उकालो लाग्दै नेपालको व्यापारघाटा «

उकालो लाग्दै नेपालको व्यापारघाटा

कोरोना महामारीले विगत दुई वर्षदेखि नेपालको अर्थतन्त्रलाई तहसनहस बनाएको छ । कोरोनाकै कारण अर्थतन्त्र सुस्त भएकाले अघिल्लो वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुग्यो । यही असर चालू आर्थिक वर्षमा पनि कायमै छ । यही वर्ष कोभिडको दोस्रो लहरले गत वर्षको पहिलो लहरले भन्दा धेरै व्यक्तिलाई संक्रमित बनाएको छ । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि उकालो लागेको छ । कोभिडको दोस्रो लहर पहिलो लहरभन्दा बढी घातक र संक्रामक देखिएकाले सरकारले वैशाख १६ गतेदेखि देशव्यापी निषेधाज्ञा जारी गरेको थियो । कोरोनाको दोस्रो लहरका कारण अहिले लाखौं सर्वसाधारणले आयआर्जन गुमाएका छन् । त्यसैले उपभोक्ताको क्रयशक्ति घटेको छ । उपभोक्ताको क्रयशक्ति घटेका बेला नेपालको व्यापारघाटा भने बढेको छ ।
गत आर्थिक वर्षको तुलनामा यो वर्ष नेपालको व्यापारघाटा साढे २ खर्ब रुपैयाँले बढेको भन्सार विभागले सार्वजनिक गरेको एक तथ्यांकले जनाएको छ । अघिल्लो वर्षको जेठसम्मको आयात–निर्यातको तथ्यांकको तुलनामा चालू आर्थिक वर्षको जेठसम्ममा व्यापारघाटा २ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँले बढेको देखिएको छ । अर्थात्, यस वर्ष गत वर्षभन्दा व्यापारघाटा २४.६१ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार अघिल्लो जेठसम्म मुलुकको व्यापारघाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ थियो भने यस वर्ष १२ खर्ब ६१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यही जेठसम्ममा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँको वस्तु तथा सेवा विदेशबाट आयात गरेको छ भने यही अवधिमा नेपालबाट १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँबराबरका वस्तु तथा सेवा निर्यात भएको छ ।
गत वर्षभन्दा यस वर्ष आयात २५.६७ प्रतिशतले बढेको छ । विगतको तुलनामा यस वर्ष निर्यात करिब १२ प्रतिशतले वृद्धि हुँदा पनि आयातको परिमाण धेरै भएकाले मुलुकलाई फाइदा पुग्न सकेन ।
यस वर्ष नेपालको व्यापारघाटा हुनुको कारण आयात मात्र बढेर होइन, वैदेशिक व्यापारको परिमाण नै बढेको कारणले गर्दा हो । गत वर्ष ११ महिनासम्ममा नेपालको वैदेशिक व्यापारको आकार ११ खर्ब ८८ अर्ब थियो भने यस वर्ष बढेर १५ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । अर्थात्, गत वर्षभन्दा यस वर्ष वैदेशिक व्यापारको परिमाण २६.५६ प्रतिशतले बढेको छ । हाल विश्वका करिब १ सय ६० मुलुकसँग नेपालको व्यापार चलिरहेको छ । त्यसमध्ये मुस्किलले दुई दर्जन मुलुकसँगको व्यापार मात्र नाफामा छ भने अरू सबै मुलुकसँगको व्यापार घाटामा छ । नेपालको कुल वैदेशिक व्यापारमा दुई छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा ठूलो हिस्सा छ । आयात–निर्यातको हिस्सा र व्यापारघाटा सबै यिनै मुलुकसँग बढी छ । यस वर्ष छिमेकी मुलुक भारतसँग ७ खर्ब ९६ अर्ब रुपैयाँ व्यापारघाटा पुगेको छ भने चीनसँग २ खर्ब ९ अर्ब ५७ करोड रुपैयाँ व्यापारघाटा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्