने पुँजीगततर्फको ७८.२३ प्रतिशत रकम निकासा भएको छ ।
त्यस्तै जिल्लाका बेसीशहर नगरपालिकाका लागि चालुतर्फको ८०.५४ र पुँजीगततर्फको ८२.१६ प्रतिशत गरी जम्मा ८१.९ प्रतिशत खर्च निकासा भएको छ । जिल्लाको क्होलासोँथार गाउँपालिकाका लागि पनि चालुतर्फको ७९.८६ प्रतिशत र पुँजीगततर्फको ७७.०१ प्रतिशत गरी कुल ७९.०३ प्रतिशत रकम रकम निकासा भएको कोलेनिकाले जनाएको छ ।
त्यस्तै राईनास नगरापलिकाका लागि चालुतर्फको ८२.८४ प्रतिशत र पुँजीगततर्फको ६४.४५ गरी कुल बजेटको ७६.०१ प्रतिशत रकम निकासा भएको छ । दोर्दी गाउँपालिकाका लागि निकासा भएको कुल ७५.८९ प्रतिशत रकममध्ये चालुतर्फको ८८.१३ प्रतिशत र ७८.१० प्रतिशत पुँजीगततर्फको रहेको छ ।
त्यसैगरी सुन्दरबजार नगरापालिकाका लागि निकासा भएको ७२.९९ प्रतिशत कुल रकममध्ये ७३.८५ रकम चालुतर्फको रहेको छ भने ६९.०६ प्रतिशत रकम पुँजीगततर्फको रहेको छ । जिल्लामा प्रतिशतको आधारमा सबैभन्दा थोरै रकम निकासा दूधपोखरी गाउँपालिकाका लागि ६५.६६ प्रतिशत रहेको छ । जसमध्ये ७१.१८ प्रतिशत चालुतर्फको र ५७.८० प्रतिशत निकासा भएको रकम पुँजीगततर्फको रहेको कोलेनिका लमजुङले जनाएको छ ।
कोलेनिकाको तथ्यांकअनुसार वित्तीय हस्तान्तरण तर्फमात्रै बेसीशहर नगरपालिकाले ९०.४४ प्रतिशत रकम निकासा गरीसकेको छ । यस्तै मध्यनेपाल नगरपालिकाले ९४.५७, सुन्दरबजार नगरपालिकाले ९२.८८, राईनास नगरपालिकाले ९१.६९ प्रतिशत रकम निकासा भइसकेको छ । यसैगरी गाउँपालिकातर्फ दोर्दीले ७७.६१, दूधपोखरीले ७५.६९, मस्र्याङदी गाउँपालिकाले ९१.७४ र क्होलासोँथार गाउँपालिकाले ८४.५२ प्रतिशत रकम निकासा गरिसकेका छन् ।
यसैगरी स्थानीय तहका लागि प्रदेश वित्तीय हस्तान्तरण रकममध्ये नगरपालिकातर्फ बेसीशहरले ८५.१४, मध्यनेपालले ८०.८६, सुन्दरबजारले ८१.५३ र राईनासले ८१.४४ प्रतिशत रकम निकासा गरेका छन् । यसैगरी गाउँपालिकातर्फ दोर्दीले ८४.८४ प्रतिशत, दूधपोखरीले ८५.०६, मस्र्याङदीले ६९.०६ र क्होलासोँथार गाउँपालिकाले ८०.२९ प्रतिशत रकम निकासा गरेका छन् ।
जिल्लामा प्राय गरेर निकासा भएको अधिकाशं बजेट पनि आर्थिक वर्षको अत्यमा मात्र खर्च हुने गरेको छ । आर्थिक वर्षको अन्त्यसँगै कामको चटारो हुने समयमै अघिल्लो वर्षदेखि कोभिड–१९ ले पारेको संक्रमणकालिन समयले जिल्लाका विकास निर्माणका काम प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्