चीनले अमेरिकी ट्रेजरीको खरिद रोक्ने

नाम नखुलाइएका चिनियाँ अधिकारीले अमेरिकी ट्रेजरीको खरिद रोक्ने वा कम गर्ने चेतावनी दिएका छ्न् । चीनको यस किसिमको कदमलाई ऋणपत्र बजारले संवेदनशील रूपमा लिएको छ । यो कदमलाई वासिङ्टनलाई चीनको सम्भावित राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
चीनको विदेशी मुद्राको स्वामित्वप्रतिको समीक्षाले अमेरिकी ट्रेजरीको खरिदलाई कम गर्ने वा रोक्ने भनी देखाएको ब्लुमबर्गले जनाएको छ । अन्य सम्पत्तिको तुलनामा अमेरिकी ट्रेजरी कम आकर्षक भएको अधिकारीको दाबी छ । अमेरिकी व्यापार तनावका कारण चीनको यस्तो कदम आएको हुन सक्ने पनि ब्लुमबर्गले जनाएको छ ।
यदि चीनले अमेरिकी ट्रेजरीको खरिदलाई यो वर्ष रोकेमा अमेरिकी ब्याजदर अपेक्षा गरिएभन्दा ठूलो अन्तरले बढ्न सक्ने अपेक्षा गरिएको छ । हाल अमेरिकाको १० वर्षे ऋणपत्रको ब्याजदर ३ प्रतिशतको हाराहारीमा छ ।
ट्रम्प प्रशासनले यसै महिनाको अन्त्यतिर स्टिल र आल्मुनियममा दुई प्रमुख व्यापार निर्णय लिन सक्ने अपेक्षा गरिएको छ । यो दुवैले चीनलाई असर पार्न सक्ने अपेक्षा गरिएको छ । नाफ्टाको विषयमा व्यापार संरक्षणवादको अभ्यासका बारेमा चिन्ता बढेको छ ।
चीनसँग विदेशी विनिमयको सञ्चिति ३.१ ट्रिलियन डलरको हाराहारीमा रहँदै आएको छ । अमेरिकी सरकारले अक्टुबरमा चीनले अमेरिकाको ट्रेजरीमा १.१८९ ट्रिलियनको स्वामित्व लिएको जनाएको थियो । यो होल्डिङ पाँच वर्षको औसत १.२२६ ट्रिलिन डलरको दाँजोमा कम हो ।