नेपाल–भारत संयुक्त जलस्रोत बैठक आजदेखि «

नेपाल–भारत संयुक्त जलस्रोत बैठक आजदेखि

नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समिति (जीसीडब्लूआर) आठौं बैठक आज (शुक्रबार)देखि सुरु हुँदैछ । दुई देशको जलस्रोत क्षेत्रका लागि महत्वपूर्ण मानिएको बैठक ६ वर्षपछि भारतमा सुरु हुन लागेको हो ।
यसअघि २०६९ साल माघ ११ र १२ मा सातौं बैठक बसेको थियो । बिहीबार दुई देशको प्राविधिक समितिको बैठकसमेत बसेको थियो । प्राविधिक समितिको बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले नेतृत्व गरेका थिए ।
सचिवस्तरीय जलस्रोत समितिको बैठकको नेतृत्व भने नेपालबाट मन्त्रालयका सचिव डा. संजय शर्मा र भारतको तर्फबाट जलसंशाधन मन्त्रालयका सचिवले गर्दैछन् । बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना विकास, कोसी र गण्डक आयोजना, सप्तकोसी उच्च बाँध तथा सुनकोसी कमला डाइभर्सन, नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने बाढी नियन्त्रणलगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ । सातौं बैठकमा सप्तकोसी उच्च बाँधसम्बन्धी अध्ययन गर्ने कार्यमा देखापर्दै आएको स्थानीय अवरोधको विषय मुख्यतयाः कोसी बाढीपीडितको क्षतिपूर्तिबारे कोसी–गण्डक आयोजना संयुक्त समितिमार्फत अघि बढाउने सहमति भए पनि हालसम्म समस्या समाधान भएको छैन ।

प्रतिक्रिया दिनुहोस्