मनकला हत्यामा संलग्न दुई जना सार्वजनिक

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलनको आयोजना गरी प्रारम्भिक अनुसन्धानबाट दुई जना संलग्न भएको देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताएको छ ।
घटनामा संलग्न भनिएका दुई जना नै नावालक भएका कारण उनीहरूको फोटो तथा नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए । घटनामा संलग्न ११ र १५ वर्षीय दुई बालक मृतक मनकलाकै आफन्त तथा एकै घरका दाजुभाइसमेत हुन् । मनकलाको हत्या गरी मकै बारीमा फालेर उनको नाक, कानमा भएका सुनका गरगहना समेत लिइएको थियो । प्रहरीका अनुसार पक्राउ परेका दुई बालकको घरबाट मनकलाका सुनका गरगहना र हत्यामा प्रयोग भएका हसिया लगाएका दशी बरामद गरिएको प्रहरीको भनाइ छ ।
मनकलाको बलात्कार पछि हत्या भएको हुनसक्ने प्रचार भएपनि प्रारम्भिक अनुसन्धानबाट त्यस्तो नदेखिएको र थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।