पोखराका दुई ठूला सामुदायिक अस्पतालमा फेरि कोरोनाका बिरामी भरिए
पोखराका दुईवटा सामुदायिक अस्पतालमा पुनः कोरोनाका बिरामी भरिएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश र संघीय सरकारद्वारा सञ्चालनमा रहेका दुईवटा अस्पतालमा कोरोनाका बिरामी भरिएको अस्पतालहरूले जनाएका छन् ।
प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा–३० मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ४६ जना कोरोनका बिरामी छन् भने संघीय सरकारको मातहातमा रहेको प्रदेशकै ठूलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा हाल ७३ जना कोरोनाका बिरामीहरू भर्ना भएको अस्पताल स्रोतले जनाएको छ ।
विगत सातादेखि पोखरामा कोरोना संक्रमण दर ह्वात्तै बढ्दै गएको प्रतिष्ठानअन्तर्गत कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालले बताए । करिब ८० बेड क्षमता रहेको अस्पतालमा हाल करिब २० जना गम्भीर प्रकारका कोरोनाका बिरामीहरू भएको उनले बताए । पछिल्लो समयमा बजारमा केही सहज भएसँगै कोरोनाको स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमण फैलिएको फोकल पर्सन डा.बरालले जनाए । अस्पतालमा हाल नियमित ओपीडीका बिरामी दैनिकजसो करिब ५ सय जनाको समेत रेखदेख हुँदै आएको उनले जनाए ।
कास्कीसहित प्रदेशका ११ जिल्लाको साथमा छिमेकी जिल्लाबाट समेत पोखरामा कोरोनाका बिरामी आउन थालेकोले बिरामीलाई व्यवस्थापन गर्न पुनः कठिन हुन थालेको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल पोखराका प्रमुख डा. विकास गौचनले बताए । उनले भने, “स्रोत भर्ना संघीय सरकारले समयमै नपठाएका कारण हामीले पाउनुपर्ने करिब ४ करोड २८ लाख रुपैयाँ अझै प्राप्त गर्न सकेका छैनौं ।” ४ करोड ९२ लाखको श्रोत भर्ना भए पनि हालसम्म ६४ लाख १३ हजार रुपैयाँ प्राप्त भएको प्रमुख डा. गौचनले जनाए । कोरोनाका बिरामी बढेका वेला मासिक करिब ९ लाख मूल्य बराबरको अक्सिजन ग्यास खपत हुने उनले गुनासो गरे । विद्युत, पानी, इन्टरनेटलगायतका सेवा नियमित हुनुपर्ने गौचनले बताए ।
उनका अनुसार पछिल्ला दिनमा प्रदेशमा दैनिकजसो कोरोनाले गर्दा ८÷९ जनाको मृत्यु भएको छ । बुधबार प्रदेशमा कोरोनाले ८ जनाको मृत्यु भएको थियो भने बिहीबार ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कास्कीमा १ सय ६८ जनासहित प्रदेशका अन्य जिल्लामा गरी ४ सय २७ जनामा कोरोना शंक्रमण देखा परेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोनाबाट १ हजार ८३ जना कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म ६६ हजार ७ सय १६ जना कोरोना संक्रमण देखा परेको छ । कास्कीमा हालसम्म ४ सय ५६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।