इजरायलमा एक हजारको रोजगारीका लागि नौ हजारको नाम दर्ता «

इजरायलमा एक हजारको रोजगारीका लागि नौ हजारको नाम दर्ता

सरकारी तवरबाट इजरायलका लागि रोजगारी खुला भएको दुई दिनमा ९ हजारभन्दा बढी युवाले नाम दर्ता गराएका छन् । अनलाइनमार्फत नाम दर्ता गराएका मध्ये दुई दिनमा ६२२ जनाले आवेदन नै दिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले संक्रमण बढ्ने सम्भावना देखिए पनि त्यसभन्दा अगाडि नै छनोट हुने सबैलाई पठाउने गरी काम भइरहेको बताए । विभागले अनलाइनमार्पmत नै आवेदन दिने व्यवस्था गरे पनि जानकारी लिन दैनिक सयौं युवा विभागमा आउने गरेका छन् ।
महानिर्देशक दवाडीका अनुसार एक पटक भन्दा बढी आवेदनपछि विभाग आउनु नपर्ने गरी सबै काम अनलाइन माध्यमबाट नै गर्ने गरी प्रणाली विकास गरिएको छ । तर छनोट भएका परीक्षार्थी भने काठमाडौं आएर नै लिखित परीक्षा दिनु पर्नेछ । विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले आवेदन प्राप्त भएको आधारमा स्वास्थ्य मापदण्ड पूरा हुने गरी परीक्षाको तयारी गरिने बताए । आवेदकको भिडभाड नहुने गरी अन्य प्रक्रिया गरिनेबारे थप छलफल गर्ने विभागको तयारी छ । शैक्षिक योग्यता र अनिवार्य तालिमको प्रावधान रहेका कारण आवेदन दिने युवा संख्या उल्लेख्य नहुने देखिएको छ ।
प्लस टु पास गरेर केयर गिभरको तालिम लिएका र कक्षा १० पास गरेर अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेका युवाले आवेदन दिन पाउने मापदण्ड रहेको छ । यसैगरी अंग्रेजी भाषाको बुझाइ र बोलाइको पनि निश्चित अंकभार रहेका कारण कक्षा १० वा प्लस टु पास भएको आधारमा भने इजरायलको लागि आवेदन दिन योग्य हुने छैन । यसअघि इजरायलले दुई सय नेपाली लैजाने गरी मागपत्र पठाएपनि ६० भन्दा बढी नेपाली जान सकेका थिएन । इजरायलले यस नेपाली श्रमिक माग गर्दा राखेका योग्यता र सिपलाई हालको मागपत्रमा केही खुकुलो पारिएको विभागको भनाइ छ ।
दुई लाखको हाराहारीमा तलब रहेको इजरायलले यसअघि नेपालबाट दुई हजार लैजाने तयारी अन्तर्गत हाल पहिलो चरणमा एक हजार नेपालीलाई रोजगारी दिने गरी मागपत्र पठाएको छ । विभागले इजरायलको रोजगारी सुचारु गर्न पहिलो चरणमा श्रम सम्झौता गरेर पछि प्रोटोकल बनाई त्यसको अध्ययनपछि छनोट कार्यविधि बनाएर प्रक्रिया सुरु गरेका इजरायलबाट थप नेपालीको माग आउने अनुमान गरेको छ ।
लामो समयपछि सरकारी तवर (जिटुजी) मार्फत नेपालीलाई रोजगारी जाने वातारण बनेका कारण इजरायल पक्ष पनि सकारात्मक रहेको छ । इजरायलले नेपाललाई गत वर्षको फागुनमा नै नेपाली श्रमिक पठाउन ताकेता गरेको भएपनि नेपालको आन्तरिक तयारीमा ढिलाई भएपछि केही समय पर सरेको थियो ।
नेपाल र इजरायल सरकारबीच गत वर्षको असोज १४ गते श्रम सम्झौता, माघ ८ गते प्रोटोकलमा हस्ताक्षर र यो वर्षको वैशाखमा निर्देशिका पास भएको थियो । सहायक कामदारको रुपमा इजरायलको अशक्त नागरिकको स्यारकेन्द्रमा काम गर्न जाने नेपालीले आवेदन माग भएको मंगलबारबाट २१ भित्र आवेदन दिइसक्न पर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । केही दिनपछि छनोट भएर इजरायल जाने नेपालीले मासिक १ लाख ९० हजार रुपैया भन्दा बढी पारिश्रमिक पाउने छन ।
२ देशको सम्झौता अनुसार दीर्घकालीन वा जटिल चिकित्सास्थिति भएका, शारीरिक वा मानसिक अपाङ्गता भएका इजरायली नागरिक स्यारसुसार गर्न हेरचाह केन्द्रमा नेपालीले रोजगारी पाउने गरी सम्झौता भएको थियो । इजरायल सरकारको तर्फबाट जनसंख्या तथा अध्यागमन निकाय (पिवा) र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागले श्रमिकको भर्ना, छनोट र अन्य काम गर्ने गरी रोजगारी खुलाइएको हो । सहायक कामदारका रुपमा केयरगिभरमा जाने नेपालीले शारीरिक वा मानसिक अपाङ्गता डिमेन्सिया (पागलपन) वा अल्जाइमर रोग भएका व्यक्तिहरुको सेवामा ५ वर्षसम्म काम गर्न पाउने उल्लेख छ । एक हजार मागमध्ये ३० प्रतिशत अर्थात तीन सय पुरुष र ७० प्रतिशत अर्थात सात सय महिला श्रमिकले रोजगारको आवसर पाउने छन् । साप्ताहिक रुपका तोकिएको काम गर्ने समय ४२ घण्टा भन्दा बढी अतिरिक्त काम गरेको सुविधा इजरायलको श्रम कानुन अनुसार पाइने छ ।

प्रतिक्रिया दिनुहोस्