विमानस्थलको एक्सरे मेसिन बिग्रिँदा यात्रुलाई सास्ती «

विमानस्थलको एक्सरे मेसिन बिग्रिँदा यात्रुलाई सास्ती


विराटनगर विमानस्थलको एक्सरे मेसिन दुई हप्ताभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको छ ।
मेसिन नबनाउँदा यात्रुलाई भने समस्या भएको छ । यात्रुलाई मात्रै नभइ प्रहरी र विमानस्थलका कर्मचारीले समेत सास्ती बेहोर्नुपरेको छ । विमानस्थलको एक्सरे मेसिन बिग्रएको लामो समयसम्म पनि नबन्दा विमानस्थलको सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुहरूले ल्याएका ठूला ब्यागको चेक जाँच गर्न एक्सरे मेसिनको प्रयोग गरिँदै आएको थियो ।
यात्रुले ल्याएको ब्यागलाई मेसिनमा हालेपछि मेसिनले ब्यागभित्र प्रतिबन्धित वस्तुहरू भए नभएको स्क्यानिङ गरेर पत्ता लगाउने गर्दथ्यो । तर, विमानस्थलको एक्सरे मेसिन बिग्रिएपछि हाल यात्रुका झोला खोलेर सामानको चेकजाँच गर्नुपरेको विराटनगर विमानस्थलले जनाएको छ । विमानस्थलको होल्ड ब्याग एक्सरे मेसिन बिग्रिएपछि हातैले छामेर चेकजाँच गर्ने गरिएको विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले बताए ।
छामेर जाँच गर्दा सुरक्षा जाँचमा खटिएका सुरक्षकर्मी, यात्रुहरू र विमान कम्पनीका कर्मचारीहरूले समेत झमेला बेहोर्नुपरेको उनको भनाइ छ । “मेसिन बिग्रिँदा सुरक्षा जाँचमा निकै समस्या देखिएको छ,” उनले भने, “कोभिडको जोखिममा पनि ब्याग छामेर सुरक्षा जाँच गर्नुपर्ने बाध्यता छ ।”
२०७४ सालमा आएको बाढीले विमानस्थल डुबानमा पर्दा पहिलेको एक्सरे मेसिन काम नलाग्ने गरी बिग्रिएको थियो । मेसिन बिग्रिएपछि काठमाडौंमा भएको पुरानो मेसिन ल्याएर तत्कालका लागि काम चलाइएको थियो ।
तर, चार वर्ष बितिसक्दा पनि नागरिक उड्डयन प्राधिकरणले नयाँ मेसिन खरिद नगरेका कारण पुरानो मेसिन बिग्रिएको र नयाँ खरिद नभएकाले समस्या भएको छ । काठमाडौंमा बिग्रिएर बसेको पुरानो मेसिनलाई मर्मत गरेर विराटनगर ल्याउने तयारी भइरहेको विमानस्थल प्रमुख खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्