धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयको स्पष्टीकरण «

धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयको स्पष्टीकरण


अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई स्पष्टीकरण सोधेको छ । बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बुक बिल्डिङमार्फत साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सार्वजनिक भएसँगै मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बिहीबार बोर्डलाई पठाएको पत्रमा विभिन्न सञ्चारमाध्यममा बोर्डसँग सम्बन्धित समाचार प्रकाशन भएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै यसबारे स्पष्ट पार्न निर्देशन दिएको हो । ‘सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशानुसार अनुरोध गरिएको छ,’ शाखा अधिकृत श्याम प्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ ।
अध्यक्ष ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता सेयर रहेको हिमाल खबरमा पत्रकार रमेश कुमारले सार्वजनिक गरेका थिए । यस्तै, नेप्सेका महाप्रवन्धक साउदले पनि श्रीमतीको नाममा पनि सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर खरिद गरेको सर्वोत्तम सिमेन्टले कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएको विवरणमा उल्लेख छ ।
बोर्ड सदस्यको आचारसंहितामा बोर्डका अध्यक्ष र सदस्यहरुले अनुमतिप्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन नहुने उल्लेख छ । ढुंगानाले भने विवाह गरेकी छोरीले सेयर किनेको र यसमा आफ्नो कुनै स्वार्थ नरहेको दावी गरेका छन् तर साउदसंग भने सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्