भदौ पहिलो सातासम्म उखुको रकम भुक्तानी नपाए आन्दोलन «

भदौ पहिलो सातासम्म उखुको रकम भुक्तानी नपाए आन्दोलन


उखु किसानले आगामी ५ भदौसम्म उखुको बक्यौता रकम भुक्तानी गर्नका लागि अल्टिमेटम दिएका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका किसानले बिहीबार पत्रकार सम्मेलन गरेर ५ भदौसम्म रकम भुक्तानी गर्नका लागि समय तोकेका हुन् ।
तोकिएको समयभित्र चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने किसानहरूले घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरूले विगतमा भएको सहमति पालना नभएको भन्दै बाँकी रकम भुक्तानी गर्नका लागि अल्टिमेटम दिएका हुन् । उखु किसान संघर्ष समिति एवं उद्योग मन्त्रालयबीच १३ पुस २०७७ मा दोस्रो पटक पाँचबुँदे सहमति भएको थियो । सहमतिअनुसार २१ दिनभित्र उखु किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सहमतिअनुसार किसानको रकम चिनी मिलले भुक्तानी नगरेको भन्दै किसान फेरि काठमाडौँ आएका हुन् ।
उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले उखुको बाँकी रकम भुक्तानी गर्नका लागि चिनी मिललाई ५ भदौसम्मको समय दिएकाले त्यसभित्र भुक्तानी नगरे आन्दोलन गर्ने बताए । ९० करोड दाबी गरिएको रकममध्ये अझै ४० करोड रकम भुक्तानी हुन बाँकी रहेको उनले जानकारी दिए । “उद्योग मन्त्रालय उद्योगीहरूको जायजथा बिक्री गरेर भए पनि किसानलाई भुक्तानी गराउने जिम्मा लिएर पनि सम्पूर्ण भुक्तानी गराउन नसक्नु सरकार निकम्मा भई किसानहरूको भविष्यसँग खेलवाड गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अहिले आएर २०७८ असार १७ गते धनकौल सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योगको बिक्री भएको सूचना प्रकाशित भएको थियो । २१ दिनभित्र मिलमा शोभालाल साह भन्ने व्यक्तिसँग सम्पर्क गरी किसानले रकम दाबी गर्नुपर्ने भनिएको थियो, सो अवधिमा रकम दाबी गर्न नसके किसानले रकम पाउने छैन भनी उल्लेख गरिएको छ । तर त्यो व्यक्ति मोबाइल नम्बर सूचता प्रकाशित मितिदेखि एक हप्तासम्म बन्द रहेको संघर्ष समितिले जनाएको छ ।
उखु किसानहरूले दाबी गरेको ९० करोडमध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी कार्यदलको प्रतिवेदनमार्फत् छिनोफानो गर्ने भने पनि कार्यान्वयन नगरेको समितिको गुनासो छ । उखु किसानहरूसँग सम्बन्धित अन्य समस्याका बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि नगरिएको समितिले बताएको छ । चिनी मिलले उखु किसानलाई उखु खरिद गरेको रकम भुक्तानी नगरेको समस्या प्रत्येक वर्ष आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्