पहिरोले क्षतिग्रस्त मनाङको चामे–तिमाङ सडक सुचारु «

पहिरोले क्षतिग्रस्त मनाङको चामे–तिमाङ सडक सुचारु


हिमाली जिल्ला मनाङको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीले थुनिएको मोटरेबल पुल खोलिएको छ । चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने मोटरेबल पुल खोलिएसँगै माथिल्लो मनाङतर्फका लागि सहज हुने भएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै एक्जाभेटरको प्रयोगबाट थुनिएको मोटरेबल पुल खोलिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदीलाई पहिलाकै धारमा बगाउने गरी पुल मुनिबाट खोलिएको प्रजिअ लामिछानेले बताए ।
गत असारको पहिलो साता आएको वर्षासँगै नदीमा आएको बाढीले चामे मोटरेबल पुल थुनिएको थियो । मोटरेबल पुल थुनिएसँगै नदीको बहाबले चामेस्थित लोकप्रिय मावि र सँगै रहेको झोलुँगे पुलमा पनि क्षति पु¥याएको थियो । झण्डै डेढ महिना थुनिएको मोटरेबल पुल खोल्नका निम्ती सशस्त्र प्रहरीको पर्वतीय उद्धार शिक्षालयको टोलीसमेत खटिएको थियो ।
मोटरेबल पुल थुनिएसँगै करिब ९० प्रतिशत पानी पुलको दायाँ बायाँ भागबाट बगेकोमा अहिले सबै पानी पुल मुनिबाट बग्न थालेको मनाङ प्रशासनले जनाएको छ । पुलमाथिबाट बगेको नदी अहिले पुलमुनिबाट बग्न थालेपछि सहजरूपमा आवतजावत गर्नसक्ने अवस्था भएको मनाङका प्रजिअ लामिछानेको भनाइ छ ।
मोटरेबल पुल खुलेसँगै बाढी र पहिरोले क्षतिग्रस्त सडकको चामे तिमाङ खण्ड पनि सुचारु भएको छ । अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरो र मस्र्याङ्दी नदीमा आएको बाढीका कारण लमजुङ–मनाङ सडक खण्डमध्ये मनाङको सदरमुकाम चामेदेखि तिमाङसम्म मात्रै यातायात सुचारु भएको हो ।
अवरुद्ध सडकमध्ये बुधबारमात्रै मनाङको कोतोमा पहिरो पन्छाएपछि सडक सुचारु भएको मनाङ प्रशासनले जनाएको छ । त्यसअघि क्षतिग्रस्त सडक खण्डको स्यार्कु खोलामा अस्थायी मोटरेबल पुल राखिएको र थानचोक खोलामा ग्याबिन पर्खाल लगाएर सवारीसाधन गुड्न मिल्ने बनाइएको प्रजिअ लामिछानेले जानकारी दिए । सडक पुनर्निर्माणसँगै चामे गाउँपालिकाअन्तर्गत तिमाङ गाउँदेखि सदरमुकाम चामेसम्म पुग्नका निम्ती सहज भएको छ ।
केही दिन अघिमात्रै नेपाली सेनाको प्राविधिक टोलीले बाढी र पहिरोले क्षतिग्रस्त लमजुङ–मनाङ सडकको स्थलगत निरीक्षण गरेको छ । बेसीसहर–चामे सडक ट्रयाक खोलेको नेपाली सेनाका तत्कालीन कमाण्डर इन्जिनियर इन्दिवर गुरुङसहितको टोलीले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्