वैदेशिक रोजगारीमा ठगी

मुलुकमा सधैँको राजनीतिक अस्थिरताका कारण आन्तरिक रोजगारीमा निकै कमी आएको छ । नयाँ उद्योगधन्दा खुल्न सकेका छैनन् भने खुलेका उद्योगका लागि पनि आवश्यक कर्मचारी मजदुरको पूर्ति हुन सकेको छैन ।
यसरी मुलुकमा जनशक्तिअनुसारको रोजगारीको अवसर कम हुँदै गएपछि नेपाली युवा स्वाभाविक रूपमा वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन् । नेपालले खुला बजार अर्थतन्त्र अँगालेर जिल्ला सदरमुकामबाटै राहदानी वितरण गर्दै आएपछि सुरु भएको यो आकर्षण रोकिएको छैन र मुलुकको अवस्था हेर्दा अझै पनि रोकिने अवस्थासमेत छैन ।
वैदेशिक रोजगारीको हरियो पाटो केलाउने हो भने यसबाट प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र लामो समयदेखि सहज अवस्थामा छ भने नेपालीको घरमा चुलो सजिलै बल्न थालेको छ । यस्तै, चाडपर्व कसरी धानौं भन्ने समस्या छैन ।
तर, यसको अँध्यारो पाटो खोतल्ने हो भने स्थिति निकै भयावह छ । सामाजिक संरचना बिथोलिएको छ, उत्पादन घटेको छ, मुलुक परनिर्भर बन्दै गएको छ भने दिनहुँ ऊर्जाशील नेपालीका शरीर बाकसमा थुनिएर फर्किरहेको पीडादायी अवस्था विमानस्थलमा देख्न सकिन्छ ।
योभन्दा पनि महŒवपूर्ण पक्ष त झन् वैदेशिक रोजगारीमा जानका लागि दलाल वा म्यानपावरलाई रकम बुझाएर घर न घाटको अवस्थामा पुग्नुपर्ने विडम्बना पनि छ । यसरी, वैदेशिक रोजगारीका दुवै पक्ष जटिल भए पनि ठगीको क्रम कहिल्यै नियन्त्रण हुन नसक्नु दुःखद पक्ष हो ।
रोजगारीमा जान प्रतिबन्धित मुलुकहरूमा पठाउने समस्या त छँदै छ भने यससँगै अधिकांशलाई दलालले धेरै कमाइ हुन्छ भनेकै भरमा कुरा नबुझी विदेश जान्छन् । कतिपयलाई कुन देशमा जान कति रुपैयाँ लाग्छ ? विदेशमा गएर के काम गर्नुपर्ने हो ? जान कति रुपैयाँ लाग्छ ? कति रुपैयाँ कमाइ हुन्छ र खाने–बस्ने व्यवस्था कस्तो छ ? भन्नेसम्म पनि थाहा नभई वैदेशिक रोजगारीमा गएका हुन्छन् ।
त्यस्ता युवाहरूलाई गाउँका दलालदेखि म्यानपावर कम्पनीसम्मले ठग्नुका साथै विदेशमा गइसकेपछि पनि ठगिन्छन् । उनीहरू विदेशमा गइसकेपछि पनि समस्यामा पर्ने गरेका छन् । पछिल्लो समय सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको प्रावधानका कारण कतिपय मुलुकमा जाने कामदारले म्यानपावर कम्पनीलाई कुनै रकम तिर्नु पर्दैन ।
ती मुलुकमा रोजगारदाताले नै कामदार लैजाँदा लाग्ने रकम म्यानपावर कम्पनीलाई भुक्तानी गर्छ । यसैगरी कतिपय मुलुकमा जाने कामदारले न्यून रकम बुझाए पुग्छ तर नेपालका म्यानपावर कम्पनीहरूले खाडी मुलुक जाने कामदारका लागि अझै पनि डेढ लाखको हाराहारीमा रकम असुलिरहेका छन् ।
यसरी खुलेआम ठगी हुँदा पनि तथा ठगीको आरोप लागेकाहरू सार्वजनिक जीवनमै हुँदासमेत सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई ठग्नेमाथि कारबाही गर्न सकेको छैन । नेपालको कानुनले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेमाथि कडा कारबाही हुने व्यवस्था छ, तर अपवादबाहेक त्यस्ता ठगहरूका विरुद्ध उजुरी नै परेको छैन भने परेका उजुरीमाथि पनि कारबाही हुन सकेको पाइँदैन ।
यस्तोमा विभिन्न संघसंस्था तथा स्थानीय निकायहरूले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सचेत पार्ने, वैदेशिक रोजगारीमा गएकाहरूको रेकर्ड राख्ने र वैदेशिक रोजगारीका नाममा ठगिनेहरूलाई सहयोग गर्नुपर्छ । अर्कातर्फ कानुनको कार्यान्वयनमा पनि सबैले जोड दिनुपर्छ ।