अर्बभन्दा बढी राजस्व बुझाउने करदाता बढे «

अर्बभन्दा बढी राजस्व बुझाउने करदाता बढे

आर्थिक वर्ष २०७७-०७८ मा एक अर्ब वा सोभन्दा बढी राजस्व बुझाउने करदाताको संख्या थपिएको छ । विगत दुई वर्षमा कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण अर्थतन्त्रमा ठूलो धक्का लागे पनि करको रुपमा ठूलो रकम तिर्नेको संख्या थपिएको हो ।
यस्तै, आर्थिक वर्ष २०७६-७७ मा एक अर्ब वा सोभन्दा बढी कर तिर्नेहरुको संख्या ५१ रहेकोमा गत आर्थिक वर्षमा सो संख्या बढेर ५६ पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ । आन्तरिक राजस्व विभागको विगत ४ वर्षको तथ्यांकका अनुसार करदाताको संख्या पनि थपिएको छ । आर्थिक वर्ष २०७४-७५ मा ४० जना करदाताले अर्ब वा सो भन्दा बढीको कर बुझाएकोमा आर्थिक वर्ष २०७५-७६ मा सो संख्या वृद्धि भएर ५९ पुगेको थियो ।
त्यस्तै विगत ४ वर्षमा १ करोड वा सो भन्दा बढी कर तिर्ने करदाताको संख्या पनि ह्वात्तै बढेको देखिन्छ । आर्थिक वर्ष ०७४-७५ मा १ हजार ६ सय ४५ जनाले १ करोड भन्दा बढीको कर बुझाएका थिए भने आर्थिक वर्ष ०७५-७६ मा आइपुग्दा सो संख्या बढेर २ हजार ३४ पुग्यो । तर, कोरोनाको पहिलो लहरको समय अर्थात आर्थिक वर्ष २०७६-७७ मा समेत एक करोड वा सो भन्दा बढीको कर बुझाउने करदाताको संख्या २ सय ६ जनाले बढेर २ हजार २ सय ४० पुगेको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सुरुवाती महिनामा पनि कोरोनाको असर देखिएको थियो । सो असर कोरोनाको दोस्रो लहर आउँदा पनि देखियो । पुनः वैशाखबाट देशका विभिन्न ठाउँमा निशेधाज्ञा गरियो । तर पनि १ करोड वा सो भन्दा बढी कर बुझउने करदाताको संख्या बढेको छ । गत आर्थिक वर्षमा सो संख्या ४ सय ३० जनाले बढेर २ हजार ६ सय ७० पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
यसरी ठूला करदाताहरुको संख्या बढ्नुको पहिलो कारण मुद्रास्फीति रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे बताउँछन् । ‘पहिलो कुरा त पैसाको मूल्य नै घटेको छ,’ उनी भन्छन्, ‘त्यसकारण पहिला ८०-९० लाख तिर्ने करदाताले पछिल्लो समय १ करोडभन्दा माथि तिर्न थाले । त्यसले पनि संख्या बढाएको हो ।’
महामारीको समयमा पनि नेपालीले दृढ प्रतिज्ञाका साथ काम गर्ने रहेछन् भन्ने कुरा देखाएको उनको तर्क छ । ‘काम गर्ने वातावरण थिएन, त्यस्तो समयमा पनि निकै मेहनत गरेछन् भन्न सकिन्छ,’ उनी भन्छन् । त्यस्तै करदाताहरुले राज्यको दायित्व वोध गर्र्दै कर नछली तिरेका कारण पनि संख्या बढेको पाण्डे बताउँछन् । ‘राज्य संकटमा छ भन्ने कुराको बोध सबैलाई भयो,’ उनी भन्छन्, ‘जसका कारणले कसैले पनि करछली गरेन । त्यसैले करदाताको संख्या बढ्नुलाई सकारात्मक रुपमा हेर्नुपर्छ ।’
अर्थविद् एवं त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख प्राडा. शिवराज अधिकारी पनि ठूला करदाताको संख्या बढ्नुले अर्थतन्त्रमा कोरोनाले असर गरेन भन्न नमिल्ने बताउँछन् । हाम्रो अर्थतन्त्रमा काम गर्ने शैली परिवर्तन भएका कारण करदाताको संख्या बढेको उनको तर्क छ । ‘पहिला हामी सामान्य उद्योग धन्दा संचालन गथ्र्यौं, आफैं उत्पादन गथ्र्यौं, आफैँ बेच्थ्यौँ । तर, अहिले सफ्टवेयरतिर मोडियौँ । क्रियाकलापहरु अब घरबाट पनि हुन सक्ने भए ।’ व्यावसायिक क्षेत्रमा युवा वर्गको आगमनले पनि प्रभाव पारेको उनको तर्क छ ।
त्यस्तै औद्योगिक क्षेत्र भन्दा सेवा क्षेत्रमा वृद्धि हुनुले पनि पछिल्लो समय ठूला करदाताको संख्या बढाएको अधिकारी बताउँछन् । ‘जीडीपीमा पनि सेवा क्षेत्रले ५०÷५५ प्रतिशत योगदान गर्छ,’ उनी भन्छन्, ‘सेवा क्षेत्र बढ्दै गएकाले पनि यस्तो भएको हो ।’
अनौपचारिक क्षेत्रबाट गरिएका आर्थिक क्रियाकलापहरु प्रशासनले औपचारिक रुपमा गर्न बाध्य पारेका कारण धेरै कर तिर्नेहरुको संख्या बढेको अर्थशास्त्री प्राडा रेशम थापा बताउँछन् । ‘कर भन्ने कुरा सकेसम्म संसारभर नै छल्ने चलन छ,’ उनी भन्छन्, ‘तर, महामारीको समयमा प्रशासनको संरचना फेरीयो । त्यस्तो अवस्थामा अनौपचारिक रुपमा भएका आर्थिक क्रियाकलापहरु औपचारिक रुपमा हुन थाले।’

प्रतिक्रिया दिनुहोस्